दाङ । प्रदेश नं ५ का विभिन्न जिल्लामा ऐतिहासिक, पुरातात्विक र साँस्कृतिक पहिचानका संग्राहलयहरु छन् । इतिहास, पुरातत्व र विभिन्न जातिका संस्कृति भेषभुषाको संरक्षणकालागि बनाइएका संग्रहालयमा पनि सरकारले भेदभाव गर्ने गरेको छ । तिनका लागि सरकारले कतै प्रयाप्त मात्रामा बजेट दिएको छ भने कतै थोरैमात्रै दिएको छ ।
संग्रहालय स्थापना गर्दा केही आर्थिक सहयोग आएपनि संग्रहालयको प्रचारप्रसार गर्न नसक्दा आम्दानी नहुने र सरकारी निकायले पनि सहयोग नगर्दा प्रायः बन्द जस्तै छन् । आर्थिक अभावका कारण संग्रहालयलाई आकर्षणको केन्द्र बनाउन नसकिएका कारण पनि संग्रहालयमा पर्यटकहरु कमै मात्र जाने गर्दछन् ।
आर्थिक अभावका कारण घोराही उपमहानगरपालिका-१७ मा रहेको सहिद पार्क तथा साँस्कृतिक संग्रहालय ओझेलमा परेको छ । २०५६/०५७ सालतिर भरतमोहन अधिकारी अर्थमन्त्री हुँदा उद्घाटन भएपनि अहिलेसम्म पार्क निर्माणले पूर्णता पाउन सकेको छैन । अहिलेसम्म पार्कको नाममा रहेको करिव ३ तीन विगाह जमिनमा पर्खाल लगाउने र दाङका दिवंगत कम्युनिस्ट नेत्रलाल अभागीको शालिक निर्माण गर्ने काम मात्र भएको सहिद पार्क तथा साँस्कृतिक संग्रहालय निर्माण समितिका अध्यक्ष दीपक चौधरीले बताए ।
“मन्त्रीले उद्घाटन गरेपछि तत्कालिन जिल्ला विकास समितिबाट तीन लाख र घोराही नगरपालिकाबाट केही बजेट छुट्याएर पार्कको नाममा रहेको जग्गामा पर्खाल लगाउने काम गरेका हौं, त्यसपछि कतैबाट पार्क तथा साँस्कृतिक संग्रहालयको लागि बजेट परेको छैन अध्यक्ष चौधरीले भने । सरकारको लगानी नपाएका कारण संरचना बनाउन नसकिएको उनको भनाई छ ।
दाङकै दंगीशरण गाँउपालिका-३, चखौरामै थारू जातिको इतिहास र संस्कृति बचाउन संग्रहालय निर्माण भइरहेको छ । यसमा थारू संस्कृतिका अनेक रूपका चित्र, मूर्ति, नक्सा, पोसाक, गहना र परम्परागत सामग्री सजाएर राखेको देख्न सकिन्छ । थारू जातिका परम्परागत नाँच, चाडपर्व र सामाजिक जीवन झल्किने चित्र घरको भित्तामा सजिएका छन् । थारू गाउँको झल्को दिने परम्परागत घर, कोठा र देउता राख्ने ठाउँ पनि तयार गरिएको छ । थारू समुदायका पुराना गहना र कपडा पनि संकलन गरिएका छन् ।
थारू राजाले कसरी राज्य सञ्चालन गरेका थिए ? भन्ने झल्काउन मूर्ति र नक्सा समेत कोरिएको छ ।
