• मंसिर ११ २०८१, मंगलवार

आजको पुँजीवादले डाटा बेचेर नाफा कमाइरहेको छः सुरेन्द्र पाण्डे, पूर्वअर्थमन्त्री

माघ २९ २०७७, बिहीबार

संसद विघटन भएसँगै सत्तामा रहेका पार्टीहरु नै सडक आन्दोलनमा रहेका छन् । अर्कोतिर यो व्यवस्थाले निकास दिँदैन भन्दै यो सत्ताकै विकल्प दिने योजना सहित संघर्षमा रहेका पार्टीहरु पनि कुनै न रुपमा संगठित भइरहेका छन् । यस्तो अवस्थामा देशलाई कसरी निकास दिन सकिन्छ र आर्थिक, साँस्कृतिक लगायतका क्षेत्रमा के-केस्ता सुधारमा कामहरु गर्न सकिन्छ र अहिलेको संकटको निकास के हुनसक्छ भनेर सरकारमा रहेको र संसद विघटन भएपछि सडक आन्दोलनमा रहेको नेकपा दाहाल-नेपाल समूहका नेता तथा पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेसित यसैविषयमा गोलमिडिया खबरका संवाददाताले कुरा गरेका छन् । प्रस्तुत छ, सोही कुराकानीको सारसंक्षेपः सम्पादक

नेपालमा अपनाउन सकिने समाजवादी स्वरुप कस्तो होला ?

घर नहुनेले घर, जग्गा नहुनेले जग्गा, बिरामीलाई स्वास्थ्योपचार, निशुल्क शिक्षा आदि दिइएमा राज्यसत्ताको सम्पूर्ण वर्गीय संरचना नै बदलिन्छ । युरोपमा सबैभन्दा ठूलो बदलाव ल्याएको नै शिक्षाले हो । त्यहाँ शिक्षित युवाहरुले आफै मेहनत गरेर आफूलाई अगाडि बढाएका छन् । डाक्टर, इन्जिनियर तथा प्रोफेसरलाई घरजग्गा केही पनि दिनु पर्दैन । उनीहरु आफैले बनाउँछन् । अशक्त नागरिकको व्यवस्थापन गरौं, उद्योगधन्दा र कलकारखानाको विकास गरौं । यसले देशमा रुपान्तरण ल्याउँछ । देशको ७२ प्रतिशत जमिन राज्यका हातमा छ । मात्र २८ प्रतिशत जमिन जनताको हातमा छ । खोलानाला, वन जंगल, व्यारेक, विश्वविद्यालय, प्रहरी थाना, सरकारी अफिस, विद्यालय, सडक सबै सरकारको मातहतमा छन् ।

समाजवादमा जान नेपालको चुनौती के हो ?

नेपालमा चुनौती भनेको अहिले निजीमा रहेको २८ प्रतिशत जमिनको व्यवस्थापन हो । अहिलेको संविधानले यसको व्यवस्थापनको मोडल खडा गरेको छ । यसको उचित व्यवस्थापन नै हामी सबैको कर्तव्य हो । यसलाई अघि बढाएर गयौं भने हाम्रो भविष्य यसैमा छ । हामी चीनमा गयौं भने चीन पुँजीवादी देशजस्तो लाग्छ । तर चीनले आफूलाई समाजवादी भनिरहेको छ तर आर्थिक तथा जनजीवनका हिसाबले त्यहाँ पुँजीवादको विकास भैरहेको छ । हामी नर्डिक देशहरुमा गयौं भने त्यहाँ समाजवाद प्रयोगमा ल्याइएको जस्तो देखिन्छ । डेनमार्क, नर्वे र स्वेडनमा पुग्दा ती बढि समाजवादी जस्ता लाग्छन् । अमेरिकामै पनि समाजवाद बढि लागु भैरहेको देखिन्छ । त्यहाँ १२ कक्षासम्म अध्ययन निःशुल्क छ र सेवासुविधा सबैभन्दा बढि दिइएको छ ।

समाज वर्गीय हुन्छ, नेपाली राजनीतिमा वर्गबीच हुने संघर्षको अभिव्यक्ति कहाँ भैरहेको छ ?

