• मंसिर ११ २०८१, मंगलवार

माघमा तरुल खाने र तारो हान्ने खेल जनजाति जीवनसित जोडिएका संस्कृति हुन्ः बमकुमारी बुढामगर

पुष २८ २०७७, मंगलवार

रोल्पाकी बमकुमारी बुढामगर नेपाली समाजमा स्थापित नाम हो । जनजातिमा एक सशक्त महिलाका रुपमा उनको नाम अग्रपंक्तिमा आउँछ । युवावयमा समकालीन राजनीतिमा सशक्त नेतृत्व गर्दै आएकी बुढामगर जीवनको उत्तरार्धमा ज्ञानको खोजमा कर्मीमाहुरी झैं क्रियाशील र खोजी गरिएको ज्ञानको रानोमाहुरी झैं नेतृत्व गरिरहेकी छिन् । आफू र आफ्नो समुदायको पहिचानलाई सिंगो नेपालको पहिचानसँग जोड्न कहीँ र कतै पनि नचुक्ने उनी देशविदेशमा हुने अन्तरक्रिया र भेटघाटमा व्यस्त छिन् । उनलाई नेपालको ‘ओरल हिस्टोरियन’ (मौखिक इतिहासकार) भनेर देश विदेशमा स्वागत र सम्मान गरिँदै आएको छ । प्रस्तुत छ, गोलमिडिया संवाददाताले बुढामगरसँग माघे सकरातीको बारेमा लिएको अन्तर्वार्ताको सारसंक्षेप-सं)

माघे सकरातीबारे केही भनिदिनोस् न ?

माघे सकराती माघमा परेकाले पनि भनिएको हो । यसलाई माघ मात्र भन्ने चलन पनि छ । थारु समुदायका मानिसले यसलाई माघी भन्दछन् । हामी मगर समुदायले माघको दिन खाउँला, माघको दिन आउनु है भन्छौं । माघ महिना पनि भयो, चाड पनि ।

माघे सकराती जीवनपद्धतिसँग कसरी गाँसिएको छ ?

माघे सकरातीसँग मगर समुदायको धेरै पुरानो सम्बन्ध छ । यो आफैमा ऋतु परिवर्तन हो । यसलाई हामीले याम परिवर्तन भन्ने गर्दछौं । ६ महिना उभेली र ६ महिना उधेली हुने गर्दछ । उधेली भनेको साउनदेखि पुससम्म र उभेली भनेको माघदेखि असारसम्मको समय हो । ६-६ महिनामा याम परिवर्तन हुन्छ । उधेलीमा नाचगान हुन्छ । औपचारिक रुपमा नै नाचगान चल्छ यतिबेला । गाउँमा युवायुवती समूह बनाएर नाचगान गर्छन् । यो नाचगान पौष मसान्तभित्र औपचारिक रुपमा समापन गरिन्छ । नाचमा प्रयोग गरिएको बाजा, नचारुले प्रयोग गरेको बाजागाजा सबै सकरातीका दिन बन्द गरिन्छ । यो औपचारिक रुपमा नै सम्पन्न हुन्छ ।

 त्यसपछि बाजा नै बजाइँदैन त ?

यसपछिको अर्को याममा बाजा बजाउँदै नबजाउने त हुँदैन । शोक कार्यमा, कुनै जात्रामा बजाउन सकिन्छ । तर यसलाई औपचारिक मानिदैन । माघे सकरातीका दिन मूल मादललाई लुगाले बेह्रेर, केही पैसा राखेर, धजा र अक्षता चढाएर असारसम्मको ६ महिनाका लागि बन्द गरिन्छ । बाजा प्रायः सबै बन्द नै राखिन्छ । त्यसपछि तारा खेलको आरम्भ हुन्छ ।

ताराखेल कस्तो हुन्छ  ? के-के गरिन्छ यो खेलमा ?

नयाँ याम सुरु भएको माघे सकरातीकै दिन देखि सुरु हुन्छ । त्यो भनेको गर्मीयाम सुरु हुन्छ उभेलीमा । त्यतिबेला जनावर र चराचुरुंगी रुखको छहारीमा पानीको मूलमा आएका हुन्छन् । खोलाका किनारमा पनि आएका हुन्छन् । यी जनावरमाथि राम्रो निशान हान्नका लागि युवालाई सिकार विद्या सिकाउनका लागि यो तारा खेल आरम्भ गरिएको हुन्छ । तारा खेल सुरु गरिएको एकहप्तादेखि पन्ध्र दिनसम्म उनीहरुको दक्षता अभिवृद्धि गरिन्छ । त्यसपछि उनीहरुको क्षमता मापन हुन्छ । अनि युवाहरु समय, मौसम आदि हेरेर आ-आफ्नो सीप र इच्छाअनुसार सिकार खेल्न जान्छन् । यो काम गर्मी यामभरि चलिरहन्छ ।

अन्य कुनै पक्ष पनि जोडिएका छन् की ?