चखौरामा रहेको संग्रहालयमा राना थारु, डगौरा थारु र दाङको देउखुरी, चितवन, कैलाली, कञ्चनपुर र मोरङ लगायतका धेरै ठाउँका थारूहरुको संस्कृति र इतिहास एकै ठाउँमा देख्न पाइन्छ । संग्रहालय सबलीकरणका लागि लुम्बिनी प्रदेशको सामाजिक विकास मन्त्रालयले ६५ लाख रुपैयाँ त्यहाँ खर्च गरेको छ । ५ बिघा क्षेत्रफल भएको जमिनमा थारु संग्रहालय सञ्चालनमा छ । यसमा अहिले जग्गा र अन्य संरचना सहित ५० करोड रुपैयाँभन्दा बढीको सम्पत्ति जोडिइसकेको संग्रहालय सञ्चालक समितिका संयोजक नरेन्द्र चौधरीले बताए ।
उता रोल्पा जिल्लाको सदरमुकाम लिबाङमा पनि चार वर्षअघि स्थापना गरिएको मगर संग्रहालय संरक्षणको अभावमा संकटमा परेको छ । देशकै सबैभन्दा बढी बाहुल्यता रहेको रोल्पाका मगर समुदायको परम्परागत भेषभुषा, संस्कृति र रहन सहनलाई झल्काउने सामग्रीहरू राखिएको संग्रहालय अहिले संरक्षणको अभावमा संकटमा परेको हो । चार वर्षअघि उच्च पहाडी गरिबी निवारण आयोजना (उपाप) को आर्थिक सहयोग र स्थानीय मगर बुद्धिजीवीको सक्रियतामा संग्रहालय खोलिएको हो ।
संग्रहालय स्थापनाका लागि सक्रिय बनेका व्यक्तिहरू अहिले आ-आफ्नै पेशा, व्यवसायमा व्यस्त भएपछि संग्रहालय महिनौंसम्म पनि बन्द हुने गरेको मगर संघ रोल्पाका अयक्ष कुमबहादुर पुनले बताए । रोल्पा नगरपालिकाले थोरै बजेट दिएपछि गत आर्थिक वर्षको कोठा भाडा बुझाएता पनि यो वर्ष भने संग्राहलयले कहाँबाट लिएर घर भाडा बुझाउने भन्ने अझै अन्यौलमा रहेको छ । लोप हुन लागेको मगर संस्कृति, भेषभुषा र परम्परागत जीवनशैलीलाई भावी पुस्तासम्म बचाइराख्ने उद्देश्यले स्थापना गरिएको संग्रहालय अहिले अधिकांश समय बन्द रहेको हुन्छ ।
मगर समुदायको बसोबास रहेको रोल्पामा यस्ता जीवन्त संस्कृति झल्काउने सामाग्रीलाई प्रचार प्रसारसँगै संरक्षणको खाँचो रहेको छ । आर्थिक अभावका कारण संकटमा परेको मगर संग्रहालय व्यवस्थित गर्न स्थानीय सरकारसँग अनुरोध गरिएको मगर संघ रोल्पाका अध्यक्ष कुमबहादुर पुन बताउँछन् । अहिले संग्रहालयमा परम्परागत भेषभुषा, बाजा गाजा, भाँडाकुडा गरी १ सय ११ थरिका बस्तुहरू छन् ।
“आर्थिक रुपले कतैबाट सहयोग पाएमा व्यवस्थित गर्ने सोचमा छौं, बेलैमा संरक्षण गर्न सकिएन भने परम्परागत संस्कृति कस्तो थियो भनेर भावी पुस्तालाई देखाउन सकिने अवस्था समेत छैन” पुनले भने । नेपालकै एकमात्र पुरातात्विक संग्रहालय “कपिलबस्तु संग्रहालय” को उचित व्यवस्थापन, प्रचारप्रसार र संरक्षणमा सरोकारवालाको ध्यान नपुग्दा ओझेलमा परेको छ । संग्राहलय स्थापना भएको ५ दशक हुँदा समेत सम्बन्धित निकायले संग्रहालयको व्यवस्थापनका साथै र प्रचारप्रसार गर्न नसक्दा ओझलमा परेको हो ।
