• मंसिर ११ २०८१, मंगलवार

पिङ खेलिरहने सुविधा रहिरहने छैन नेपाली कांग्रेसलाई

माघ ४ २०७७, आईतवार

गोलमिडिया खबर टिपणी

काठमाडौं । दैनिक विकसित हुँदै गैरहेको राजनीतिक वातावरणसँगै आफ्नो आकार प्रकार बदल्दै अघि बढिरहेको नेपाली कांग्रेसका लागि आउँदा दिनमा त्यो सहुलियत मिलिराख्ने देखिदैन । संसदमा देखिएको नेपाली कांग्रेसको भूमिका विहीनता, संसद विघटनपछिको वर्तमान देशको संकटका बेलामा पनि दोहोरिन पुग्यो । कुनै पनि परिवर्तन आएन । दोबाटे र दोधारे र दुई जिभ्रे रह्यो यसको अभिव्यक्ति र काम गराइ पनि ।

यसले न त संसद विघटनको विरुद्धमा आफ्ना सशक्त कार्यक्रम ल्याउन सक्यो, न त संसद पुनस्र्थापनाको पक्षमा नै वकालत गर्न र संघर्ष अघि बढाउन सक्यो । यसको अन्तर्यमा तात्कालीन सत्ताधारी नेकपाजस्तै यसभित्र पर्न गएको ध्रुवीकरणको बहस र तरंगले काम गरिरहेको देखा पर्छ । यसले गर्दा पनि पार्टी जोगाउन कांग्रेसले न हाँसको त न बकुल्लाको चाल चलिरहेको पीडाबोध सबैलाई भैरहेको अनुभूत हुन्छ ।

पार्टी सभापति देउवा एउटा लबीमा र रामचन्द्र पौडेल तथा कोइराला परिवार अर्को लबीमा स्पष्ट रुपमा बाँडिएका छन् । वैदेशिक महाशक्तिको चासो र जोडघटाउमा पनि यिनीहरु पर्ने गरिरहेका छन् । अहिले दुई चिरा पर्न गएको नेकपा पनि न त पूर्ण रुपमा च्यातिन सक्ने न त एक हुन सक्ने अवस्थाको प्रत्यक्ष प्रभाव नेपाली कांग्रेसमा परिरहेको छ । यसैले पनि कांग्रेसलाई झनै दोलायमान हुने वातावरण सिर्जना गरिदिइरहेको छ ।

यदि च्यातिएका नेकपाका दुईधार स्पष्ट रुपमा विधानतः, संविधानतः र कानुनी रुपमा दुई भिन्न संगठन र पहिचानसहित अघि बढिसकेका हुने थिए भने नेपाली कांग्रेस पनि यति बेला दुई चिरा भैसक्ने थियो । किनकि नेपालको राजनीतिमा देखिएको यो राजनीतिक विभाजन केवल घरेलु कारण वा फुटका लागि होइन, बरु ध्रुवीकरण हुन र गर्न गराउनका बाहिरी शक्तिबाट प्रायोजित हो । यसले ढिलो वा चाँडो सबै पार्टीमा प्रभाव पारेरै छाड्ने देखिन्छ ।

यसको प्रभाव ढाकछोप गर्दै आएको नेपाली कांग्रेस अहिले संसद पुनस्र्थापनाको नारा पनि नबोक्ने र संसद बिघटनको कुरा पनि अस्वीकार गर्ने गरी सडकमा उत्रिएको छ । यसले केन्द्र, प्रदेश र स्थानीय तहका निकायहरुबाट समेत विरोध प्रदर्शनका कार्यक्रम गरिरहेको छ ।

तर धुर्वसत्य कुरा के हो भने कुनै पनि एक समयमा परस्पर विरोधी दुई भिन्न कुरा लामो समयसम्म समानान्तर रुपमा उडान भरिरहन सक्दैनन् । त्यसमा राजनीतिक रंगमञ्च त झन् निकै तरल, तात्कालीक र पाइलापाइलामा फेरबदल ल्याउने प्रकृतिको हुन्छ । त्यसैले पनि अबका दिनमा नेपाली कांग्रेसका लागि चुनावमा गए पनि सही र संसद पुनस्र्थापना गरिए पनि सही भन्ने मध्यमार्गी दुईमुखे धार र धारणाले काम गर्ने देखिदैन ।

