नेपालका पुराना सभ्यताहरुमध्ये एक हो- ‘किराँत सभ्यता’ । यो विश्वकै सबैभन्दा पुरानो सभ्यतामध्ये एक मानिन्छ । किराँतको ब्रह्मपुत्र तथा गंगा (गोङ्वा) नदी र यसका शाखानदी आसपास विकास भएको मानिन्छ । सुरुमा एसिया महादेशको ठूलो भू-भाग (दक्षिण एसिया, दक्षिणपूर्व एसिया, मध्य एसिया) मा किराँत रहेका थिए । कश्मिरदेखि पूर्व, कामरुप, मानसरोवरको दक्षिण-पश्चिमसम्म, भुटानहुँदै ब्रह्मपुत्र नदीको किनारदेखि सरयु नदीको किनारसम्म, मानसरोवरदेखि चीनसम्म, नवदेशदेखि महाचीनसम्म किराँत विस्तारित थिए भन्ने इतिहासकारको भनाइ छ ।
किराँतीको ऐतिहासिकता तथा चर्चा संस्कृत साहित्य जस्तै अथर्व वेद, वाल्मिकि रामायण र महाभारतमा (किराँती राजा र जनताको) उल्लेख गरेको पाइन्छ । प्राचीन संस्कृत साहित्य (ऋग्वेद, पुराण, स्मृति, काव्य, कथा, कविता, तथा विभिन्न खोज, अनुसन्धान र विभिन्न अभिलेख) मा पनि किराँत जातिको उल्लेख भएको पाइन्छ । बौद्ध धर्म, ब्राह्मण धर्म, जैन साहित्य, इसाई धर्म, इस्लाम धर्म आदि विभिन्न ग्रन्थ र प्राचीन वास्तुकला, शिल्पकला, लोककला, चित्रकलामा पनि किराँती सभ्यता चित्रित छ ।
किराँतीको वंशावलीको सन्दर्भमा भन्नु पर्दा गोपालराज वंशावली अनुसार ३२ पुस्ता, डेनियल राइटको वंशावली अनुसार २९ पुस्ता, जीपी सिंहका अनुसार २९ पुस्ता, कर्क पेट्रिकको वंशावली अनुसार २७ पुस्ता, सिल्भा लेभीका अनुसार २८ पुस्ता, इतिहास प्रकाशनका अनुसार २५ पुस्ता, डा. स्वामी प्रपन्नाचार्यका अनुसार २८ पुस्ता र सुब्बा प्रेमबहादुर माबोहाङका अनुसार २८ पुस्ता, धरणीधर दाहालका अनुसार ३५ पुस्ता र भूपेन्द्रनाथ शर्मा ढुंगेलका अनुसार ३३ पुस्ता किराँती राजाले काठमाडौं उपत्यकामा राज्य चलाएका थिए ।
भनिन्छ, यसबाहेक पनि एसियाको विभिन्न क्षेत्रमा किराँतीले शासन चलाई आएका थिए । हालको भारत र नेपालका भू-भागमा नै पनि किराँतको अनेक संंप्रभु सम्पन्न राष्ट्र अस्तित्वमा थिए भन्ने गरिन्छ ।
यसरी कुनै बेला एसियाको ठूलो भू-भागमा फैलिएको किराँती राज्य पछि गएर बाह्य क्षेत्रबाट आएका मानिसको हस्तक्षेप एवम् उपनिवेशका कारण विस्थापित हुँदै आफ्नो जिमी-भूमीको साथै आफ्नो जातीय स्वपहिचान समेत गुमाउँदै सीमित भूक्षेत्रमा मात्रै बाँकी रहे । हुँदाहुँदा अहिले आएर दक्षिण एसियाको सगरमाथा (चोमोलोङमा) क्षेत्र (हालको नेपालको पूर्वी भाग १ नम्बर प्रदेश) को सानो भू-भागमा मात्रै आफूलाई प्रष्टरुपमा किराँती भनी चिनाउने जाति रहेका छन् । उनीहरु पनि नेपालको भगौलिक एकीकरणसँगै ‘राई’, ‘सुब्बा’, ‘मुखिया’ र ‘देवान’करण गरिएको हुँदा असली किराँती पहिचान नै ओझेलमा पर्न लागेको अवस्था छ ।