अर्को कुरा, यहि नै समयमा अघिल्लो याममा नाचगानमा भाग लिएका नचारु कलाकारको प्रतिकका रुपमा प्रत्येकको पुतली बनाएर जलाउने गरिन्छ । पुतली जलाएको भनिएको यो याम तथा याम अनुसारको कर्म समापन भएको संकेत हो । नाच समापन भएको पुस महिनाभित्र यी सबै काम गरिन्छ । माघे सकरातीमा बिहानै उठेर पधेरामा पुगेर नुहाइधुवाइ गरिन्छ । पँधेराको पुजा गरिन्छ । घरमा कन्या चेलीले धुरीखम्बा र चुल्होलाई पुजा गर्न चाहिने सामग्रीको जोहोमा लाग्छन् । गोबर टाँसेर, दहीचामलको टीका टाँसेर बारीमा छरिएको हरियो जौं बालीको बोट ल्याएर राखी पुजा गरिन्छ । पंधेराको पुजा नुहाउन जाने मानिसले गर्छन् भने घरभित्रको पुजा कन्याचेलीले गर्दछिन् ।

छिमेकीका घरमा कन्याचेली छैनन् भने नजिकका घरका कन्या चेली गएर पुजा गरिदिन्छन्, चुह्लो र धुरीखम्बाको ।

त्यसपछि दाजूभाईलाई सेतोटीका लगाइदिने गर्दछन् । दाजू, भाई, काका, बाबा, मामाले खिन्चरी र पछिन्धरा दिने गर्दछन् । पछिन्धरा वा अघिल्लो दिन उसिनेर राखेको तरुल, दाल, पिंडालु आदि विभिन्न कन्दमुलका परिकार र चामल अनि केही पैसासहित चेलीहरुलाई दिइन्छ ।

भनेपछि दाजुबहिनीको नाता सम्बन्धसँग पनि सम्बन्धित छ यो माघी पर्व ?

यो पर्व आफैमा दिदीबहिनी र दाजूभाईका बिचमा रहेको नाताको सम्बन्ध प्रगाढ बनाउने दिन पनि हो । विवाह भैसकेका दिदी बहिनीका लागि माघे सकरातीका दिन खिन्चरी सकभर उनीहरुकै घरमा पुर्याउने गरिन्छ । त्यसै दिन पुर्याउन सकिएन भने माघ महिनाभर पुर्याए पनि हुन्छ । तर यसमा एउटा मान्यता छ, खिन्चरी भनेर दिइएको सौगात माघ महिनाभित्रै चेलीले खाएर सिध्याउनु पर्छ । माघ महिनाभरि नै छोरीचेलीले आफ्नो नाममा आएको चामल खाएर सिध्याउनु पर्छ । फागुनमा वा त्यसपछिका महिनासम्म यो राख्न हुँदैन । त्यसो भएमा मोक्ष हुन्छ भनेर ठानिन्छ ।
गाउँघर र टोल छिमेकमा अरु मानिस पनि त्यहाँ रहेका विवाहित र अविवाहित सबै चेलीकहाँ भाग पुर्याउने गरिन्छ । खास गरी जौं बालीको महत्व हुन्छ । जौंको नै जमरा किन लगाइन्छ ? यसको बारेमा रुचीकर मान्यता छ ।

मगर जाति र जौंको जमराबिच सम्बन्ध कसरी जोडिन्छ ?