पार्टीको आन्दोलन र सत्ता सञ्चालन दुबै वर्ग संघर्षकै प्रक्रिया हुन् । सतहमा हेर्दा त स्वार्थ टकराएको झैं देखिन्छ । तर अन्तर्यमा यो सबै वर्गसंघर्षको अभिव्यक्ति नै हो । कहिलेकाँहि व्यक्तिगत स्वार्थको व्यवस्थापन हुन नसक्दा यस्ता घटना देखिन सक्छन् । तर सधैभरि ती व्यक्तिगत स्वार्थ मात्र रहिरहन सक्दैनन् । बेलाबेलामा हाल नेपालका घटेका जस्ता दुर्घटना घट्न पुग्नु पनि कतै न कतै वर्ग स्वार्थकै कारण हो । नेपाल मात्र होइन, अरु देशमा पनि यस्ता घटना हुन पुग्छन् ।

त्यसो भए व्यक्ति खराब कि व्यवस्था ?

नेपालमा अहिले यस्ता खराबी व्यक्तिले गर्दा मात्र नभएर व्यवस्था खराब हुनुका कारणले पनि हुन्छ भन्ने बहस चलेको छ । यसमा कुरा दुवै हो । व्यवस्था खराब मानिने कारणले पनि भिन्न व्यवस्था प्रचलनमा आएका छन् । विश्वमा हालसम्म मूलतः दुई भिन्न व्यवस्था प्रचलनमा देखिएका छन्: एउटा हो, पुँजीवादी व्यवस्था र अर्को हो, समाजवादी व्यवस्था । यिनै दुई व्यवस्थाभित्र सत्ता सञ्चालनका विविध रुपहरु छन् । तर पनि अन्ततः हुने भनेको पुँजीवादी कि समाजवादी भन्ने नै हो । यिनमा विचार र व्यवस्था सञ्चालनका कुराहरुले भिन्नता ल्याउँछन् । एउटै खालको व्यवस्थामा पनि देश विशेष भिन्नता देखिन्छ । रुसमा देखिएको समाजवाद चीनमा आउँदा फरक छ । भियतनाम र अन्य देशमा जाँदा यसको स्वरुप र प्रक्रियामा कतै न कतै भिन्नता देखिन्छ । पुँजीवादी व्यवस्था पनि बेलायतमा एउटा र अमेरिकामा अर्को स्वरुपमा रहेको छ ।

विकल्प छ कि छैन नेपालमा प्रणाली परिवर्तनको ?

विश्वमा देखिएका विकल्प पुँजीवादी र समाजवादी नै हुन् । यो भन्दा नयाँ विकल्प हामीले आकाशबाट ल्याउने होइन । नेपालमा मात्र नयाँ विकल्प ल्याउन सकिने अवस्था देखिदैन । हामीले दुनियाँमा कही नभएको कुरा नेपालबाट झिक्ने कोसिस नगरौं । संसारको कुनै पनि खानीबाट ननिकालिएको कुरा नेपालको खानीबाट निकाल्छु भनेर संभव नै छैन । अन्तर्राष्ट्रिय मानव जातिको गीत गाउनेले नेपालबाट अलग्गै व्यवस्थाको सिर्जना गर्छु भनेर हुन्छ ? विश्व मानवजाति होमोस्यापिन्सको जाति हो । कतै काला, कतै सेता र कतै गहुँगोरा देखिएको मात्र हो ।

पुँजीवादले अनुकूलनको विधिमा सफलता हासिल गर्दै गएको हो ?