यसरी ‘करण’ मा परेर आफ्नो जातीय स्वपहिचान र अस्तित्व संकटका परेका किराँतीमा सबैभन्दा बढी खम्बुका सन्तानहरु देखिन्छन् । जस्तै कुलुङ लगायत खम्बुका सन्तान बढी नै ‘राईकरण’को मारमा परेको देखिन्छ । तर, ‘सुब्बा’, ‘मुखिया’ र ‘देवान’करणमा परेका लिम्बु, सुनुवार र याक्खाले भने आफ्नो जात ‘सुब्बा’, ‘मुखिया’ र ‘देवान’ हो भनी लेख्न छाडेका छन् । महत्वपूर्ण कुरो के छ भने, माथिका तीनवटै जातिका कुनै व्यक्तिले झुक्एिर वा जानाजान आफ्नो जात ‘सुब्बा’, ‘मुखिया’ र ‘देवान’ हो भनी लेखेमा तापनि उनीहरुलाई समस्या छैन । किनभने, उनीहरु आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान ऐन-२०५८ को दफा दुई (क) अनुसार सूचीकृत भएका छन् । स्मरणीय छ, सो सूचीमा हाल ५९ जाति सूचीकृत छन्, त्यसमा सूचीकृत जातिमध्ये ८०-८५ प्रतिशत जातिहरु ‘आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान ऐन-२०५८ को दफा दुई (क) मा व्यवस्था भए अनुसारको आधारबिना नै जथाभावी सूचीकृत भएका छन् ।
जस्तै कुनै जातिको मातृभाषा के हो ? कुनै जातिको जनसंख्या कति छ ? कुनै जातिको ऐतिहासिक भूमी कहाँ हो ? कुनै जातिको जातीय भेषभूषा के हो ? कुनै जातिको धर्म, संस्कार, संस्कृति, परम्परागत कानुन आदि के हो ? अत्तोपत्तो नभए तापनि सूचीकृत भएका छन् । यसरी हेर्दा आदिवासी जनजातिमा सूचीकृत हुनका लागि तात्कालीन श्री ५ को सरकार, स्थानीय विकास मन्त्रालयको मातहतमा रहेको आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान ऐन-२०५८ को दफा दुईको (क) मा व्यवस्था भए अनुसारका आधारहरु भएर पनि कुलुङ जाति सूचीकृत हुन नसकेको बिडम्वनापूर्ण अवस्था रहेको छ । जब कि कुलुङ जातिका अगुवाहरुले वि.सं २०५७-०५८ देखि कुलुङ जातिलाई पनि आदिवासी जनजाति सूचीमा सूचीकृत गराउनका लागि पहल गर्दै आएका छन् ।
यसका लागि उनीहरु हरेक पटक श्री ५ को सरकार (प्रधानमन्त्री) र स्थानीय विकास मन्त्रालय (सम्बन्धित तालुकवाला मन्त्री) मा फेरिंदै पिच्छे हरेकपटक नियुक्त हुने नयाँ स्थानीय विकासमन्त्री-राज्यमन्त्रीकोमा जाने र सूचीकरणका लागि अनुरोध गर्ने काम धेरै पटक भए । तापनि हालसम्म कुलुङ जाति लगायत जाति सूचीकृत हुन सकेका छैनन् । त्यसो त किराँत र किराँती बारे पिता-पूर्खा, पूर्वजले पनि मौखिक रुपमा भनी आएको कुरो र इतिहासकारले लेखेका किताब एवम् केही लिखित दस्तावेजले पनि स्पष्ट हुन सहयोग गर्दछ कि, किराँतीहरु आजको भारत, बंगलादेश, नेपाल, चीन, भियतनाम, बर्मा, थाइल्यान्डका भू-भागसम्म विकास र विस्तार भएका हुन् । भारतका प्रसिद्ध अनुसन्धानकर्ता तथा लेखक जीपी सिंहका अनुसार भारतको विकासमा किराँतीहरको ठूलो योगदान रहेको छ । तर, उनीहरुको योगदानलाई इतिहासमा उल्लेख गरिएन । (किराँत इन एनसियन्ट इण्डिया) । रामायण, महाभारत, उपनिषद आदि धार्मिक ग्रन्थमा समेत किराँतीको उल्लेख हुनुबाट पनि किराँती भूमी हालको भारतको ठूलो भू-भागसमेत रहेको थियो भन्ने जनाउंँछ ।