मगर जाति पूर्वीरुकुमको हुकाम मैकोटबाट फैलिएको मानिन्छ । हुकाम मैकोटमा योमाखार र पेल्माखार भन्ने ओढार छन् । पेल्मा भनेको जौं हो । जौंलाई ताम, चिका, पेल्मा भनिन्छ । पेल्माखार भन्ने ओढारमा जौंको खेती सुरु भएको मानिन्छ । त्यहाँ असोज कात्तिकमा बीउ परीक्षण गर्दा अँध्यारो कोठामा जौं छरेको र पहेंलो उम्रिएको देखेर जमराको सुरुआत भएको हामीले मान्छौं । पहिले पहिले पशुपालनबाट कृषि युगमा आउँदा भुटेर पनि छरेका थिए रे ! तर नउम्रिएपछि नभुटेर सुरक्षित तरिकाले बीउको ब्याड राखेका थिए रे । असोज कात्तिकमा छर्ने र हेर्ने अनि कस्तो निस्कियो भनेर परीक्षण सफल भएको ठानिएमा त्यही जातिको बीउ बाहिर छर्ने गरिएको पाइन्छ । जमिनमा छर्दा कात्तिकदेखि तुसारो र हिउँ आदिले पुरेर निस्कन सक्दैन । हुकाम मैकोट त बुकी फुल्ने अग्लोे ठाउँ हो । अगाडि छरिए पनि यो बीउ माघदेखि निस्कन थाल्छ । यो पाक्ने असार साउनतिर हो । ढिलो हुर्कने र पाक्ने भएकाले जौं कसरी निस्किइरहेको छ र हिउँ कसरी बिलिरहेको छ भनेर हेर्दै हरियो जौं देखिएको खुसियालीमा रमाउँदै जौंको फूल लगाउन सुरु गरेको हो । यसलाई जप्लेनी भनिन्छ । माघे सकरातीमा लगाउने जौंलाई घरभित्र छरिरहनु पर्दैन । बारीमा छरेको जौंलाई उखेलेर फूलकारुपमा लगाइन्छ । यस वर्ष भोकमरी नहुने भयो भनी प्रकृतिसँग खुशीयाली साटिन्छ ।

मगर जातिका मानिसले सेतोटीका लगाउने चलन कहिलेबाट सुरु भएको हो ?

सेतोटीका लगाएको चाँही हेर्दा अग्लो हिमालको चुचुरो र हिमाली मनमोहक श्रृंखला देखेर नै हो । आफू पनि हिमालजस्तै अग्लो र सेतो महशुस गर्दै सेतोटीका लगाएको हो । तिम्री जस्तै म पनि अग्लो र अटल छु, तिम्रो जस्तै म पनि श्रृंगार गर्छु भनेर त्यसो गरिएको हो । सेतोटीका लगाउने मान्यता यसरी बसेको हो ।

माघे सकराती र बिक्रम सम्बतको साइनो के छ ?

माघे सकराती मगर जातिले नेपालको बिक्रम सम्बत सुरु भएदेखि मानेको देखिन्छ । यही पात्रोको धारणाअनुसार माघे सकराती मान्न थालियो । पुष १५ मा गुरुङले ल्होसार मनाउँछन् । माघ १ गतेलाई थारुले पनि माघी भनेर मनाउँछन् । सगराती बिक्रम सम्बतको पात्रोबाट सुरु भएको हो । बिक्रम सम्बतभन्दा पहिले होली पूर्णिमा (फागुपुन्ही) लाई उभेली साउनको रक्षाबन्धन, जसलाई हामी ऋखिपुन्ही पनि भन्छौं, त्यसलाई उधेली भनिन्थ्यो । त्यो तिथिका आधारमा तय गरिएको थियो । बिक्रम सम्बतको पात्रो लागु भएपछि माघे सकराती र साउने सकरातीलाई मानियो । माघे सकराती ठूलो सकराती पनि हो । मान्न नपाएकाले वा रोकिएकाले भने फागुन १ गतेलाई सानो सकराती वा जाने माघका रुपमा मनाउने गर्दछन् ।

तरुल, पिंडालु साँझमा उसिन्ने र बिहान खाने कुनै परम्परागत मान्यतामा आधारित छ ?

त्यस्तो छैन । यो त बिहान पकाएर खाँदा ढिला हुने भएकाले साँझ नै तयार पारेको मात्र हो । कृषि युग धेरैपछि मात्र आयो । पहिले त वनका झारपात तथा कन्दमूल खाएर बाँचेको हो मानिस । कन्दमूल खाने त्यति बेलादेखिको सभ्यता नै हो । वनमा तरुल खनेर, खोलामा माछा मारेर खाने चलन पुरानै हो ।

 दिदीबहिनीबिचको भगिनी सम्बन्धको कुरा गर्नुभयो । यो त हिन्दुभन्दा पनि पुरानो पो देखिन्छ त ?

हिन्दु दर्शनमा नयाँ नयाँ कुरा प्रयोगमा आए । तर आदिवासी जनजातिका लागि ती प्रयोगमा आएनन् । परम्परा निकै पुरानो भए पनि कायम रहिरह्यो । यो प्रकृति पुजाबाट आएको हो । यो प्राकृतिक जीवनसँग सम्बन्धित छ । थारु, मगर, गुरुङ आदिले बिक्रम सम्बत मानेको देखिन्छ ।