काठमाडौ। सावित्रा भण्डारीले ह्याट्रिक सहित ५ गोल गरेपछि साविक विजेता एपीएफ क्लबले राष्ट्रिय महिला लिग फुटबलमा आफ्नो अपराजित यात्रालाई शनिबार पनि कायम राखेको छ । ललितपुर स्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयको मैदानमा सम्पन्न दिनको पहिलो खेलमा एपिएफले वालिङ नगरापलिाकालाई ६–० ले हराउँदा सावित्राले ५ गोल गर्दा प्रिति राईले एक गोल गरिन् ।
अपराजित टोली एपिएफले मोफसल मध्येको बलियो टिम वालिङविरुद्ध सातौं मिनेटमा सावित्राको गोलबाट अग्रता बनाएको थियो । खेलको १६ औं मिनेटमा सावित्राले व्यक्तिगत दोस्रो गोल गर्दा २० औं मिनेटमा सावित्राले ह्याट्रिक पुरा गरेकी थिइन् । उनको ह्याट्रिक पछि एपिएफका इन्जुरी समयमा प्रितीले गोल गरेपछि पहिलो हाफमा एपीएफ ४–० ले अघि रहेको थियो । दोस्रो हाफमा एपीएफले थप दुई गोल थपेको थियो । खेलको ६४ औं मिनेटमा सावित्राले व्यक्तिगत चौंथो थपेपछि इन्जुरी समयमा पाँचौ गोल गर्दै एपीएफलाई ६–० को सहज जित दिलाउन सफल भएकी थिइन् ।
स्पष्ट जित निकालेको एपिएफले यसँ सँगै जारी लिगमा लगातार नवौं जित निकालेको छ । लिग अन्तर्गत पहिलो लेगको खेलमा एपीएफले वालिङलाई ३–० ले हराएको थियो । जितसँगै एपीएफले तालिकामा ९ खेलमा २७ अंक जोडेको छ । एपिएफ शीर्ष स्थानमा छ । वालिङ ९ खेलमा १४ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।
लिग अन्तर्गत शनिबारै सम्पन्न दिनको दोस्रो खेलमा तालिकामा अंकको खोजीमा रहेको चौदण्डीगढी विराटनगर महानगरपालिकासँग पराजित भएको छ । सुरुआती अग्रता लिएको चौदण्डीगढीले कायम राख्न नसक्दा विराटनगरले दोस्रो हाफमा जित निकालेको हो । चौदण्डीकी मनिता तामाङले आठौं मिनेटमा गोल गर्दै चौदण्डीलाई अग्रता दिलाएकी थिइन । तर, खेलको १५ औं मिनेटमा पार्वती घलेले गोल गर्दै विराटनगरलाई १–१ गोलको बराबरीमा ल्याउँदा ८६ औं मिनेटमा पार्वतीले व्यक्तिगत दोस्रो गोल विराटनगरको जित सुनिश्चित गरेकी थिइन् ।