हाम्रा पूर्वज (बुढापाका) ले भन्ने गरेको कथा (जनश्रुति) तथा लिखित दस्तावेजले पनि मद्रासी (तामिल), नागा, बंगलादेशका खासी, नेपालका गुरुङ, मगर, थारु, लाप्चा, मेचे, कोचे, धिमाल आदि पनि किराँतका हाँगा हुन् ।
त्यसो त जनकलाल शर्माले किराँतका बारेमा ‘हाम्रो समाज एक अध्ययन’ नामक किताबको पाना नम्बर-३१८ मा ‘नौ लाख किराँत’ उपशीर्षकमा यसरी उल्लेख गरेका छन् ‘हड्सन महोदयका अनुसार किराँतीको प्रमुख शाखालाई खम्बु भनिन्छ । यिनीहरुको बसोबास भएको प्रदेशलाई कुनै समय ‘नौ लाख किराँत’ पनि भनिन्थ्यो । यस्तो नामाकरण गर्ने कारणमा हड्सन महोदय भन्छन्- “यस प्रदेशमा कुनै समय घरैपिच्छे दुई आनाका दरले कर लगाइन्थ्यो र त्यो करको संख्या नौ हजार आना पुग्दथ्यो । यसैलाई बढाएर त्यहाँका मानिसले यसलाई गाउँको संख्यामा ल्याए ।” यसको उल्लेख फ्लिट महोदयले पनि गरेका छन् । तर, विचारणीय प्रश्न के छ भने त्यस प्रदेशमा दुई आनाका दरले घरैपिच्छे कर लगाइँदैनथ्यो । बरु यो कर प्रतिपरिवार दश पैसाका दरले लगाइन्थ्यो र त्यस्तो करलाई ‘मेगचन’ भनिन्थ्यो ।
मेगचन ‘मेगजिन’को अपभ्रंश रुप हुन सक्दछ । संभवतः यो कर गोरखालीको त्यस प्रदेशमा प्रवेश भएपछि गोलीगठ्ठाका लागि युद्धका समयमा लगाइएको कर थियो । गोलीगठ्ठालाई मेगजिन भनिन्छ भन्ने कुरा यहाँ व्याख्या गर्ने आवश्यक छैन । यो कर युद्धको समयमा लगाइएको भए तापनि विक्रम संवत् २००७ सालसम्म कायमै रह्यो, कारण जेसुकै होस् उनीहरुको प्रदेशलाई ‘नौ लाख किराँत’ भनिन्थ्यो त्यसमा कुनै सन्देह छैन । हुन सक्तछ त्यहाँका बासिन्दाको विश्वासअनुसार समस्त किराँतजातिको सङ्ख्या नौ लाख अनुमान गरिएको हवस् । यस अवस्थामा त्यस प्रदेशको नाम नौ लाख किराँत सार्थक पनि हुन आउँछ ।’
तर, अब त ‘नौ लाख किराँत’ मिथक र इतिहासमा मात्रै सीमित हुँदै जाने त होइन ? प्रश्न गम्भीर छ । इतिहास हेर्दा नेपालको भौगोलिक एकीकरणताका नै ‘नौ लाख किराँत’ भनी उल्लेख भएको किराँतीको जनसंख्या आजसम्म पनि १२ लाख १५ हजार चानचुन मात्रै रहेको देखिन्छ । स्रोतः २०६८ को ११ औं राष्ट्रिय जनगणना । जब कि वि.सं १९५२ मा पहिलोपटक आधुनिक तरिकाले जनगणना गरिएको मानिन्छ । त्यो बेला नेपालको जनसंंख्या ५२ लाख रहेको भन्ने भनाइ छ । त्यसैले यस बारेमा नेपालका नृवंशशास्त्री, जातिशास्त्री मानवशास्त्री, समाजशास्त्रीका साथै किराँतजन्य संघ-संस्थाले पनि गम्भीर भएर खोजीनीति गर्नुपर्ने हो कि ?