काठमाडौं । खस समुदायका अगुवाले सो समुदायको छुट्टै परिचय स्थापित गर्नका लागि एकजुट हुन आग्रह गरेका छन् । उनीहरुले सरकारले राष्ट्रिय परिचय पत्रको फार्म खुला गरेकाले त्यसमा सबै खसबन्धुले धर्मको महलमा ‘मष्टो’ र जातिको महलमा ‘खस’ लेख्न नछुटाउन अनुरोध गरेका छन् । खस अगुवाले खस जातिको अलग पहिचान स्थापित गर्ने यो अभियानमा खस समुदाय स्वतःस्फूर्तरुपमा सहभागी हुनेछन् भन्ने विश्वास पनि लिएका छन् ।
केही खस समुदायका अगुवाले जनगणना २०६८ मा सरकारी कर्मचारी जनगणना गर्न घरघरमा आउँदा पनि खस समुदायका मानिसले धर्मको महलमा ‘मष्टो’ र जातिको महलमा ‘खस’ लेख्नु पर्ने धारण राख्दै आएका छन् । मानव जाति (खासगरी नेपालको खस समुदाय)को इतिहासको बारेमा लामो अध्ययन, अनुसन्धानमा रहेका चन्द्रप्रकाश बानियाँ र टेकबहादुर थापा लगायतका खस अगुवाले यस्तो अभियानमा लाग्न सबैलाई आग्रह गरेका हुन् । केही वर्ष अघिदेखि खस अगुवाले आफूहरु बिस्तारै हिन्दू धर्मबाट अलग हुने अभियान नै चलाएका छन् ।
हिन्दू र आर्यलाई एउटै कलस्टरमा राखेर हिन्दू धर्मको आधारमा बनाइएको राज्य यन्त्रले खसलाई पाखा पारेको उनीहरुको भनाइ रहेको छ । उनीहरुले खस समुदायले परम्परादेखि मान्दै आएको मष्टो संस्कृति नै खसको मौलिक धर्म भएको जिकिर गर्दै आएका छन् । केही समय अघि खस अगुवाहरुले विश्व मष्टो धर्म महासंघ नामको संगठन बनाएर संगठन विस्तारमा पनि क्रियाशील रहेका छन् ।
पश्चिम नेपालमा अवस्थित खस समुदायको नाममा खसान प्रदेश दिनुपर्ने र उनीहरुलाई पनि आदिवासीको सूचीमा राख्नु पर्ने माग राखेर खसान संघर्ष समितिले आन्दोलन पनि गरिरहेको छ । पहिलो संविधान सभामा पहिचानको आधारमा राज्यको पुनःसंचना हुने भनिए पनि दोस्रो संविधानसभाले त्यसलाई हटाएको खसान संघर्ष समितिका अध्यक्ष प्रेम खातीको भनाइरहेको छ । पहिचानका ४ आधार र सामथ्र्यका ५ आधारमध्ये खसान प्रदेश यी दुवैमा सबल रहेको खातीको भनाइ रहेको छ ।
खस अगुवाले हिन्दू धर्मका कारण विभिन्न अवस्थामा विभाजित नेपाली समाजमा अन्य धर्म र समुदायका मानिसमाथि थिचोमिचो भएकाले आफूहरुले आफ्नो परम्परागत मष्टो धर्मलाई पुनःथापित गर्ने बताउँदै आएका छन् ।
नेपालको कुल जनसंख्याको ३२ प्रतिशत जतिको संख्यामा रहेका खस-आर्यमध्मे १२ प्रतिशत जति खसलाई राज्यका अङ्गमा पाखा पारिएको उनीहरुको गुनासो रहेको छ । राज्यका हरेक निकायमा जनसङ्ख्याको आधारमा प्रतिनिधित्व हुनुपर्ने र त्यो अधिकार प्राप्तिका लागि आन्दोलन हुनुपर्ने धेरै खस अगुवाको मत रहेको छ ।