७ बिगाहा क्षेत्रफलमा फैलिएको संग्रहालयमा ईसापूर्व आठौं, छैठौं शताब्दीको मौर्यकालीन, तेस्रो शताब्दीको सुङ्घकालीन, र कुसाङकालीन समयका माटाका भाँडा, चाँदीका सिक्का लगायतका विभिन्न पुरातात्विक महत्व झल्कीने महत्वपूर्ण सामाग्रीहरु छन् । भगवान गौतम बुद्धले २९ वर्ष बिताएको तिलौराकोटमै रहेको यस संग्राहलयको स्थापना भएको लामो समय भएपनि संग्रहालयका बारेमा आन्तरिक तथा बाह्य पर्यटकलाई जानकारी नहुँदा कपिलबस्तु संग्रहालय नेपालको एकमात्र पुरातात्विक संग्राहलय भएपनि आझेलमा पर्दै आएको हो ।
प्राचिन कपिलवस्तुस्थित बुद्धको क्रिडास्थलका रुपमा मानिएको तिलौराकोटमा वर्षेनि ३५ हजार बढी पर्यटकले भ्रमण गर्ने गरेपनि छेउमै रहेको कपिलवस्तु संग्रहालयमा भने त्यसको १५ प्रतिशतले मात्र अवलोकन गर्ने गरेका छन् । तिलौराकोटमा आएका पर्यटक मध्ये कमले मात्र यस संग्रहालयको अवलोकन गर्ने गरेका छन् । संरक्षणको अभावमा भगवान गौतम बुद्ध र उनका पिता राजा शुद्धोधनसँग सम्बन्धित प्राचीन बस्तु राखेका दराज, जापानी प्राध्यापक नाकामुराले तिलौराकोटमा सन् १९६७ देखि ७७ सम्म उत्खननगरी पाइएका बस्तुहरु राखिएका काठको बाकस धमिराले खान थालेको छ ।
अधिकांश विदेशी पर्यटकहरु भारतहुँदै रुपन्देहीको बेलहिया नाकाबाट लुम्बिनीहुँदै सिधा तिलौराकोट आउने गरेकोले त्यसको प्रत्यक्ष असर संग्रहालयलाई परेको संग्रहालयका सूचना अधिकृत शंकर धितालले बताए । वि सं १९८० मा राणाप्रताप शमशेरले निर्माण गरेको पाल्पा दरबार २०६२ माघ १८ गते तत्कालीन माओवादी जनयुद्धको क्रममा जलेर ध्वस्त भएको थियो । २०७२ सालमा पाल्पा दरबार पुनःनिर्माण सकिएपछि संग्रहालयका रूपमा परिणत गरिएको हो ।
२०६२ सालअघि प्रशासनिक भवनका रूपमा रहँदै आएको पाल्पा दरबार पुनः निर्माण भएपछि दरबारमा रहेको कार्यालय अन्यत्र सारिएको थियो । पाल्पा दरबार संग्रहालयलाई लुम्बिनी प्रदेशका सम्पूर्ण सरसामान, कला संस्कृति भेषभुषा, जातजाति, पहिचान, भूगोल सबै किसिमका बस्तुहरू राखिने दरबार संग्रहालयका संरक्षक तानसेन नगरपालिकाका प्रमुख अशोककुमार शाहीले जानकारी दिए ।
लम्बिनी प्रदेशको विविधता पाल्पा संग्रहालयबाट देखाउनेगरि प्रदेश सरकारले योजना सारेको छ । पाल्पा दरबार संग्रहालयमा ६४ कोठा, २ बुर्जा रहेका छन् । संग्रहालयले हाल देस्रोतला मात्र प्रयोगमा ल्याएको छ भने अन्य २ वटा तला प्रयोगमा आउन सकेको छैन । तानसेन नगरपालिकाले निर्माण गरेको पाल्पा दरबार संग्राहलयको गुरुयोजना अनुसार दरबार परिसरमा रहेका कार्यालय अन्य स्थानमा सार्ने पुरानो संरचना अनुसार खुला संग्रहालय, स्वप्न बगंचा निर्माण, शान्त वातावरण, मनोरम दृश्य सहितको १९८० (निर्माण गरिएको समय) को स्वरूपमा फर्काउने रहेको छ ।
