• मंसिर ११ २०८१, मंगलवार

जातीय घृणा पहिला आफ्नै मनबाट फालौं

माघ ८ २०७७, बिहीबार

गौतम बुद्धको दर्शनमा जातीय विभेद छैन । तर झण्डै २६ वर्षअघि सिद्धार्थ गौतम ज्ञानको खोजि र अनुसन्धानमा निस्कँदा र ज्ञान पाइसकेपछि त्यतिबेलाको समाजमा जातीय छुवाछुत थियो । ज्ञान पाएपछि ज्ञानको प्रचारमा लाग्दा हालको भारतको कुनै ठाउँमा चान्डाल (दलित) थरकी एकजना महिलाले दिएको पानी खाएको भन्दै गौतम बुद्धको आलोचना भएको प्रसंगले त्यतिबेलाको समाजमा छुवाछुत थियो भन्ने कुराको पुष्टि गर्दछ । त्यतिबेला त्यहाँको समाज हिन्दूधर्ममा आधारित समाज थियो । तर बुद्ध दर्शनमा मानिसहरुकाबिचमा विभेद छैन ।

अथवा फलानो जात भन्दा फलानो सानो जात वा ठूलो भन्ने छैन बरु मानिसहरुलाई अनुशासनमा राख्न र काटमार गर्नबाट रोक्नका लागि पञ्चशीलको नियमलाई लागु गर्न निकै प्रोत्साहन गरिएको छ । जब मानिसहरुका बिचमा विभेदको सिर्जना हुँदै गयो तब बुद्धका मान्यताहरु वा बुद्ध दर्शन मान्नेहरुमा पनि परिवर्तन देखा पर्न थाल्यो । समयक्रमसँगै दक्षिण एसिया खासगरि भारतमा हिन्दु समाजमा जातीय विभेदले उग्ररुप लियो । मानिसहरु बसाई सर्नेक्रमसँगै विस्तारै त्यो नेपालतिर पनि सर्दै आएको देखिन्छ ।

कविला राज्यसम्म विभेदको बीउ रोपिएको थियोे भन्ने एकखालका इतिहासहरुको भनाई छ । समान्तवादी हिन्दु समाजमा त जातप्रथाको निर्माण एउटा ठूलो समस्या बनिदियो र त्यो हाल पनि कायमै छ । यो समस्या आफै बनेको होइन, बरु बनाइएको हो । ठूला भनिएका र शासन गर्नेहरुले नै यो समस्या फैलाएका हुन् । हुनेखाने र शक्तिशाली बन्दै गएकाहरुले आफूलाई माथिल्लो स्थानमा राख्दै जान थालेपछि तहगत रूपमा जातीयताको बीउ रोपियो । विस्तारै विस्तारै बाहुन टुप्पोमा गए भने शुद्रहरु फेदमा ।

मनुस्मृति जस्ता हिन्दु धार्मिक ग्रन्थहरुले बाहुनले गर्ने काम र शुद्र गर्ने कामको फरक छुट्याउन भूमिका खेले । निकैपछि समाजलाई गलत तरिकाले निर्देशन गर्ने र ठूला बनाइएका जातिका मानिसहरु शासक बन्नका लागि विभिन्न पुरान र मनुस्मृतिहरु तयार पारिए र समाजमा लागु गरिए । मनुस्मृतिका संस्कार सम्बन्धि नियमहरु समाजमा पहिले लागु गरिएभने पछि लादिए ।

फलस्वरुप मानिसहरुका बिचमा ठूलो मनोवैज्ञानिक खाडल देखापर्यो । सो विभेदकारी जातीय उचनिच र अत्याचारी नियम नमान्नेहरुलाई बहिष्कार गरियो । पाखा लगाइयो । टाढा धपाइयो । पछि ती हालका दलित भए । यो संस्कार अभ्यासकाक्रममा खानपिन आदि कुरामा बाहुनहरु चोखो भए र शुद्रहरुलाई बिटुलो बनाइयो, भनियो । हुँदाहुँदा शुद्रहरु बाहुनका सेवक बनाइए । यसरी जातपातको जग बसालियो र तिब्र बनाइयो ।

