• मंसिर ११ २०८१, मंगलवार

मार्टिन लुथर किङः कालाजातिलाई गोरा सरह बनाउन सफल अभियन्ता

माघ ३ २०७७, शनिबार

मार्टिन लुथर किङ जेआर एकजना अमेरिकी सामाजिक अभियन्ता हुन् । उनले अमेरिकी नागरिक अधिकार आन्दोलनमा निकै उच्चकोटीको भूमिका निर्वाह गरेका छन् । सन् १९५० देखि सन् १९६८ सम्म उनको योगदान अब्बल रहेको छ । काला जातिका भए पनि उनी गोराहरुकाबिचमा पनि उत्तिकै लोकप्रिय थिए ।

उनले गोरा छाला भएका अमेरिकी र काला छाला अमेरिकीकाबिचमा रंगका आधारमा कुनै पनि विभेद नहोस् भन्ने चाहन्थे । उनले पछाडि पारिएका कालाहरुका लागि राजनीतिक, आर्थिक, सामाजिक र साँस्कृतिक रुपमा समानताको बहस चलाएका थिए । उनको बहस आज पनि सपनाको दस्तावेजका रुपमा अमेरिकामा निकै लोकप्रिय छ ।

उनको सपना, काम र अभियानले आजको अमेरिकालाई कम मानव विभेदरहित अमेरिकाको स्थान दिलाएको छ । रंगभेद विरोधी समानताको उनको अभियानले अमेरिकामा तात्कालीन गोरा सरकारलाई नागरिक अधिकार ऐन ल्याउन बाध्य पारेको थियो । जसले जुनसुकै रुप र रंगका भए पनि अमेरिकीहरु सबै अमेरिकी नागरिक नै हुन् भनी स्वीकार गर्न लगायो । उनलाई सन् १९६४ मा विश्व शान्ति नोवेल पुरस्कार पनि प्रदान गरिएको थियो ।

तिरस्कारले जन्माएको अहिंसात्मक प्रदर्शन:

सानो छँदा उनीहरु बसेको मोन्टगोमरीको बसमा यात्रा गर्दा उनलाई खाली रहेको गोरा मानिसको सिटमा पनि बस्न दिइएन । बस्न खोज्दा उल्टै गिरफ्तार गरियो । त्यसपछि बस बहिष्कारको आन्दोलन सुरु भयो । अधिकारवादीहरुले उनलाई साथ दिए । साथै, उनलाई उक्त आन्दोलनको प्रवक्ताका रुपमा चयन पनि गरे ।  उनी निकै लोकप्रिय हुँदै गए । उनको भाषण निकै मन पराइयो । उनका फ्यान र फलोअर पनि बढ्दै गए । यसै बेलामा उनी हार्लेम डिपार्टमेन्ट स्टोरमा आफ्ना फ्लोअरसँग अटो लिने दिने गरिरहेका बेला सन् १९५८ इजोला वेरकरी नाम गरेकी महिलाले उनको छातीमा चक्कु प्रहार गरिन् ।

तर उनी बाँच्न सफल भए । त्यसपछि पनि उनको अहिंसात्मक नागरिक अभियानमा साथ दिनेहरुको कमी रहेन । झन् बढिले साथ दिंदै गए । उनी अहिंसात्मक नागरिक आन्दोलनमा सरिक रहिरहे । उनी भन्थे- ‘छातीमा चक्कु प्रहार गरिए पनि ममा बदलाको भावना आइरहेको छैन, बरु म अझैं अहिंसात्मक अभियानप्रति झनै विश्वस्त बन्न पुगेको छु ।’ त्यसपछि अहिंसात्मक नागरिक अभियानको निरन्तरताका लागि ‘दक्षिणी क्रिस्चियन लिडरसिप कन्फेरेन्स’ स्थापना गरियो ।

यसले रंगभेद विरुद्धमा पूर्ण समानताका कुरा अगाडि ल्यायो । यसको नारा थियो: ‘कोही कसैको टाउकाको एउटा रौंसम्म पनि क्षति हुनु हुँदैन ।’