प्रदेश सरकारको मातहतमा आएर संग्रहालयको प्रवेशलाई व्यवस्थित गर्न टिकटको व्यवस्था र अन्य समसामयिक सुधार हुन थालेपछि पाल्पा दरबारप्रति आकर्षण बढ्न थालेको छ । प्रदेश सरकारको सामाजिक विकास मन्त्रालय अन्र्तगत रहेको पाल्पा दरबार संग्रहालय तानसेन नगरपालिकाको संरक्षणमा रहने गरी प्रदेश स्तरीय संग्रहालयका रूपमा सञ्चालनमा आएको यस संग्रहालयमा हाल मगरी, नेवारी तथा नेपाल अंग्रेज युद्धमा नेपाली सेनासँग सम्बन्धित विभिन्न पुराना सामग्री र ऐतिहासिक जानकारी रहेका छन् ।
प्रदेश मातहतमा आउनुभन्दा अघिसम्म दरबार संग्रहालय हेर्न कुनै शुल्क लिइएको थिएन । तर अहिले अवलोकनकालागि शुल्क निर्धारण गरिएको छ । प्रदेश स्तरीय संग्रहालय बनेपछि आम्दानी पनि बढाउने र आर्कषण थप्नका लागि समेत मद्धत पुग्ने स्थानीय शैलेन्द्र भट्टराईले बताए । ठाकुरबाबा नगरपालिका–९ मा रहेको थारु साँस्कृतिक संग्रहालय पनि अहिले जेनतेन चलिरहेको छ । २०५६ सालमा स्थापना भएको संग्रहालयलाई अहिले बर्दिया राष्ट्रिय निकुञ्जले संरक्षण गरिरहेको छ ।
संग्रहालयमा थारु संस्कृतिसँग सम्वन्धित गहना, पोशाक, भाँडाकुँडा, बाजागाजा, थारुहरुले प्रयोग गरेका तेल पेल्ने कोल, लडिया, कुवा राखिएको छ । बर्दिया राष्ट्रिय निकुञ्ज र राष्ट्रिय प्रकृति संरक्षणकोषले संग्रहालयको संरक्षण गरिरहेको छ । संग्रहालय अवलोकनका लागि पर्यटकहरु भने नियमित आउने गरेको टिकट बिक्रिगर्ने आनुराम चौधरीले जानकारी दिए । चौधरीका अनुसार गतवर्ष ४७ हजार ६ सय ७ जना पर्यटकले अनुगमन गरेका थिए भने ६ सय २९ जना विदेशी पर्यटक पनि अवलोकनका लागि आएका थिए ।
संग्रहालय र राष्ट्रिय निकुञ्ज अवलोकनका भनेर ५० रुपैयाँ टिकट शुल्क लाग्ने गरेको छ । सरकारी लगानी नपरेको संग्रहालयलाई निकुञ्जले मर्मतकालागि काठ उपलब्ध गराउने गरेको छ । सरकारी लगानी भएमा संग्रहालयलाई विस्तार गर्ने योजना रहेको चौधरी बताउँछन् । उता पूर्विरुकुममा युद्ध पर्यटन संग्रहालय स्थापना गर्न सरकारले चासो देखाएपनि अहिलेसम्म काम भने सुरु भएको छैन ।
यसरी विविध संस्कृति र परम्पराको खानी रहेको नेपालमा जताततै संग्रहालय नै संग्रहालय छन् । तीनको संरक्षण विकासका लागि तिनै तहका सरकारले चासोका साथ लगानीगरि व्यवस्थित गर्दै लैजान सकेमा आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्न सकिन्छ छ ।