काठमाडौं । राष्ट्रिय महिला लिग फुटबल प्रतियोगितामा स्याङ्जाको वालिङ नगरपालिका र त्रिभुवन आर्मी क्लब विजयी भएका छन् ।
एन्फा कम्प्लेक्स सातदोबाटोमा बिहीवार भएको पहिलो खेलमा वालिङले उदयपुरको चौदण्डीगढी नगरपालिकालाई सात–एक गोलले हरायो । वालिङको लागि विदेशी खेलाडी मेथो रुथले पाँच गोल गरिन् । यस्तै टौटा ओरनेला नोइलीले दुई गोल गरिन् । चौदण्डीगढीकी अञ्जना थुलुङले एक गोल फर्काइन् ।
यो जितसँगै वालिङ १८ अङ्कका साथ तेस्रो स्थानमा पुगेको छ । चौदण्डीगढीले अहिलेसम्म नौ खेलमा एक अङ्क पनि जोड्न सकेको छैन ।
बिहीवारको आजको दोस्रो खेलमा त्रिभुवन आर्मी क्लबले विराटनगर महानगरपालिकालाई सात–शून्य गोलले हराएको छ । आर्मीका लागि शर्मिला थापा र विमला विकले दुई/दुई तथा सपना लामा, विमला चौधरी र रश्मी घिसिङले एक/एक गोल गरे । यो जितसँगै आर्मीको २२ अङ्क भएको छ । विराटनगर भने १० अङ्कका साथ पाँचौँ स्थानमा छ ।