प्रजातन्त्र र पुँजीवादको कुरा बहसमै छ । अमेरिका र बेलायतका लागि भोट हाल्ने स्वतन्त्रता नै प्रजातन्त्र हो । यसमा केही कुरा थपेर युरोपीय देशहरुले समृद्ध बनाएका छन् । उनीहरुका अनुसार बेलायत र अमेरिकामा प्रयोग गरिएको पुँजीवादमा नर्डिक देशहरुमा जनताको जनजीविका थपेर यसलाई समृद्ध बनाइएको छ । त्यहाँ जनताको जनजीविका सहितको प्रजातन्त्र हुन गएको छ । पुँजीवादले पछिल्लो समयमा राज्यमा समाजवादी स्वरुपहरु थप गरेको छ । अहिले कतै पनि विशुद्ध पुँजीवाद वा विशुद्ध समाजवाद पाइँदैन । सबै ठाउँमा मिश्रित र अन्तरघुलित खालको छ । नेपाली राज्य व्यस्थाको स्वरुप पनि योभन्दा फरक देखिने अवस्थामा छैन ।

त्यसो भए नेपालमा मिश्रित प्रणाली हुन नसकेर आएको हो त यो सामस्या ?

होइन, व्यवस्था आफैमा ठीक छ । नेपालको व्यवस्था पनि बेठीक छैन । कहिलेकाही शासकको व्यक्तिगत महत्वाकांक्षाले यस्ता समस्या निम्त्याउने गर्दछन् । व्यक्तिहरुमा रहेको व्यक्तिवादी चरित्र, उच्च महत्वाकांक्षा आदिका कारण पनि यसो हुन्छ । विश्वमा प्रायः धारणा के छ भने कम्युनिस्टले आफ्ना विरोधीलाई दमन गर्दछन् । त्यसको तुलनामा प्रजातन्त्रवादीले कम दमन गर्दछन् । तर इतिहास पुँजीवादीको निकै दमनात्मक र हिंसात्मक छ । यी दुवै सत्तामा धेरथोर अभिव्यक्त भएकै छन् । एउटाका खराब कुरा अर्काले लिएका र अर्काको राम्रा कुरा आफूले पनि शेयर गरेका छन् । तर नेपालमा अहिले पुँजीवाद कि समाजवाद भन्ने बहस सुरु भएको छैन ।

यत्तिका संकटको कुरा भयो । यही व्यवस्थाबाट संकटको निकास निकाल्न सकिन्छ ?

नेपालमा हालका संविधान र संघीय व्यवस्था आफैमा खराब छैनन् । यो संविधान निर्माणमा हामी साथै छौं । सबैको प्रयत्नले नै यो संविधान बनाएका हौं । समाजवादमा जाने भनी निर्देशक सिद्धान्त पनि बनाएका छौं । यो समाजवादमा पनि प्रजातान्त्रिक कि वैज्ञानिक भनेर बहस हुन सक्ला । तर समाजवाद निर्माणको नै बहस हुने छ । बहसले यसलाई परिपक्व बनाउने छ । समाजवाद निर्माणका लागि यसले कांग्रेसलाई पनि छेक्दैन र कम्युनिष्टलाई पनि छेक्दैन । संविधानले विभिन्न तह र तप्काका मत र अभिमतलाई समेटेको छ । त्यसैले यसको संरक्षण जरुरी छ ।

उसोभए विश्व सन्दर्भ हाबी भैसकेको हो नेपालको घरेलु मामलामा पनि ?

