विश्वको एक मात्र हिन्दू राष्ट्र नेपाल हो । यहाँ मौसमअनुकूल विभिन्न खालका चाड पर्वहरु पर्ने गर्छन् । मूलतः वर्ष भरीमा बाह्रवटा संक्रान्ति पर्ने हुन्छ । जसमा श्रावणे संक्रान्ति र माघे संक्रान्तिलाई विषेश रुपमा यहाँका विभिन्न जनजाति, भाषा भाषीहरुले मनाउँदै आएका छन् । तसर्थ संक्रान्ति सग्रांति दुवै शब्द नेपाली वाङमयका लय बनेका छन् । संस्कृतबाट चोखै सम्हाल्दा संक्रान्ति बन्ने शब्द नेपालीकरण हुनपुग्दा सग्रांति बन्न पुगेको छ । संक्रान्ति शब्दले परिवर्तनको पहलुवा भाव र कर्म बोध गराउँछ । मकर संक्रान्ति परिवर्तनकारी समय योग रहेको छ ।
अतः समय एक राशबाट अर्को राशमा प्रवेश गर्ने योग हो । दक्षिणायणमा रहेका सूर्य यो दिनदेखि उत्तरायणमा सर्दै आउँछ । बाह्र महिनामा हुने बाह्र राशिअनुसार यो माघ महिलामा मकर राशि पर्ने भएकाले माघे संक्रान्तिलाई मकर संक्रान्ति पनि भनिन्छ । यो दिनदेखि रात छोटो हुँदै जाने र दिन लामो हुँदै जान्छ भनिन्छ र यो प्राकृतिक नियम नै हो । यस दिनदेखि सूर्य मकर राशीमा प्रवेश गरी उत्तरायण हुने भएकाले मकर संक्रान्ति भनिने गरिन्छ । तथापि देवताहरुका लागि उत्तरायणी दिन र दक्षिणायणी रात हुने भएकाले सूर्य उत्तरायणी हुने समयमा मानिसहरुले मरण यसै समयमा हुने इच्छा गर्दछन् । स्वेच्छा मरणको वरदान पाएका गंगापुत्र भीष्म महाभारतको युद्धमा घाइते भई मुत्युको शैयामा रहँदा मरणको लागि सूर्य उत्तरायणीलाई पर्खेको महाभारतमा वर्णन छ ।
धन राशपछिको मकर राश भविष्य पुराणको बिष्णु वचनमा माघे संक्रान्तिका दिन स्नान गरेर घिउ, चाकु, तीलको लड्डु, तरुल, अन्न, सागपात, पानीको भाँडो र मकलसहितको सिदा दान गरेर आफूले पनि खाने गरेमा वर्षभरि शरीर पोसिलो भइरहन्छ भन्ने उल्लेख छ । यो पर्वमा घिउ चाकु खाने भएकाले नेपालभाषामा ध्यू चाकु संल्हुु भन्ने गरेका हुन् । उपत्यकाको नेवार समुदायमा भने ती खाद्य पदार्थहरूको साथै सम्येबजी (चिउरा), पोलेको मासु, साँधेको कालो भटमास, अदुवा, रक्सी वा जाँड र माछाको सिद्रा खाने गरिन्छ । गाउँघरमा भने घिउ, चाकु, अघिल्लो दिनमा उसिनेको तरुल, मासको फुलौराको साथै मास र चामल बराबर मिसाई घिउ हालेर पकाएको खिचडी खाने चलन छ । साथै एक प्रकारको पाटने पालुङ खाने चलन छ । यस पर्वमा तिलको अत्याधिक प्रयोग गरिने र दानसमेत गर्ने भएकाले यस पर्वलाई हामो संल्हु (तिल संक्रान्ति) पनि भनिन्छ ।
अतः कन्दमूलको सेवन मकर संक्रान्तिजन्य आहारको एक परिकार तरुल पनि हो । यो एक कन्दमूल हो । झन्डै आलु, पिँडालु र सखरखण्ड जस्तै जरासित विकसित हुने, बढ्ने खाद्य प्रदार्थ हो । सम्भवतः पुर्खाले जमिनमुनि खनेर पाइने यो जरोमुनि तरुल, मौसम परिवर्तन भनौं पृथ्वीको गतिमान अवस्थितिमा कोल्टिने अवस्थाजन्य परिवर्तन सुलभ, सुहाउँदो भोजन परिकार बनाएथे । सबै चाडपर्व यसरी नै मौसमी रहेका छन् । मकर संक्रान्ति यति पृथ्वीकै चाल र गतिमानकै मापन मुताविक मानिने संस्कार हो भने यो एक जाति, एक वर्ग र एकै राष्ट्रको मात्र सम्पदा रहन सक्दैन । यसरी यो मकर संक्रान्ति पृथ्वीको आधा गोलाइ पनि हो । यसरी मकर एक प्रकारका जलथलचर पनि हो । मकर गोही हो । जो पानी र जमिन दुवैमा विहार गर्छ । हुनसक्छ, शीतोष्ण तापक्रम उछिनेर न्यानो तापक्रमतिर उन्मुख हुने हेतु समेटेर गोहीको नाम मकर राखिन पुगेथे पूर्खाहरुले बताउँदै आएका पनि छन् ।
