• मंसिर ११ २०८१, मंगलवार

नेपाली नेताको बाक्लिँदो भारत भ्रमण

पुष २३ २०७७, बिहीबार

समाचार टिप्पणी । देशभित्र संकट निम्तिइरहेका बेला कामचलाउ हैसियतमा रहेका सरकारका परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली सन्निकट भारत भ्रमणको तयारीमा छन् । स्रोतका अनुसार उनको उक्त भ्रमण निकै छोटो र तिब्र हुने बताइएको छ । संभवतः माघे संक्रान्तिसँगै यो भ्रमण सुरु हुने गरी तय भएको देखिन्छ ।

नेपाल-भारत दुवै देशका परराष्ट्रमन्त्रीको संयुक्त अध्यक्षतामा हुने नेपाल-भारत संयुक्त आयोगको बैठकमा भाग लिन यो अवसर जुराइएको छ । तथापि मन्त्री ज्ञवालीले राजनीतिक भेटघाट गर्ने कुरालाई पनि समेटिएको छ ।

हुँदै गरेको यो भेटघाटको पुष्टि भारतका लागि नेपाली राजदूत निलाम्बर आचार्यले पनि गरिसकेका छन् । यो आयोगको बैठकमा दुई देशका बीचमा भएका द्विपक्षीय सहमति, परियोजना र कतिपय विवादित समस्याको समाधानका लागि छलफल हुने गरेको छ ।
अहिले देशमा कालापानी, लिम्पियाधुरा, लिपुलेक लगायतका नेपाली भूमि फिर्ताका कुरा बाँकी छन् ।

पूर्वदेखि पश्चिमसम्म सीमा विवादका कुरा हल भैसकेका छैनन् । प्रवुद्ध समूह (ईपीजी) ले बुझाएको प्रतिवेदनका बारेमा पनि दुई पक्षीय छलफल भएको छैन । महाकालीमा भारतले एकतर्फी बाँध उठाएको छ ।

यसका साथै देशमा संकट कायमै छ । ताजा जनादेशका लागि भनेर प्रमद्वारा संसद विघटन गरिएको अवस्था छ । संसद पुनःस्थापनाका लागि सडक संघर्ष चलिरहेको छ । देशकै आन्तरिक मामला तरल रहेको अवस्थामा यो भ्रमण भैरहेको छ । अर्कोतिर नेकपाका अध्यक्ष प्रचण्ड परिवारको उपचारका क्रममा भारतै रहेको अवस्था छ ।

आन्तरिक संकटका बेला नेपालमा पटकपटक विदेशीको चलखेल र क्रियाशीलतामा बढ्दै जाने भएकाले जनतामा केही आशंका अवश्यै उठेका छन् । यसका बारेमा नेताहरु समयमै सतर्क रहन जरुरी छ । साथै, जनतालाई भए गरेका कामहरुको बेलैमा सूचित गरी भ्रम निवारण गर्न पनि उत्तिकै आवश्यकता रहेको छ ।