हो, विश्व सन्दर्भ नहेरेर कु्नै पनि काम सफल हुन सक्दैन । राष्ट्रिय सन्दर्भ त विश्व सन्दर्भको अंश बनेर आएको छ । अहिलेको विश्व सर्भिलेन्स वा डाटा पुँजीवादको चरणमा छ । मानिसले माक्र्स तथा लेनिनकालीन पुँजीवादको अध्ययन गरिरहेका छन् । २१औं शताब्दी भिन्न स्वरुप लिएर विकास भैरहेको छ । यो अहिले कर्पोरेटतन्त्रको रुपमा उदय भैसकेको छ । यसले पुराना पूर्वाधारलाई उछिनेर नयाँ पूर्वाधार निर्माणमा लगानी गरिरहेको छ । आज कृत्रिम जासुसी, रोबोटिक्स र ड्रोन तथा फाइब–जी लगायतका कुरा व्यवहारमा प्रयोग भैरहेका छन् । यसले विगतको पुँजीवादलाई २१ औं शताब्दीको पुँजीवादबाट भिन्न गराएको छ । हामीले १९औं र २०औं शताब्दीको विश्व पढेर २१औं शताब्दीको परिवर्तन गर्ने सपना नदेखे हुन्छ । आइन्स्टाइनलाई ‘तिमीले किन यति भयानक सपना देख्छौ तिमी !’ भनी सोध्दा उनले भन्ने गरेका थिए, ‘मैले राक्षसको काँधमा चढेर हेर्दा परसम्मको त्यो भयानक सपना देख्छु’ भनेर जवाफ दिएका थिए । त्यो राक्षस भनेको विज्ञान र प्रविधि हो, डाटा प्ुँजीवाद हो । यो २१औं शताप्दी यस्तै आधुनिक राक्षसको ढाडमा चढेर हिँडिरहेको छ ।

उदाहरण सहित स्पष्ट पारिदिनोस् न त ?

कतिपय नेताले यसलाई केवल विज्ञान तथा प्रविधिको मात्र विकास भनेर लिने गरेका छन् । यो त्यति मात्र होइन, बरु यसले क्रान्ति र रुपान्तरणलाई पनि उत्तिकै नयाँ र आधारभूत रुपमै फरक बनाइदिएको छ । यदि कलकारखानाको विकास नभएको भए, पुँजीवादको विकास हुने थियो र ? यो परिवर्तनमा प्रविधिको भूमिका छैन र ? प्रविधिले क्रान्तिको स्वरुप निर्धारण गर्न सहयोग पुर्याउँदैन र ?
यदि विकासे मलको अनुसन्धान र विकास गर्न नसकिएको भए आज विश्वमा रहेको ८ अर्ब मानिसमध्ये ४ अर्ब भोकले मरिसकेका हुने थिए । त्यति बेलाको परिकल्पना थियो- आकाशमा जमिनको विकास गर्ने । वा, आकाशमा जमिन बनाएर खेती गर्ने सपनाले विकासे खादको परिकल्पना साकार पारिदियो । चीन पनि अहिले यही रिसर्च र इन्नोभेसनको बाटोबाट अघि बढिरहेको छ । यसलाई सर्भिलेन्स वा डाटा क्यापिटालिज्मले निकै सहयोग पुर्याइरहेको छ ।

यो फरक बोध सजिलो तरिकाले कसरी गर्न सकिएला ?

१९औं शताब्दीको पुँजीवादले श्रम बेचेर अनि किनेर मुनाफा आर्जन गर्ने गरिरहेको थियो । तर आज डाटा बेचेर मुनाफा कमाइरहेको छ । हामीहरु सबै आज त्यसैमा जोतिइरहेका छौं । अबको आमूल परिवर्तन भनेको सर्भिलेन्स क्यापिटालिज्मले ल्याएको आधारभूत परिवर्तनपछि के हुन्छ भन्ने हो । त्यहीबारेमा सोचेमा सामाजिक क्रान्ति हुनसक्छ । सन् १९९० पछि निकै सफलताका साथ लागू गरिएको उदार पुँजीवाद अहिले गहिरो संकटमा छ । उदारीकरण पनि संकटमा परिरहेको छ । केही ठूला कर्पोरेट हाउसले दुनियाँ चलाइरहेका छन् ।

यहाँ व्यक्ति र व्यवस्थाको कुरा त आयो त ?

हो, व्यक्तिको भूमिका पनि हुन्छ र प्रणालीको भूमिका पनि हुन्छ । सफलता र असफलता पनि त्यसैमा हुन्छ । ती अलग छन् पनि र छैनन् पनि । प्रणालीले नयाँ कुरा उत्पादन गरिरहन्छ । अहिले नेपालको सन्दर्भमा प्रणाली नै गलत छ भन्ने होइन । व्यक्तिको महत्वाकांक्षाले यो सबै ल्याएको हो ।