• मंसिर ११ २०८१, मंगलवार

मगरहरुले काठमाडौंमा मनाए माघे सकराती (फोटो फिचर)

माघ १ २०७७, बिहीबार

काठमाडौँ गोंगबुमा अवस्थित मगर उत्थान समाजले माघे सकराती पर्व मनाएको छ । समाजले एक कार्यक्रम गरि मगरहरुको राष्ट्रिय पर्वको रुपमा रहेको माघे सकराती पर्व हर्सोउल्लासका साथ मनाएको हो ।

माघे सकरातीको अवसरमा समाजद्वारा आयोजित शुभकामना आदान प्रदान कार्यक्रममा समाजका विभिन्न व्यक्तित्वहरुको उपस्थिति रहेको थियो । शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै वडाअध्यक्ष उत्तम अधिकारीले मगर जातिले देशको लागि महत्वपूर्ण योगदान गरेको स्मरण गरे । नेपालको पहिलो शहीद लखन थापा, मगर जातिकै भएबाट यो जातिले देशको परिवर्तनका खातिर गरेको योगदान स्पष्ट हुने उनको भनाई थियो ।

कार्यक्रममा बेपत्ता छानबिन आयोगकी सदस्य सरिता थापा मगरले देशमा जनसंख्याको तेस्रो स्थान ओगट्ने मगरजाति लोक संस्कृतिको समेत धनी भएको बताईन् । कार्यक्रममा शुभकामना दिँदै मिलिजुली मगर समाजका अध्यक्ष सिताराम थापामगरले मगरहरुको महान पर्व माघे सकराती आफ्नो पुर्खाले छोडेर गएको नासो भएको बताए ।

माघे सकराती पर्वको अवसरमा आयोजित सो कार्यक्रममा वरिष्ठ अधिवक्ता गौबहादुर आलेमगर, संस्थाका संस्थापक अध्यक्ष तथा वरिष्ठ सल्लाहकार हिरामाया थापामगर लगायतको उपस्थिति रहेको थियो । शुभकामना आदानप्रदान पश्चात मगर कलाकारहरुद्वारा विभिन्न गीतहरु प्रस्तुत गरिएको थियो भने सहभागीहरुले समेत नाचेर गाएर रमाइलो गरेका थिए ।

कार्यक्रम समाजका अध्यक्ष चन्द्रबहादुर थापामगरको अध्यक्षतामा र सह–सचिव बुद्धिमाया पुनमगरको संचालनमा सम्पन्न भएको थियो । कार्यक्रममा उपस्थितहरुलाई स्वागत मन्तव्यद्वारा संस्थाका उपाध्यक्ष तारादेवी थापामगरले स्वागत गरेकी थिइन् ।

माघे पर्वको अवसरमा मगर समुदाय तथा सो संस्थालाई योगदान पुर्याउने र सो संस्थाका नयाँ साथै आजीवन सदस्यहरुलाई सम्मान पत्रद्वारा सम्मान गरिएको थियो।

हेरौं फोटो फिचर-