• बैशाख १२ २०८२, शुक्रबार

शिवको मुर्तिमा १४१ किलोको सुनको जलारी लगाउने निर्णको विरोध

माघ १९ २०७७, सोमबार

सरकारले पशुपतिमा शिवजीको मूर्तिमा एक सय ४१ किलोको सुनको जलारी राख्ने तयारी गरेको छ । मौलिक, पुरातात्विक र सांस्कृतिक मूल्यविपरीत महादेवलाई सुनको जलारी चढाउन खोजिएको भन्दै संस्कृतिविदहरूले विरोध गरेका छन् ।

महामारीका बेला जनतालाई पिसिआर टेस्ट गर्न नसक्ने सूचना जारी गरेको सरकारले मन्दिरमा सुन चढाउन भने एक अर्बभन्दा बढी खर्च गर्न लागेको छ । एकातिर जनताप्रति बेवास्ता र अर्कोतिर संस्कृतिमाथि अतिक्रमण गर्न खोजेको भन्दै सरकारी कदमको विरोध भएको हो ।

प्रधानमन्त्री केपी ओलीले पशुपतिमा गएर विशेष पूजा-आराधना गरेकै दिन ३० करोड रुपैयाँ तत्कालै दिने प्रतिबद्धता मात्रै जनाएनन्, सुनको जलारी निर्माणमा कुनै पनि कसर बाँकी नराख्न सरकारी निकायलाई दिर्नेशन पनि दिए । प्रधानमन्त्रीको निर्देशनबमोजिम पशुपति क्षेत्र विकास कोष यतिवेला सुनको जलारी निर्माणमा जुटेको छ । त्यसका लागि कोषका कोषाध्यक्ष मिलन थापाको संयोजकत्वमा कार्यदल नै गठन गरिएको छ ।

पशुपति क्षेत्र विकास परिषदले जलारी निर्माणका लागि औपचारिक निर्णय पनि गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालको अध्यक्षतामा बसेको परिषद बैठकले प्रधानमन्त्रीको निर्देशनबमोजिम जलारी राख्ने निर्णय गरेको हो । प्रधानमन्त्री ओली गत १२ माघमा पशुपतिमा पूजा गर्न गएका थिए । १३ माघमा परिषद बैठक बसेर जलारी राख्ने निर्णय गरेको हो ।

अहिले भएको दुई सय वर्षभन्दा पुरानो चाँदीको जलारी हटाएर सुनको राख्न सरकारले बजेट पनि छुट्याएको छ । ‘चाँदीको जलारी पुरानो भएकाले नयाँ भने सुनको बनाउने गरी निर्णय भएको हो, अब छिट्टै प्रक्रिया अगाडि बढ्नेछ,’ संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री ढकालले भने ।

प्रधानमन्त्रीको निर्देशनअनुसार परिषद्मा अध्यक्षको हैसियतमा आफूले ठाडो प्रस्ताव लगेर निर्णय गराएकोसमेत मन्त्री ढकालले बताए । पशुपति पवित्र स्थल भएकाले यसका लागि सरकारले ३० करोड दिने र बाँकी रकम पशुपति कोषले व्यवस्था गर्ने गरी अगाडि बढाइएकोसमेत मन्त्री ढकालले जानकारी दिए ।

 सुनको जलारी लगाउनु साँस्कृतिक अतिक्रमण होः संस्कृतिविद नरोत्तम वैद्य

पशुपतिको चाँदीको जलारी तत्कालीन राजा रणबहादुर शाहले बनाउन लगाएका हुन् । त्यसभन्दा अगाडि जलारी चाँदीको होइन, तामाको थियो । खासमा हुनुपर्ने तामाको नै थियो । तर, राजा-महाराजाले आफूलाई ठालु देखाउन चाँदीको बनाएका थिए । पछिका राजाहरूले पनि जलारीमा चाँदी थप्दै लगेका थिए । सांस्कृतिक र पुरातात्विक हिसाबले जलारीमा चाँदी राख्नु पनि उपयुक्त छैन । सुन त झनै राख्नै  हुँदैन । पशुपति मन्दिर निर्माण हुँदैका कालमा तामालगायत धातुको जलारीसमेत बनेको हो । त्यसैले पुरातात्विक हिसाबले पछि अन्य धातु थप्नु नै गलत हो । झनै सुन राख्नु भनेको त पुरातात्विक हिसाबले हुनै सक्दैन । जलारी भनेको शिवलिंगमा पानी बगेर झर्ने भाग हो । लिंग प्रायः माटो, काठ, धातु, बालुवा, ढुंगा, चामलबाट खडा गरिन्छ । लिंगका चार रूपमध्ये ब्रह्म भाग जलारी हो ।

आजको नयाँ पत्रिकामा विस्तृतमा यो समाचार छापिएको छ ।