• मंसिर १७ २०८१, सोमबार

लुम्बिनी प्रदेशमा २५ पर्यटकीय स्थल छनौट

फाल्गुन ६ २०७७, बिहीबार

दाङ, ६ फागुन ।

पर्यटन प्रवद्र्धनको विकास गराउने उद्देश्यले सरकारले छनोट गरेका देशभरका दुई सय नयाँ पर्यटकीय गन्तव्यको सूचीमा दाङको एकसहित लुम्बिनी प्रदेशमा २५ ओटा स्थान छनोट भएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले छनोट गरेको सूचीमा लुम्बिनी प्रदेशका विभिन्न जिल्लाबाट २५ ओटा स्थानलाई पर्यटकीय गन्तव्यहरूको सूचीमा समावेश गरिएको छ । ती स्थानको प्रवद्र्धनका लागि मन्त्रालयले बजेट विनियोजन समेत गरेको छ ।

मन्त्रालयको छनोटमा परेका गन्तव्य योजनामा दाङको बबई गाउँपालिकामा रहेको पुरन्धारा झरनामा पार्क निर्माण हुने भएको छ । यसका लागि अनुमानित लागत रु ५ करोडमा मन्त्रालयले रु ३ करोड ५० लाख छुट्याएको छ । यस्तै लुम्बिनी प्रदेशको पर्यटकीय गन्तब्यको राम्रो सम्भावना रहेको बर्दियामा ४ ओटा स्थानलाई सूचीमा समावेश गरिएको छ । जस अनुसार, बढैयाताल गाउँपालिका ५ मा रहेको बढैयातालको पूर्वाधार विकास, गेरुवा गाउँपालिकाको शहीद स्मृतिपार्क, ठाकुरबाबाको बलाती जैविक मार्ग पार्क र राजापुरको कोठीयाघाट वनभोज स्थल रहेका छन् ।

बढैयातालको पूर्वाधार विकास निमार्णका लागि रु ५ करोड अनुमान गरिएकोमा मन्त्रालयबाट रु तीन करोड ५० लाख छुट्याइएको छ । शहीद स्मृतिपार्क निर्माणका लागि रु ५ करोड लाग्ने अनुमान गरिएको मन्त्रालयले रु तीन करोड ५० लाख छुट्याएको छ । यस्तै ठाकुरबाबाको बलाती जैविक पार्क निमार्णका लागि अनुमानित लागत रु सात करोड रहेकोमा मन्त्रालयले रु चार करोड ५५ लाख, राजापुरको कोठीयाघाट वनभोज स्थल निर्माणका लागि अनुमानित लागत रु छ करोड ८९ लाख रहेकोमा मन्त्रालयले रु चार करोड ४८ लाख छुट्याएको छ ।

यस्तै बाँकेमा ३ ओटा स्थानलाई सूचीमा समावेश गरिएको छ । नेपालगन्ज उपमहानगरपालिकामा मुस्लिम धर्मको कर्बला, हिन्दु धर्मको मिर्चुवा पुजनस्थल र क्रिकेट स्टेडियम जस्ता धार्मिक तथा पर्यटकीय क्षेत्रको संरक्षणका लागि माटो पटान र पर्खाल लगाउनका लागि अनुमाति लागत रु. ९ करोड ९९ लाखमा मन्त्रालयले रु. ६ करोड छुट्याएको छ । यस्तै डुडुवा गाउँपालिकाको राप्ती नदीमा शिवको प्रतिमा र उद्यान निर्माण गर्न रु ५ करोड अनुमानित लागतमा रु ३ करोड ५० लाख मन्त्रालयले छुट्याएको छ ।

त्यस्तै कोहोलपुर नगरपालिकाको ताल संरक्षण योजनाको लागि रु ६ करोड २ लाख अनुमानित बजेटमा मन्त्रालयले रु ३ करोड ८६ लाख छुट्याएको छ ।

यसैगरी रोल्पाको दुईखोली गाउँपालिकाको गोरीचौरदेखि छड्केधुरी फूलवारी हँदै थवाङ जोड्ने युद्ध तथा धार्मिक पर्यटनका लागि माउन्टेन वाइक ट्रेकिङ पद मार्गलाई रु १ करोड लागत अनुमानमा रु ७० लाख मन्त्रालयले छुट्याएको छ । यस्तै प्युठानको मल्लरानी गाउँपालिकाको पर्यटकीय विकासका लागि रु. ५ करोड अनुमानित लागतमा रु ३ करोड ५० लाख छुट्याइएको छ । प्युठानकै स्वर्गद्वारी नगरपालिकाको वडा नम्बर ८ मा शान्तिपार्क निर्माण गर्न रु ६ करोड ७६ लाख अनुमानित लागतमा मन्त्रालयले ४ करोड ४० लाख छुट्याएको छ । प्युठानकै मान्डवी गाउँपालिकाको ठूली लेकमा पर्यटक प्रवद्र्धन गर्न रु ३ करोड ४ लाख अनुमानित बजेटमा रु २ करोड १३ लाख मन्त्रालयले छुट्याएको छ ।

