• आश्विन ५ २०८१, शनिबार

मंगल ग्रहमा एकैसाथ पुग्दै चीन, युएई र अमेरिका

फाल्गुन २ २०७७, आईतवार

मंगल ग्रहलाई रातो ग्रह भनेर चिनिन्छ । सौर्य परिवारमा रहेका ९ वटा ग्रहमध्ये यो एक ठूलो ग्रह पनि हो । पृथ्वीबाट दुरदर्शक यन्त्रले हेर्दा यसको रङ रातो देखिने भएकाले यसलाई ‘रातो ग्रह’ भनिएको हो । यो रातो ग्रहको भौगोलिक बनोट तथा यसका ढाँचाकाँचा हामी बसिरहेको पृथ्वीसँग धेरै कुरामा मिल्दोजुल्दो भएकाले पनि कतै यसमा जीव तथा वनस्पतीको उपस्थिति त छैन भनेर निकै मेहनतका साथ खोजी कार्य जारी छ ।

असफलताबीच निरन्तर खोजी:

सन् १९६० देखि मंगलग्रहमा जीवजन्तु, वनस्पती तथा पानी र अक्सिजन कतै पाइन्छ कि भनी खोजी भैरहेको छ । त्यति बेलाको समयमा अमेरिकाले म्यारिनर-४, म्यारिनर-९ पठाएको थियो भने सोभियत संघले मार्स-३ र मार्स-९६ पठाएको थियो । तर यी सबै अभियान असफल भएका थिए । त्यसपछिको निरन्तर अभियानमा ‘मार्सपाथ फाइन्डर’ र ‘मार्स ग्लोबल सर्भेयर’ जोडिन आए । आशा हराएन र प्रयास रोकिएन । त्यसपछि ‘मार्स क्लाइमेट ओर्बिटर’ र ‘मार्स पोलार ल्याण्डर’ फेरि उदाए । यी दुबैले पहिलेका अन्तरीक्ष यानभन्दा बढी सूचना दिन सफल भए । पृथ्वीबाट केही टाढाको दुरी र मंगलग्रहको केही नजिकको दुरीसम्म पुग्न त सफल भए । तर पनि मंगलको कक्षमा पुग्ने सपना अझैं पनि बाँकी रह्यो । सन् २००१ मा ‘मार्स ओडिसी’ सफलतापूर्वक मंगल ग्रहको कक्षमा अवतरण भयो । यससँगै अमेरिकी वैज्ञानिक संस्था नासाले जुम्ल्याहा मार्स ‘एक्सप्लोरेशन रोभर्स’ मंगल ग्रहको कक्षमा पठायो । ‘अपर्चुनिटी’ र ‘स्पिरिट’ नाम गरेका यी दुई अन्तरीक्ष यान मंगलग्रहको कक्षमा सजिलै पुगे ।

मार्स साइन्स ल्याबोरेटरी रोभर मंगल ग्रहको सतहमा अवतरण:

यो उत्साहले युरोपियन युनियनलाई पनि यान पठाउन मद्दत पुर्यायो । युनियनले युरोपियन ‘मार्स एक्सप्रेस’ पठाए पनि यो सम्पर्कविहीन हुन पुग्यो । त्यसपछि सन् १९१२ मा ‘मार्स साइन्स ल्याबोरेटरी रोभर’ सफलतापूर्वक मंगल ग्रहको सतहमा उत्रियो । यसले धेरै सूचना दिएर पृथ्वीवासीलाई धन्य बनाएको छ । हाल यसको थप खोज तथा अनुसन्धानका लागि चीन, युएई तथा अमेरिकाले लगातार एकपछि अर्को गरी आफ्ना खोजीयान मंगल ग्रहमा पठाउने प्रतिस्पर्धामा छन् । संयुक्त अरब एमिरेट्स र चीनले आफ्ना अन्तरीक्ष यान पठाइसकेका छन् । अमेरिका यान पठाउने तयारीमा छ । यिनको अध्ययन भनेको मंगल ग्रहको सतहको भूबनोट, वायुमण्डल अध्ययन तथा सूक्ष्म जीव तथा वनस्पतिको अस्तित्वका सम्भावनाको खोजीमा केन्द्रित हुने छ । चीनको तिआन्वेन-१ यान मङ्गल ग्रहको कक्षमा प्रवेश गरिसकेको छ । अबका दिनमा मंगल ग्रह र पृथ्वीबीचको दूरी निकै कम भएको महसुस भैरहेको छ ।

सेभन मिनट्स अफ टेरर:

यो समय निकै संवेदनशील मानिन्छ । सेभन मिनट्स अफ टेरर भनेको मंगल ग्रहको माथिल्लो वायुमण्डलबाट सतहमा यान अवतरण गर्दा लाग्ने समय हो । यति बेलाको समय सफलता चुम्बन वा ध्वंशको समय हो । मंगल ग्रहको सतहमा अवतरणका लागि पठाइएका यान ठीक यसै समयमा ध्वस्त भएका छन् । यसको कारण हो पृथ्वीको गुरुत्व बल र मंगल ग्रहको गुरुत्व बलमा फरक हुनु । पृथ्वीबाट मंगल ग्रहमा पुग्नका लागि करिब ५० करोड किलोमिटर यात्रा तय गर्नुपर्दछ । हाल पठाइएका यानका लागि यो अनुमानित दुरी पहिल्यै तय गरिसकिएको हुन्छ । यो भन्दा पहिले संयुक्त राज्य अमेरिका, भारत, पूर्वसोभियत संघ र युरोपेली अन्तरीक्ष संस्थाले सफलतापूर्वक मङ्गल ग्रहमा यान पठाइसकेका छन् ।

