• मंसिर ११ २०८१, मंगलवार

आर्सनल विरुद्धको खेल रक्सीको झोंकमा खेलेको थिएँः बेलायती खेलाडी रियो

पुष २१ २०७७, मंगलवार

बेलायती पूर्व खेलाडी रियो फर्डिनान्डले युवा अवस्थामा आर्सनल विरुद्ध वेस्ट ह्यामको खेल आफू रक्सीले मातेर खेलेको खुलासा गरेका छन् । उनले सन् १९९६-९७ सिजनमा वेस्ट ह्यामको टोलीमा रहँदा उक्त घटना भएको जानकारी दिए । उनका अनुसार उनी त्यतिबेला १७ वर्षका थिए र आर्सनल जाने टोलीमा समावेश भए पनि त्यो दिन खेल्ने टोलीमा थिएनन् । त्यसैले उनी नजिकैको बारमा गएर रक्सी पिउन थाले । तर, पाउलो फुट्रेले खेल्न नमानेपछि सबै कुरा बदलिएको थियो ।

पाउलो एसी मिलानबाट वेस्ट ह्याममा आबद्ध भएका थिए र उनले १० नम्बर जर्सी पाउने अपेक्षा गरेका थिए । तर, उनलाई अर्कै जर्सी नम्बर दिए पछि उनले खेल सुरु हुनभन्दा अघि मैदान छाडेका थिए । यसको कारण फर्डिनान्ड टोलीमा समावेश हुन पुगे ।

‘म वेस्ट ह्याममा थिएँ तर त्यतिबेला त्यो दिन खेल्नेमा नपरेको कारण म नजिकैको बारमा गएँ र तीनवटा ब्रान्डी र कोक पिएँ,’ फर्डिनान्ड मो जिलियन पोडकास्टसँग कुराकानी गर्दै भने, ‘पछि किट म्यान आएर मलाई तयार हुन भने, त्यतिबेला पनि मेरो हातमा ब्रान्डी र कोक नै थियो ।’

‘म त्यसपछि मैदानमा पुगे र मलाई नखेलाइयोस् भनेर प्रार्थना गरेँ । तर, अन्तिम १५ मिनेट खेल्न मैदानमा प्रवेश गर्न पर्यो,’ उनले भने । त्यतिबेला वेस्ट ह्याम २-० गोलले पछि परिसकेको थियो ।