२५ माघ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद भङ्ग गरेपछि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दुई समूहमा विभाजित भएको छ । एक समूहको नेतृत्व ओलीले गरेका छन् भने अर्को समूहको नेतृत्व पुष्पकमल दाहाल ‘प्रचण्ड’–माधवकुमार नेपालले गरेका छन् ।
यी दुवै समूह औपचारिकरूपमा नफुटे पनि सम्भवतः फुट्ने निश्चित छ । विघटित संसदका कारण ओलीसँग प्रचण्ड–नेपाल नराम्ररी चिडिएका छन् ।
नेकपा दुई समूहमा विभाजन भएसँगै प्रचण्ड–नेपाल समूहमा एकताको बहस सुरु भएको छ । एकताको क्रममा उक्त समूहमा पूर्वएमाले हाबी हुने निश्चित छ । यो समूहमा एकताकै क्रममा देखिएको पोर्टफोलियो र संगठनको संरचना त्यही अनुसार तय भएपछि पूर्वमाओवादी समूह स्वतः अल्पमतमा पर्ने भएको हो ।
यो समूहले पार्टी एकता प्रक्रिया पूरा गर्दासम्म साविक एमाले र माओवादीले नेतृत्व गरेको पंक्तिलाई यथावत् राख्ने गरी विधि र मापदण्ड तयार गरेपछि पूर्वमाओवादी समूह अल्पमतमा पर्ने भएको छ । प्रचण्ड–नेपाल समूहको गत पुष १९ गते बसेको स्थायी कमिटीको बैठकबाट अध्यक्ष माधवकुमार नेपालको संयोजकत्वमा पार्टी एकताको बाँकी काम पूरा हुने भएको छ ।
नेपालको संयोजकत्वमा बनेको पार्टी एकीकरण सम्बन्धी १२ सदस्यीय कार्यदल गठन गरिएको छ । उक्त कार्यदलको संयोजक नेपाल छन् भने सदस्यहरू गिरिराजमणि पोखरेल, गोकर्ण विष्ट, घनश्याम भुसाल, जनार्दन शर्मा, वर्षमान पुन, पम्फा भुसाल, शक्ति बस्नेत, बेदुराम भुसाल, सुरेन्द्र पाण्डे र मातृका यादव छन् ।
उनीहरूले तय गरेको पार्टी एकीकरणको संरचना र मापदण्ड तत्कालिन समयमा पार्टी एकताको समयमा पूर्वएमाले र पूर्वमाओवादीले संयोजन गरेको नेतृत्वलाई यथावत् राख्ने गरी तयार पारिएको बताइएको छ । पार्टी एकता कार्यदलले साविक एमाले र साविक माओवादीले नेतृत्व गरेका सबै तहमा संगठनको संरचना त्यसरी नै तयार गरेको स्रोतको दाबी छ ।
नेपालको संयोजकत्वमा गठित कार्यदलले बनाएको मापदण्डलाई कार्यान्वयनमा लैजाने हो भने पार्टी उपाध्यक्ष, महासचिव, बहुमत सचिवालय सदस्य, प्रदेश इन्चार्ज, केन्द्रीय सदस्य र जिल्ला कमिटीसम्म पूर्वएमालेको भागमा पर्ने पक्का छ ।
पार्टी एकीकरणको संरचना र मापदण्ड यस्तो बनेपछि प्रचण्डमा एकखालको त्रास देखिएको छ । उनी निकटका नेताहरू गृहमन्त्री रामबहादुर थापा ‘बादल’, टोपबहादुर रायमाझी, मणी थापा, गौरीशंकर चौधरी, दावा लामा, बालकृष्ण ढुंगेल लगायतका नेताहरू ओली समूहमा लागेपछि पूर्वमाओवादी समूह अल्पमतमा पर्ने भएको हो ।
पूर्वमाओवादी समूह अल्पमतमा पर्ने देखिएपछि प्रचण्डले पूर्वमाओवादी सहकर्मी मोहन वैद्य ‘किरण’ र पूर्वप्रधानमन्त्री एवम् जनता समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईलाई एकै ठाउँमा ल्याउने कसरत गरिरहेका छन् । यस विषयमा उनले वैद्य र डा. भट्टराईका नेताहरूसँग नियमित भेटघाट र छलफल गर्ने गरेको उनीनिकट स्रोतको दाबी छ ।
प्रचण्ड निकट स्रोतका अनुसार वैद्यसँग निकट मानिएका नेताहरूसँग प्रचण्डले निरन्तर छलफल गर्ने गरेको बताइएको छ । तथापि यस विषयमा वैद्य निकटस्थ नेताहरूले प्रचण्डसँग के भने भन्नेबारे कुनै औपचारिक धारणा बाहिर आएको छैन ।
त्यस्तै अर्का पूर्वप्रधानमन्त्री एवम् जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष, पूर्वसहकर्मी डा. वावुराम भट्टराईसँग यसअघि उपराष्ट्रपति नन्दकिशोर पुन ‘पासाङ’को सरकारी निवासमा प्रचण्डले गोप्य भेटवार्ता गरिसकेका छन् । यी दुईबीचको गोप्य भेटवार्तामा के–के कुरा भयो, उक्त कुरा हालसम्म सार्वजनिक गरिएको छैन ।
त्यतिमात्र होइन, उनले जनजाति तथा मधेशी दलका नेताहरूसँग पनि भेटघाट गरेका छन् । तर, प्रचण्डले वैद्य, भट्टराई, जनजाति र मधेसी दलका नेताहरूसँग के विषयमा छलफल गरेका हुन्, यस बारेमा माधवकुमार नेपाल समेतलाई जानकारी दिएका छैनन् ।
प्रचण्डले मोहन वैद्य ‘किरण’, पूर्व्रधानमन्त्री एवम् जसपाका अध्यक्ष डा. बाबुराम भट्टराई र जनजाति तथा मधेसी दलका नेताहरूसँगको भेटमा कुन विषयमा छलफल गरेका हुन्, त्यसबारेमा आधिकारिक धारणा सार्वजनिक नगरे पनि विभिन्न सञ्चार माध्यममा टीकाटीप्पणी सुरु भएको छ ।
कतिपयले पूर्वमाओवादी अल्पमतमा परेकोले बहुमत बढाउनका लागि प्रचण्डले उनीहरूसँग नियमित भेटघाट गरेको अड्कलवाजी गरेका छन् ।
यसअघि तत्कालिन एमालेसँग पार्टी एकता गर्दा प्रचण्डले आफू निकटका नेताहरूलाई पार्टीमा प्रवेश गराएर आफ्नो भागमा परेका दुई सय केन्द्रीय सदस्यबाट दुई सय पाँच पुर्याएका थिए ।