२६ माघ, काठमाडौं । संसद भङ्ग भए पश्चात् नेपाल कम्युनिस्ट पार्टी (नेकपा) फुटको सङ्घारमा उभिएको छ । उसले फुटको औपचारिकता नपाए पनि जुट्ने सम्भावना टरिसकेको छ ।
यतिबेला नेकपा दुई समूहमा विभाजित भएको छ । एक समूहको नेतृत्व प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका छन् भने अर्को समूहको नेतृत्व पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल (प्रचण्ड–नेपाल)ले गरेका छन् ।
प्रचण्ड–नेपाल समूह प्रधानमन्त्री ओलीको कदमविरुद्ध सडकमा आन्दोलित छन् । ओली समूह कामचलाउ (म्यादी) सरकार चलाइरहेको छ ।
पुष ५ गते ओलीको असंवैधानिक (संसद विघटन) कदमका कारण पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र झलनाथ खनाल पूर्वमाओवादी प्रचण्डको समूहमा समाहित भएका छन् । पूर्वएमालेका यी शीर्ष दुई नेता नेपाल र खनाल प्रचण्ड समूहमा समाहित भएसँगै ओली अल्पमतमा परेका छन् ।
हुन त ओली समूहमा पूर्वमाओवादीका शीर्ष नेता एवम् गृहमन्त्री रामबहादुर थापा ‘बादल’लगायत अन्य केही नेता साथमा नभएका होइनन् । तथापि उनीहरूदेखि ओली कत्ति पनि सन्तुष्टि छैनन् । उनी सन्तुष्ट नहुनुको एउटै कारण हो, गृहमन्त्री बादललगायत अन्य नेताहरूसँग नेपाल, खनाल जतिकै नेता तथा कार्यकर्ता नै नभएको ओलीनिकट एक नेताले बताए ।
यस कारण पनि ओली अल्पमतमा छन् । उनी अल्पमतमा परेसँगै छटपट्टी सुरु भएको छ । ओली समूहका एक केन्द्रीय सदस्य भन्छन्, –‘आफ्नो समूहका शीर्षस्थ नेता पूर्वमाओवादी अर्थात् प्रचण्ड समूहमा समाहित भएपछि ओलीजी निकै चिन्तित हुनु भएको छ ।’
ओली चिन्तितमात्रै छैनन्, उनी साना कम्युनिस्ट पार्टीका नेताहरूलाई आफ्नो समूहमा प्रवेश गराउन लालायित छन् । उनले पछिल्लो चरणमा आफ्नो समूहमा प्रवेश गराउन नेत्रविक्रम चन्द ‘विप्लव’ प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का शीर्ष नेताहरूसँग छलफल अगाडि बढाएका छन् ।
छलफलका क्रममा उनले विप्लवसँग यो पनि सर्त राखेका छन्, ‘यदि आफ्नो समूहमा विप्लव समाहित हुने हो भने प्रतिबन्ध फुकुवा गर्ने ।’ तथापि यस सर्तका बारेमा विप्लवले आफ्नो आधिकारिक धारणा भने अहिलेसम्म सार्वजनिक गरेको छैन ।
यसका लागि ओलीको पहिलो रणनीति विप्लवसँग वार्ता गर्ने र त्यसपछि उनलाई आफ्नो समूहमा समाहित गर्ने । जसका लागि देशका विभिन्न जिल्लाका जेलमा रहेका विप्लवका नेताहरूसँग ओलीले आफ्ना नेताहरूमार्फत छलफल तथा भेटघाट गरेका छन् ।
सांगठनिक रूपमै कमजोरी देखिएपछि ओली विप्लवसँग निकट भएको कतिपयको दाबी छ । खानेपानी मन्त्री मणी थापाले एक साताअघि नख्खु कारागारमा रहेका विप्लवका नेता हेमन्तप्रकाश ओली ‘सुदर्शन’सँग भेटेका छन् ।
भेटमा मन्त्री थापा र नेता ओलीबीच भएको छलफलका क्रममा थापाले ओलीलाई हिंसात्मक बाटो छोडेर शान्ति प्रक्रिया अर्थात् वार्तामा आउन आग्रह गरेको विभिन्न सञ्चारमाध्यमले लेखेका छन् ।
त्यस्तै प्रधानमन्त्री ओलीले आफ्ना नेताहरू खटाएर विप्लवका शीर्ष नेताहरूसँग पछिल्लो चरणमा भेटघाट, छलफल गरिरहेका छन् । छलफलका क्रममा विप्लवले कुनै आधिकारिक जानकारी नदिएको एक नेताले गोल मिडिया खबरलाई बताए ।
उनी भन्छन्, –‘उहाँले कुनै ठोस निर्णय दिइसक्नु भएको छैन । तर, वार्ताका लागि सकारात्मक हुनुहुन्छ ।’ वार्ताका लागि छलफल, भेटघाट नियमित भएपनि शान्ति, सुरक्षा चुस्त बनाइएको गृहमन्त्रालय स्रोतले बताएको छ ।
वार्ताका लागि छलफल भएपनि विप्लवको कार्यशैली अग्र र हिंसात्मक भएकोले यसै भन्न नसकिने भन्दै गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले सुरक्षा संयन्त्र चुस्त गर्न सुरक्षाको उच्च स्रोतलाई निर्देशन दिएको बताइएको छ ।
तथापि विप्लव वार्ताका लागि तत्पर नभए पनि सरकार लचिलो हुने बताइएको छ । सरकार लचिलो भएरै विप्लवको हिंसात्मक रबैयालाई नजिकबाट नियाल्ने र त्यसको अन्त्य गर्ने गृह मन्त्रालय स्रोतको दाबी छ । र, विप्लव वार्ताका लागि संयम नभए वार्ताकै लागि पुनः प्रलोभन देखाएर उनलाई नै पक्राउ गर्ने गृहमन्त्री बादलले सुरक्षा संयन्त्रलाई निर्देशन दिएका छन् ।