हाम्रो तराई भेकमा थारु समुदायमा यस पर्वलाई नयाँ वर्ष प्रारम्भको भएको दिनको रुपमा मनाइने गर्दछन् । यस दिनलाई उनीहरु कमैयाबाट मुक्त हुने स्वतन्त्र दिवशको रुपमा पनि मनाउने गर्दछन् । आदिवासी थारू समुदायले माघे सङ्क्रान्तिलाई नयाँ वर्ष (माघीका) नाममा मनाउँछन् भने मगरातका मगर समुदायले यस दिनमा आफ्ना पुर्खाको स्मरण गर्दै दाजुभाइ, दिदीबहिनीबीच भेटघाट, शुभकामना आदान–प्रदान, मिठामसिनो खानपानका साथ रमाइलो गर्ने पर्वका रूपमा विशेषगरी भित्री तराईमा बसोबास गर्दै आएका थारू समुदाय सञ्चालन गर्ने आफ्नै जातीय नियम रहेको छ । सो गण प्रथाअनुसार बडघर (गाउँका मूली), चिरकिया (गाउँका पुजारी), चौकीदार (गाउँका हुलाकी), गुरुवा (गाउँका संरक्षक) र गरधुरिया एक वर्षका लागि यसै दिनदेखि चुन्न थालिन्छ ।
यसको साथसाथै समुदायको प्रमुख चुन्ने परम्परालाई माघी दिवानी भनिन्छ भने नयाँ वर्ष माघीकै अवसरमा कमैया फुकाउने, हिसाब–किताब लेनदेन फछ्र्योट गरिने चलन रहेको छ । चार वर्ष अगाडि नेपाल सरकारले माघी नयाँ वर्षमा सरकारले एकदिने राष्ट्रिय बिदा घोषणा गरेको थियो भने यस समुदायले माघीको अवसरमा यस वर्ष माघ १ गते लाई सार्वजनिक बिदा पनि दिई सकेको छ । त्यसैगरी तराईमा बसोवास गर्ने अन्य समुदायमा तीलको लड्डुलगायतका परिकार खाँदै माघे सङ्क्रान्तिका दिनलाई तीलवा सङ्क्रान्ति भन्दै मनाइन्छ । तामाङ शेर्पा र गुरुङ समुदायमा नदी तलाउ वा डाँडामा अवस्थित देवीस्थलमा मेला भर्दै यस पर्व मनाइन्छ ।
समग्रमा भन्नुपर्दा मूलतः मुलुक संघिय राजधानी लगायत देशका विभिन्न स्थानहरुमा सबेरै उठेर नजिक तीर्थहरुमा स्नान गर्ने गर्दछन् भने काठमाडौं उपत्यमा भने श्रद्धालु भक्तजनहरु नजिकको टेकु दोभान, पशुपति आर्यघाट, शंखमूल आदि पबित्र नदीमा गई स्नान गरी देवी देवताको पूजा अर्चना गरी घिउ, चाकु, तरुल, सख्खरमा बनाइएको तिलको लड्डु खाने परम्परा रहेको छ । हाम्रो शरीरलाई निरोगी, स्फूर्तिलो बनाउनको लागि विभिन्न पौष्टिक खाद्य पदार्थहरुको आवश्यक पर्छ । खासगरीकन जाडोको समय भएकोले शरीरलाई चाहिने आवश्यक न्यानोपन र तागतको आपूर्ति गरेर शरीरलाई स्वस्थ बनाई राख्न मनाउँदै आएको यो माघे संक्रान्तिका दिन शरीरलाई अत्यन्तै फाइदा हुने मासुजन्य लगायत घिउ चाकु, तरुल, तिलको लड्डु, पालुंगोको साग, माछासहितको समय बजी खाएर चाड मान्ने पुर्खाहरुले बनाई राखेको यो चलन वैज्ञानिक रुपमा पनि उचित देखिन्छ ।
जाडोको समयमा शरीरलाई नभई नहुने न्यानोपन, तागत र शरीर बलिष्ठ बनाउन विभिन्न परिकार बनाएर खाने चलन हाम्रा पुर्खाहरुले चलाउँदै आएको यो चाड नेवार संस्कारसँगै सम्बन्धित भएकोले पनि यसको ठूलो महत्व रहेको हो । यसै दिनमा तपस्वी भगिरथले गंगामातालाई पृथ्वीमा अवतरण गराई सागर एवं समुन्द्रमा मिलाएको भन्ने कथनबाट पनि मकर स्नानलाई महास्नान पनि भन्ने गरिन्छ ।
ब्रह्ममुहूत्र्तकालमा गंगासागरमा एकपटक डुबुल्की मात्र लगाउनाले पनि सारा पाप पखालिनुकासाथै प्राणीमात्रको जीवनको प्रतीक एवं चन्द्रमा समेतलाई आफ्नो प्रकाशले आलोकित गर्ने सूर्यको उपासना, पूजा, प्रार्थना लगायत घ्यू, चाकू, तिल, तरुल, मास सहित सिधादान दिई धर्म आदि राम्रा कर्म र कर्तव्य गर्नेको फल पनि अति शुभ हुने भई जीवनमा सुख र समृद्धिको विकास हुने कथन रहेकोले पनि यस दिनभर मुलुकका विभिन्न तीर्थस्थलहरुमा स्नान गर्ने र बिष्णु एवं शिव मन्दिरहरुमा श्रद्धालु भक्तजनहरुको अत्यधिक भीड् लाग्ने गर्दछन् ।
उक्त पदार्थ आफूले पनि खाएमा शरीर पोषिलो हुनुका साथ साथै निरोगी होइने उल्लेख छ । शरीरलाई तातो बनाउने घ्यू, चाकु, तीलका परिकार खाँदै मनाइने माघे सङ्क्रान्ति नेपालका प्रायः सबै जातीय समुदायहरुले साझा पर्वका रूपमा मनाउँदै आएका छन् । साथै यिनीहरुले यी बस्तुहरु ब्राह्मणलाई दान दक्षिण गर्ने चलन रहेको छ । यस पर्वमा जीउभरि तेल घसेर दिनभरि घाम तापेर बस्ने पनि चलन रहेको छ ।