मार्टिन लुथर किङ मर्दासम्म पनि यही नारामा विश्वस्त थिए । सन् १९५९ तिर मार्टिन लुथर किङ भारत भ्रमणमा आएका थिए । त्यति बेला उनले भारतमा भेटेका महात्मा गान्धीका शिष्यहरुलाई ‘अहिंसात्मक सामाजिक परिवर्तनका लागि हाम्रो तौरतरिकाको निर्देशक ज्योति’ भनेर आफ्नो आत्मकथामा लेखेका छन् ।

बिर्मिङघम शान्ति र्याली:

त्यसपछि पनि उनले बिर्मिङघम र त्यस वरपर रहेका काला र गोराहरुकाबिचमा विभाजित सहरहरुमा समानताको अभियान जारी नै राखे । त्यति बेलाका गोरा सत्ताधारीहरुलाई यो कुरा पच्ने खालको थिएन । अभियानले लोकप्रियता हासिल गर्दै गयो । मार्टिन लुथर किङ लगायतको अभियान सफलताको चुचुरोतर्फ उकालियो ।

वासिङ्टन शान्ति मार्च:

यसलगत्तै मार्टिन लुथर किङ ‘वासिङ्टन मार्च’ अर्थात् वासिङ्टनतिर अघि बढौं अभियानमा सहभागी भए । यो अभियान सबैलाई काम र स्वतन्त्रतामा आधारित थियो । यो आखिर अन्यायमा पारिएका र विभेदमा बाँचिरहेका कालाहरुको दिमागमा चेतनाको दियो बाल्नका लागि थियो ।  यति बेलाको अभियानमा तीन लाख मानिस सडकमा उत्रिएका थिए । अहिंसात्मक तथा शान्तिपूर्ण प्रदर्शनको यो उच्चकोटीको नमूना थियो । यसले अमेरिकी इतिहासमा अभूतपूर्व स्थान बनाउन सफल भएको थियो । यसैको दबाब थेग्न नसकेर सन् १९६४ मा नागरिक अधिकार ऐन प्रयोगमा ल्याइएको थियो ।

‘मेरो एउटा सपना छ’:

‘मेरो एउटा सपना छ’ शीर्षकको भाषण मार्टिन लुथर किङले ऐतिहासिक वासिङ्टन पद र्यालीमा दिएको भाषणको सारांश हो । यसमा भविष्य लक्षित शान्ति र समानताको कुरा गरिएको छ । किङ भन्छन् , “यो देश ब्युँझने छ, उठ्ने छ, यसले विगतको विरासतभन्दा भिन्न भएर जीउने छ ‘यो सत्यलाई हामीले आत्मसात् गरौं कि मानिसहरु समानरुपमा सिर्जना गरिएका हुन् ।” ‘मेरो एउटा सपना छ’ भाषणमा मुख्यगरि तात्कालीन अमेरिकी रंगभेदी नीतिको विरोध गरिएको छ । तर यो निकै नै मर्मस्पर्शी र कलात्मक रुपमा व्यक्त गरिएको छ । तत्कालको समाजको चरित्र चित्रण गर्दा सामाजिक भड्कावहरु पैदा भएर हिंसात्मक हुने भय देखेर किङले सबै कुरा भविष्यका लागि र भावी सन्नतीका लागि समर्पण गरेको देखिन्छ ।

उनको आशय छ- कुनै दिन, भविष्यमा, अमेरिकाका काला र गोरो बच्चाहरु रेल र बसका सिटमा मिलेर सँगै बस्ने छन् । एउटै स्कूलमा पढ्न जाने छन् । एउटै क्यान्टिनमा खाना खाने छन् । एउटै खालका कपडा लगाउने छन् । उनीहरुकाबिचमा कुनै पनि राजनीतिक, सामाजिक, आर्थिक र साँस्कृतिक विभेद रहने छैन । सबै नागरिक राज्यका अगाडि समान रहने छन् ।