• बैशाख ६ २०८२, शनिबार

नेपाल र नेपालीकै अहितमा त हुँदै छैन नेपालमा राजनीतिक ध्रुवीकरण ?

पुष २५ २०७७, शनिबार

सत्ताधारी पार्टी नेकपामा आएको विभाजनले क्रमशः ध्रुवीकरणको बाटो समातिरहेको छ । ओली खेमा र प्रचण्ड–माधव खेमामा भएको विभाजन अब खेमाबन्दीमा मात्र सिमित छैन । यो ‘यो’ वा ‘त्यो‘ रुपमा दुई शक्ति र ध्रुवमा विभक्त हुन गैरहेको छ । यसले पार्टीका सीमा र सामान्य सामाजिक आचारसंहिता समेत नाङ्गो रुपमा पार गरिसकेको छ ।

एकले अर्कालाई हदैसम्म खुइलाएर, गालीगलौजको स्तरमा झरेर नाङ्गेझार पार्ने प्रक्रिया रोकिएको छैन । संसद विघटनसँगै ‘नयाँ जनादेशका लागि चुनाव’ वा ‘संसद पुनस्र्थापना’को कुरा अदालतमा विचाराधीन छ । तर यसको कुनै मतलव नै छैन, चिरा परेका सत्ताधारी दुई खेमालाई ! यी एक आपसमा कसरी बलियो देखिने ध्याउन्नमा लागि परेका छन् ।

प्रायः हरेक दिनमा यी दुई खेमाका एकले अर्कालाई खुइल्याउने कार्यक्रम देशभित्र कतै न कतै आयोजना गरिरहेका छन् । नेपाली जनतालाई भान हुन थालेको छ, देश अब अस्थिरता र विभाजनको भुंग्रोमा जाँदै छ । तर राजनीतिक पकड जमाउन र एकले अर्कालाई ‘देखाइदिन’ अहोरात्र लागि परेका नेताहरु देश र नेपाली समाजमा विभाजनको रेखा कसका हितका लागि कोर्दै छन्, यसको जवाफ भने छैन ।

एकले अर्कालाई अमुक विदेशी शक्तिको दलाल भएको आरोप सार्वजनिक रुपमै लगाइरहेका छन् । यसबाट स्पष्ट हुन्छ, नेपाली राजनीति अब विदेशी शक्ति केन्द्रहरुको स्वार्थमा ध्रुवीकरण हुन गैरहेको छ । नेपाल विदेशी शक्तिको फौजी रणनीतिक क्रिडास्थल बन्दैछ । कोही पनि तयार छैनन् कि यसो हुन नदिऔं । बरु तयार देखिन्छन् कि बलियो शक्ति केन्द्रको दलाल मै होऔं ।

प्रतिपक्षी दल नेपाली कांग्रेस पनि सडकमा छ । यो धार नै नभएको तरवार लिएर सडकमा निस्किएको छ । संसद बिघटनविरुद्ध नारा लगाउने तर संसद पुनस्र्थापनाको नारा नलगाउने । आश्चर्य छ, नाटककार शेक्सपियरको ‘द मर्चेन्ट अफ भेनिस’मा भने झैं मानिसको शरीरबाट एक पौण्ड मासु पनि काट्ने तर एक थोपा रगत नचुहाउने । अथवा, अकवर–वीरबलको हास्य कथामा वर्णित निर्णय झैं ‘राजाको गद्दीमा दिसा त गर्न पाउने तर एक थोपा पनि पिसाब चुहाए, काटिदिने’ । यस्तो अप्ठेरो निर्णय किन ?

यो असहजताका पछाडिको कारण पनि त्यही हो, जो स्पष्ट छ, कांग्रेस पनि दुई धारमा विभाजित छ । यो ढिलो वा चाँडो विभक्त भै ध्रवीकरणको प्रक्रियामा सामेल हुने देखिन्छ । तर यो ध्रुवीकरण विदेशी शक्ति केन्द्रको स्वार्थअनुसार हुनेमा नेताहरु आफै बोलिरहेका छन् । साधरण आँखाले हेर्दा पनि केपी ओली खेमा, शेरबहादुर देउवा खेमादेखि सीके राउतसम्मको एउटा ध्रुवीकरण र अर्कोतिर प्रचण्ड–माधव खेमा, नेकाको कोइराला खेमा र जसपाको उपेन्द्र–बाबुराम खेमासम्म अर्को ध्रुवीकरणको लहर देखिएको छ ।

यो ध्रुवीकरणले कांग्रेस, कम्युनिष्ट वा अन्य पार्टी निर्माणमा होइन, कुन शक्ति केन्द्रको नजिक बन्ने स्पष्ट खेमाबन्दीमा नेपाल र नेपाली समाजलाई बेसुरमा अगाडि डोर्याइरहेको देखिन्छ । अर्कोतिर नेपालमा ध्रुवीकरणको लफडा उचालिदै जाँदा नेपाली नेताहरुको दिल्ली दौडाह बाक्लिन थालेको छ । यो अवश्यै पनि चितुवा कराउनु र बाख्रो हराउनुको संयोग मात्र होइन ।