• मंसिर ११ २०८१, मंगलवार

मर्मस्पर्शी गीतको मार्मिक भिडियो: ‘चरी सबै उडी गए’

फाल्गुन २ २०७७, आईतवार

गोविन्द गुरुङको ‘चरी सबै उडी गए’ गीतको भिडियो सार्वजनिक भएको छ । नेपाली जनजीवनको अनिवार्य जस्तै बनेको एउटा प्रतिबिम्ब (विडम्बना) विदेश गएर युवा युवतीहरुले दुःख पाएको कथालाई उनेर बनाइएको ‘चरी सबै उडी गए’ गीतका शब्द मुकेस राईले सिर्जना गरेका हुन् । राईका शब्दलाई चर्चित संगीतकार बि.बि.अनुरागीले संगीतवद्ध गरेका हुनभने संगीतको संयोजन समेत अनुरागीले नै गरेका छन् । गोविन्द गुरुङको समधुर स्वरमा सजिएको सो गीतको माओत्से गुरुङले भिडियो निर्देशन गरेका छन् ।

कलाकारहरुको अभिनय र आवश्यक अन्य दृश्यलाई खिमबहादुर गुरुङले क्यामरामा कैद गरेर उनी आफैले भिडियो सम्पादन गरेका छन् । जीवन गुजाराको लागि विदेशिनु पर्ने नेपाली विवशतालाई गीतले उठान गरेको छ भने संगीतले त्यसलाई अझ मर्मस्पर्शी बनाएको छ । गीतको भिडियोमा देखाइएअनुसार माछापुच्छ्रे हिमालको काखमा रहेको एउटा गरिब गाउँलेको घरबाट छोरो र छोरी पालैपालो विदेश जान्छन् । आमाबुवा घरमा एक्लैहुँदाको विवशतालाई कल्पेर गीत बज्छ ।

‘चरी सबै उडी गए गुँड भयो रित्तो, आमा बाबु आँशु झार्छन् हेरी शुन्य भित्तो’ ‘भाग्य खोज्दै सन्तानले काटे सात सागर, घर रित्तो आँगन रित्तो, रित्तो गाउँशहर’ ।

गीतका शब्दहरुले नै काफी कुरा बोलिरहेका छन् । झन् त्यसैमा संगीतको धुन र लय मिसिदा गीतको भिडियो नभएर मानिसको यथार्थ जीवन हेरेजस्तो भान हुन्छ । विदेश पुगेकी आमाबाबुकी छोरीलाई काम दिने घर मालिकले जवरजस्ती गर्न खोज्दा छोरीले प्रतिकार गर्छिन् । छोरीको प्रतिकारमा मुस्लिम घर मालिकको मृत्यु भएको भनेर समाचार आउछ । ‘घर मालिकको हत्याको अभियोगमा नेपालकी प्रियालाई मृत्युदण्डको सजाय’ भन्ने समाचारको शिर्षक पत्रिकामा देखेर उनका बुवा बेहोस हुन्छन् । बेहोस हुँदै उनी पक्षघातले समेत थला पर्छन् । ‘फूल सबै झरिगए डाली भयो रित्तो, आमाबाबु आँशु झार्छन् हेरी शुन्य भित्तो’, भन्दै गीत बजिरहन्छ । यता आमाले छोरा छोरीलाई बाल्यकालमा हुर्काएको सम्झना गर्छिन् । उनीहरुको रमाइलो बाल्यकाल सम्झिँदै आमा वैराग व्यक्त गर्छिन् ।

‘छोराछोरी विपत्तिमा छन् कि मुस्किलैमा, झस्किएर ब्यूँझी आमा रुन्छिन् जस्केलैमा’ गीत बजिरहन्छ । आमाबाबुको समय यस्तै वैरागमा बितिरहँदा ‘नेपालकी प्रियालाई बचाउन ब्लडमनि संकलन मृत्युदण्ड सजाए फिर्ता हुनसक्ने’ भनी आएको अर्को समाचारले अलिकति परिवारमा खुसियाली छाउन खोज्छ । सो कुरा पक्षघातले थलिएका प्रियाका बुवालाई आमाले कानैमा गएर सुनाउछिन् । बुवा पनि खुशिहुँदै छोरीको चञ्चले बाल्यकाल सम्झन्छन् । सो म्यूजिक भिडियोले धेरैजनाको ध्यान खिचेको छ । भिडियो हेरेर प्रतिक्रियादिँदै दिपक थापा सुमधुर लेख्छन् ‘कुनै शब्द पाइन के लेखु हामी नेपालीको वास्तविक यथार्थ झल्किएको छ।’

हाइलाइट्स नेपालको युटुब च्यानलमा सो गीतको भिडियोलाई सबैले नेपाली समाजको यथार्थको रुपमा लिएको देखिन्छ । हेर्नेहरुमध्ये विरूप घलेको टिप्पणी यस्तो छ,‘समसामयिक नेपाली समाजको घट्नालाई गीतका शब्दहरूमा उनेर भिज्युअल मार्फत् सरल रूपमा प्रस्तुत गरिएको छ । सबैको मेहनतको परिणाम राम्रोे लाग्यो, बधाई अनि शुभकामना सबै टिमलाई ।’

यस भिडियोमा कलाकारहरु माओत्से गुरुङ, प्रतीक्षा गुरुङ, विस्वात्मा गुरुङ, निशा गुरुङ, डिबी गुरुङ, सूर्य सुनुवार, एसिया गुरुङ र कुलदेवी गुरुङ साथै बाल कलाकारद्वय मार्मिक गुरुङ र जोसन गुरुङहरुको जीवन्त अभिनय रहेको छ ।

हेरौं भिडियो