हजारौं वर्षदेखि यो जटिल सामाजिक रोगले संस्कृतिको रुपधारण गर्यो । यसलाई कुसंस्कृति पनि भन्न सकिन्छ । त्यसरी रोपिएको जातीय विभेदको समस्या आज पनि जटिल र समग्र मानवीय समस्याको रूपमा नेपाली समाजमा जीवित छ । दक्षिण एसियायी मुलुकहरुमा जात व्यवस्थाका अनेकौं पीडा, दर्द र मर्महरु छन् । जात व्यवस्थाले निर्माण गरेका घाउहरु निकै गहिरा छन् । पटकपटकका राजनीतिक परिवर्तनहरुले पनि यी घाउमा मल्हम लगाउन सकिरहेका छैनन् ।

किनकी राजनीतिक परिवर्तन साँस्कृतिक परिवर्तन सहित भएनन् । सत्तामा नयाँ मानिसहरु आए तर पुरानै विभेदकारी मान्यता बोकेर आए । त्यसकारण जतिसुकै ठूलो राजनीतिक परिवर्तन भएको भए पनि मनुस्मृतिका भुतप्रेतहरुले नेपाली समाज र अझ दक्षिण एसियाकै समाजमा सधैं तर्साइरहेकै छन् । जातीय विभेद र छुवाछुतले यहाँको मनोसामाजिक आत्मा भड्केकै छ र मानिसका मनहरु तड्पाएकै छ ।

यसैबिच हाल नेपालमा निकै नै दर्दनाक बनेर आएको दलितहरु माथिको उत्पीडनमूलक समस्या जातीयमात्र होइन, आत्म स्वाभिमानको समस्या पनि हो र सयौं वर्षदेखि यो मानिसहरुलाई सबैखाले अधिकारबाट बञ्चित हुनेसम्मको समस्या बनेको छ । छुवाछुत वा विभेद दलितलाई मात्रै गरिएको छ भन्ने होइन । अन्य जातमा पनि जातको तहगत विभाजन त छनै तर दलितको जत्तिकोस्तरमा छैन । यो सवाल अझ धेरै मानवतासँग जोडिन्छ । आर्थिक र राजनीतिक लगायतका समस्याहरुसित जोडिएको छ ।

एउटा उखान प्रचलित छ ‘दलितको जवानी चल्छ, पानी चल्दैन’ । समाजमा आज पनि प्रेममा जात हुँदैन भनेर ढोङ रचिन्छ । प्रेममा जात हुँदैन भन्ने कुरा अपवादकोरुपमा थोरै ठाउँमा मात्रै होला । आज केही अगाडि बढेका भनिएकाहरु र कथित पढेलेखेका भनिएकाहरु नै जातीय व्यवस्थालाई बचाउन निकै गतिका साथ लागेका छन् । उनीहरु जातको प्रसंग चल्दा ‘जातीय कुरा गर्न हुँदैन भन्छन्’ तर सबभन्दा जातीय विभेद उनीहरु नै गर्दछन् । विभिन्न फरक जातका केटा र केटीबिच प्रेम चल्यो भने र प्रेम विहेमा रुपान्तरणको स्तरसम्म पुग्यो भने जातका कारण केटीसित पञ्छिनका लागि केटाले बुवाले मान्नु भएन वा आमाले मान्नु भएन भन्ने बहाना देखाएर प्रेम सफल हुन सकेन भन्ने र पञ्छिने चलन छ ।

शिक्षित भनिएकाहरुको मनमा नै जातप्रथाको असर गहिरो छ । उनीहरु सजिलै यो प्रथा मनबाट हटाउन सक्ने छैनन् । त्यसका लागि एउटा ठूलो प्रशिक्षणमूलक अभियान नै चलाउनु पर्दछ र तयसको अगुवाई राज्यले नै गर्नुपर्दछ । जसलाई थाहा छ जातको कुरा गलत हो तर उनीहरू नै जातलाई अङ्गालो हाल्छन् र दुनियाँलाई भ्रममा राख्छन् र ठूलो कहलाउँछन् । त्यसकारण मानिसको मनमा जबरजस्ति घुसाइएको जातीय संस्कृतिमा हामीले सबैभन्दा पहिला दिमागबाट जात फालौं अनिमात्र समाजमा साँस्कृतिक रुपान्तरण हुन्छ ।