यस्तै गुल्मीको रेसुङ्गा नगरपालिकाको गर्जुरा रेसुङ्गा पर्यटन पार्क निर्माणका लागि रु ७ करोड अनुमानित लागतमा रु ४ करोड ५५ लाख मन्त्रालयले छुट्याएको छ । यस्तै गुल्मीकै धुर्कोट गाउँपालिकामा ऐतिहासिक धुर्कोट दरबार क्षेत्र पूर्वाधार विकास तथा बुढीकोट पर्यटकीय क्षेत्र पैदल निर्माण आयोजनाका लागि रु ४ करोड ९९ लाख अनुमानित लागतमा ३ करोड ५० लाख मन्त्रालयले छुट्याएको छ । गुम्मीकै मुसिकोट नगरपालिका थुम पिकनिक स्थल निर्माण गर्न रु ५ करोड अनुमानित लागतमा ३ करोड २५ लाख मन्त्रालयले छुट्याएको छ । अर्घाखाँचीको सन्धिखर्क नगरपालिकामा अर्घा भगवती मन्दिर र अर्घा दरवारका लागि ४ करोड ९८ लाख अनुमानित लागतमा ३ करोड २४ लाख मन्त्रालयले छुट्याएको छ ।

यस्तै रुपन्देहीको बुटवल महानगरपालिका १ मा बटौली युद्ध संग्रहालय निर्माण गर्न रु ९ करोड ९४ लाख अनुमानित लागतमा मन्त्रालयले रु ४ लाख ९७ हजार छुट्याएको छ । रुपन्देहीकै सैनामैना नगरपालिकामा बोलबम क्षेत्र विकास परियोजनाका लागि रु ६ करोड ९९ लाख अनुमानित लागतमा मन्त्रालयले रु ४ करोड ५५ लाख छुट्याएको छ । त्यस्तै रुपन्देहीको तिलोत्तमा नगरपालिकामा शंकरनगर वनविहार तथा अनुसन्धान केन्द्रमा पार्क निर्माण गर्न रु ७ करोड अनुमानित बजेटमा रु ४ करोड ५५ लाख मन्त्रालयले छुट्याएको छ । रुपेन्देहीकै लुम्बिनी सांस्कृतीक नगरपालिकामा लक्ष्मीनारायण हनुमान मन्दिर निर्माणकालागि रु ५ करोड ४८ लाख अनुमानित लागतमा मन्त्रालयले ३ करोड ५६ लाख छुट्याएको छ ।

त्यसैगरी कपिलवस्तुको कृष्णनगर नगरपालिकामा नईमिया मस्जिददेखि राधाकृष्ण मन्दिर र लक्ष्मीनारायण मन्दिर हुँदै शिव मन्दिरसम्म सडक निर्माणमा रु ४ करोड ७० लाख अनुमानित लागतमा २ करोड ६५ लाख छुट्याइएको छ । कपिलवस्तुकै बुद्धभूमि नगरपालिकामा बुड्ढी ताल संरक्षण तथा थारु संग्रहालय निर्माणका लागि अनुमाति रु ४ करोड ५० लाखमा मन्त्रालयले २ करोड ९२ लाख ५० हजार छुट्याएको छ । पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकामा कन्चनगढी पर्यटकीय क्षेत्रको विभिन्न संरचना निर्माण गर्न रु ४ करोड ५६ लाख अनुमानित लागतमा मन्त्रलयले २ करोड ९७ लाख बजेट छुट्याएको छ ।

पाल्पाको रम्भा गाउँपालिकामा आदिवासी जनजाति सांस्कृतिक संग्रहालय निर्माणका लागि रु. १ करोड अनुमानित लागतमा ५ लाख ९७ लाख छुट्याएको छ । लुम्बिनी प्रदेशमा रहेका १२ जिल्लामध्ये रुकुम पूर्वमा मात्र पर्यटन प्रवद्र्धनको विकास गर्नका लागि यस वर्ष कुनै पनि ठाउँ छनोटमा परेको छैन । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पर्यटन विकास साझेदारी कार्यक्रम सञ्चालन गरेर पर्यटन क्षेत्रको विकासका लागि काम गर्ने भएको छ । सम्बन्धित पालिका सँगको साझेदारीमा यो कार्यक्रम सञ्चालन हुने मन्त्रालयले जनाएको छ । यसकालागि प्रक्रिया अघि बढिसकेको छ ।

 

दाङको पुरन्धारा झरना पश्चिम दाङको पर्यटकीय क्षेत्रमध्ये एक हो । यो बबई गाउँपालिका वडा नम्बर ५ मा पर्छ । तुलसीपुर बजारदेखि करीब ३० किलोमिटर पश्चिम हापुरे बजार र हापुरेदेखि करिब ६ किलोमिटर पश्चिम दक्षिणमा यो झरना रहेको छ । करिब दुई सय ५० मिटर अग्लो पुरन्धारा झरना मा पछिल्लो सयम आन्तरिक पर्यटक पुग्ने क्रम बढेको छ । वरपर जंगलसँगै नजिकै बबई नदीले पनि झरनालाई थप आकर्षक बनाएको छ । झरनाबाट झरेको पानीको फोहोराले पर्यटकको मन लोभ्याउने गरेको छ । खोल्साको पानी करिव ५० मिटर माथिबाट भुइँमा पछारिँदा सेतो दूध जÞस्तो देखिन्छ, भने टाढाबाट हेर्दा झरना झन आकर्षक र मनोरम लाग्छ । नजिक पुग्नेहरू झरनाको छङछङ पानीमा घन्टौँसम्म रूझ्न र झुम्न रुचाउँछन् । झरनामा पुग्न अहिले बबई गाँउपालिकाले सडक निर्माण गरिसकेको छ ।