एकातिर ध्रुवीकरणको प्रक्रिया ओली नेकपा, शेरबहादुर देउवा (कांग्रेस)हुँदै सिके राउतसम्म पुग्दा अर्कोतिर प्रचण्ड–माधव नेकपा, पौडेल–कोइराला (कांग्रेस)हुँदै जनता समाजवादी पार्टीसम्म पुग्दा ध्रुवीकरणका सिंगा दुई लबी एकापसमा तन्कने र सम्बन्ध बिच्छेद गर्ने अवस्थातिरै धकेलिरहेका छन् । मात्र अदालती प्रक्रियाले यी दुई ध्रुवका गतिविधि ओझेलमा पारिदिएको छ ।

अबका दिनमा संसद पुनस्र्थापना भए पनि प्रम केपी ओलीविरुद्ध अविश्वासको प्रस्ताव आउँदा नेपाली कांग्रेसमा स्पष्ट ध्रुवीकृत धार देखा पर्नेछ । संभावनाको कुरा गर्यौं भने देउवा पंक्ति ओली खेमाको बचाउ वा अविश्वासको प्रस्तावको विरुद्धमा र पौडेल–कोइराला पंक्ति अविश्वास प्रस्तावको पक्षमा वा प्रचण्ड–माधव खेमाको साथमा रहने देखिन्छ ।

यदि चुनावमा जाने हो भने पनि यस्तो लबिङ चुनावी गठबन्धनमा देखा पर्ने निस्चित रहेको छ । त्यति बेला च्यातिने भनेको नेपाली कांग्रेस नै हो । परिस्थितिले नेपाली कांग्रेसलाई एउटै प्रश्न सोधिरहेको छ– तिमी सिंगै हौ वा फरक फरक ? स्पष्ट छ, नेपाली कांग्रेस सिंगै छैन । सांगठनिक हिसाबले पनि र वैदेशिक ध्रुवका हिसाबले पनि ।

शक्ति केन्द्रको छायामा हुँदै गैरहेको ध्रुवीकरणको प्रभावले अबका दिनमा कसैले ‘मैले २००७ सालको क्रान्ति गरेको’ वा ‘अरु कसैले मैले २०२८ सालमा झापा बिद्रोह गरेको’ वा बाँकीले ‘मैले २०५२ सालमा जनयुद्ध लडेको’ वा ‘मधेशवादी आन्दोलन गरेको’ भनेर विगतको ‘लिगेसी’ थाम्न सक्ने देखिदैन ।

नेपाली कांग्रेसभित्र अहिले चर्चामा रहेको विषय भनेको सभापति शेरबहादुर देउवा र महामन्त्री शशांक कोइरालाको नियमित भेटघाट र भलाकुसारी नै हो । यो एकै धारमा आवद्धहरुका बीचमा भएको सामिप्यता भने होइन । यसका दुई भिन्न तरंगहरु रहेका छन् ः एउटा पार्टी बाहिरको राजनीतिमा कुन ध्रुव बलियो गराउने र अर्को पार्टीको महाधिवेशनमा विजय कसरी सुनिस्चित गर्ने ? कांग्रेसभित्र पहिलो भन्दा पनि दोस्रो कुरालाई लिएर बढी तरङ्गित हुने गरेको छ ।

कुरा सही हो, चोरलाई रातले साथ दिन्छ, साधुलाई दिनले । कुनै पनि कुरा मिल्न मिलाउन बाह्य तथा आन्तरिक वातावरणको संयोग मिल्नु जरुरी छ । नेपाली भूरणनीतिक अवस्थितिमा बाह्य शक्तिको छिनाझप्टीसँगै आन्तरिक रुपमा आफ्नो स्वार्थको सुनिस्चितताका लागि देउवा र कोइराला बीचमा कानेखुसी हुन नसक्ने भन्ने हुँदैन । तर देउवा र शशांक बीचको कानेखुशी शक्ति केन्द्रको ध्रुवीकरणसँग पनि जोडिन पुगेको छ । कारण यी दुई वरिष्ठ नेता रामचन्द्र पौडेलले उठाएको संसद पुनस्र्थापनाको मागको विरुद्धमा छन् । यसले कांग्रेसभित्रको ध्रुवीकरणको बाटो सफा बनाउँदै लगिरहेको देखिन थालेको छ । यसले अबका दिनमा नेपाली कांग्रेससँग पिङ खेल्ने सहजता र सुविधा दुवै लामो समय नरहने देखाएको छ ।