अध्ययन र खोजीमा केही नयाँपनः

पछिल्लो समयमा मंगल ग्रहमा जीव, वनस्पती वा पानी र अक्सिजनको खोजीभन्दा पनि उक्त ग्रहमा जीव कसरी मासिए, पानी कसरी सुक्यो, अक्सिजन कसरी हरायो आदि बारेमा खोजीगर्ने लक्ष्य रहेको देखिन्छ । यसले पृथ्वीको विकल्पमा मानिसको बस्तीका लागि अन्य ग्रह तथा उपग्रहहरुलाई तयार पार्न मद्दत पुर्याउने छ ।

मंगल सतहमा चिनियाँ यान अवतरणको तीन महिने तयारीः

मंगल ग्रहको कक्षमा पुगिसकेको चिनियाँ यान यसको वरिपरि तीन महिनासम्म घुमिरहने छ । त्यसपछि यसको अवतरणका लागि व्यवहारिक प्रयासको थालनी गरिने छ । यो तीन महिनासम्म वैज्ञानिक तथा इन्जिनियरले मंगल ग्रहको वायुमण्डलीय अवस्थाको लेखाजोखा गरी अवतरणलाई सुनिस्चित गरिसक्ने छन् । हाल मंगल ग्रहको परिक्रमा गर्दा चिनियाँ यानले लगाइरहेको २०,००० किलोमिटर प्रतिघण्टाको गतिलाई घटाएर सामान्य रुपमा पाइला चालेर हिँड्दाको गतिमा ल्याउनु पर्ने छ । यो नै चीनका लागि अबको फलामको च्युरासरह साबित हुने छ । तर चीनको पूर्वनिर्धारित कार्यक्रमअनुसार २४० किलोग्राम तौल भएको रोभरलाई एउटा परिकल्पना गरिएको यूटोपियन बेसिनको समथर भूभागमा मे महिनाभित्र अवतरण गराइसकिने छ ।

चिनियाँ रोभरबाट अपेक्षाः

मंगल सतहमुनिको भौगर्भिक अध्ययनमा लाग्ने चिनियाँ रोभरमा अग्ला र लामा स्टिक प्रयोगमा आउन सक्ने गरी तिनमा क्यामरा जडान गरिएकाले यसले नयाँ-नयाँ तस्विर लिने र अनुसन्धानमा नयाँपन दिनसक्ने अनुमान गरिएको छ । यन्त्रमा डिजाइन गरिएका पाँचवटा उपकरणले सतहमुनि खन्दा ढुङ्गामा खनिज पदार्थको परीक्षण र हिउँ भएनभएको खोजी गर्ने छन् । हाल एउटा फोटो पठाइसकेको उक्त रोभरले कम्तिमा ९० दिन काम गर्न सक्ने चिनियाँ वैज्ञानिकले अपेक्षा गरेका छन् । यसअघि सन् २०११ मा रुससँग मिलेर मंगल ग्रहमा पठाइएको यान प्रक्षेपण गर्ने क्रममा विफल भएको थियो ।

युएई मिसन होपः

युएई मंगल मिसनमा पनि चीनको झै मंगल ग्रह किन जीव र वनस्पति बिहीन हुन पुग्यो, खोजी यसैमा छ । यसले पनि आफ्नो मिसनमा स्पष्ट उल्लेख गरेको छ कि यसले मंगल ग्रहमा रहेको वायुमण्डलको नयाँ तस्वीरहरु पठाउने छ । यसको सतहको अध्ययन गर्ने छ ।

अमेरिकी पर्सभीअरन्स रोभरः

अबका केही दिनमा प्रक्षेपण गरिंदै गरेको अमेरिकी पर्सभिअरन्स रोभरले मंगल ग्रहमा पुगी प्राचीन सूक्ष्मजीवको अस्तित्वका प्रमाण खोज्ने अपेक्षा गरिएको छ । यसले पनि चिनियाको झैं चट्टानका नमुना सङ्कलन गर्ने कार्यक्रम छ ।

समान लक्ष्यका लागि प्रतिस्पर्धी मिसनः

मंगल ग्रह अध्ययन र अनुसन्धानको समान मिसनमा एकै पटक चीन, युएई र अमेरिका एकैसाथ खोजमा उत्रिएका छन् । यी तिनवटैको प्राथमिकता मंगल ग्रहमा वायु मण्डलको अध्ययन, मंगल भूसतहको अध्ययन र किन जीव तथा वनस्पती लोप भए भन्ने बारेमा अध्ययन नै रहेको छ ।