• मंसिर १७ २०८१, सोमबार

झण्डै रंगे हात पक्राउ परिएन

पुष १८ २०७७, शनिबार

रातभरि मलाई निद्रा लागेको थिएन । मनमा अनेकौं किसिमका कुराहरु खेलिरहेका थिए । सुरुङ खन्न थालेको पनि तीन महिना पुगेर चार लागिसकेछ । बितेका दिनहरुमा अनेकौं जटिलता आइपरे पनि कामलाई अघि बढाउन सफल भएका थियौं । पहिलो पर्खालको जग तोडिइसकेको हुनाले हामी बाहिर निस्कने दिन नजिकिँदै थियो । अब थप दुईवटा पर्खालका जग छिचोल्न बाँकी थिए ।

उता जेल सुधारका लागि संघर्षका कार्यक्रमहरु पनि तेज गतिमा चलिरहेको थियो । त्यसले पनि अनेकौं घुम्ती र मोडहरु पार गरिरहेको थियो । बन्दीहरुको हक र अधिकारका निम्ति चलेको जेल संघर्ष र त्यसको सफलताले जेलका बन्दीहरु सबै एकजुट भैरहेका थिए ।
विभिन्न बुझाई र चेतना भएका मानिसहरु पनि क्रमशः एउटै सूत्रमा उनिदै थिए । गोरखाको जेल बन्दी एकताको प्रतीक बनेको थियो । त्यही एकताले गर्दा जेल प्रशासन हरेक मागहरुमा झुक्न बाध्य भैरहेको थियो ।

मनमा कुरा खेलाउँदा खेलाउँदै बिहानको पाँच बजेछ । बहिनीहरुलाई उठाए । पंक्तिबद्ध भएर अन्तर्राष्ट्रिय गीत गायौं । बाहिर निस्कनका लागि ढोका खुल्ने प्रतीक्षामा ढोका नजिकै उभिइरह्यौं । ठीक छ बजे ढोका ख्ुल्यो । ड्युटी पोष्टमा कोही पनि थिएनन् । कमला, सञ्जु र म सरासर गएर आफ्नो कार्यक्रममा लाग्यौं । जाँदै गर्दा कमला खाल्डोभित्र पसिहाल्नु भयो । सञ्जु र म यताउता हेर्दै बस्यौं । पोष्टमा अझैसम्म कोही पनि देखिएको थिएन । म फर्किएर अगाडि आएँ ।

‘ब्रदर’ ड्युटीमा बसेका रहेछन् । उनले पोष्टबाटै सोधे– ‘उमा दिदी ! कमला र सञ्जु कहाँ जानु भयो ?’ उनको सोधाइमा शंकाको भाव थिएन, बरु सधैंको झैं सहजता र व्यवहारिकता थियो । ‘कमलाको पेट दुखेर आराम गरिरहनु भएको छ, सञ्जु भने भित्र बसेर पढिरहनु भएको छ, हामी चौरमा घुम्न निस्केको’, मैले पनि सहजतामा जवाफ दिए ।
‘तपाईंहरु धेरै पढ्नु हुन्छ, होइन ?’, उनले फेरि सोधे । ‘धेरै त पढ्दैनौं, पढ्यौं भने पनि विश्वका गरीब जनताका दुःख, सुख, र आन्दोलनका विषयमा पढ्छौं’, मैले भने । जेहोस् ऊ राजनीतिप्रति जिज्ञासु बन्दै थियो ।

केही क्षण छलफल भयो । उनको ड्युटी बदलियो । म पछाडितिर बहिनीहरु छेउँ पुगे । समय धेरै भैसकेको थियो । यताउता हेरेर सञ्जुले क्यारिम बोर्ड हटाइदिनु भयो । कमला फुत्त बाहिर निस्कनु भयो । सञ्जु क्यारिमबोर्ड पुनः राखेर त्यसको माथि रहेको माटो सम्याउँदै हुनुहुन्थ्यो । अकस्मात् मेरो आँखा दुवै भित्ताजोडिएको पर्खालमाथि बढ्दै गरेको आकृतिमा ठोक्कियो । त्यहाँ त असई उभिएर हामीतिरै हेरिरहेका थिए । म झसंग भए । कमला आफ्नो धूलैधूलो भएको कपडा बदल्ने तरखरमा हुनुहुन्थ्यो । कमला र सञ्जु हत्तपत्त थुचुक्क बस्नु भयो । आकस्मिक रुपमा उत्पन्न भएको स्थितिलाई सजतामा ल्याउन प्रयास गर्नुभयो ।

उहाँहरुले स्थितिलाई सहज बनाउन बसेर तरकारीको झारपात उखेल्न थाल्नु भयो । उहाँहरुको अनुहार गम्भीरताले रातो भएको थियो ।
उतिखेर मिना र रिता नजिकै चौरमा आउनु भएकाले हामीलाई ठूलो राहत महसुस भयो । असईले हाम्रो काम देखिहाले कि भनी उनको प्रतिक्रिया वा व्यवहार बुझ्न हामी सास रोकेर पर्खियौं । मिना र रिता हाँसो गर्दै हुनु हुन्थ्यो । ‘असई साप ! बिहानै के गर्दै हुनुहुन्छ, अनुगमन गर्न हिंड्दै हुनुहुन्छ कि क्या हो ? तपाईं केही समयका लागि यता झर्नु भएको हो कि सधैंका लागि यहाँ सरुवा हुनु भएको हो ?’
रिताले उनको ध्यान आफूतिर तान्नु भयो । उनी देख्दै डरलाग्दो र निकै चतुरो देखिन्थे । उनले दोस्रो प्रश्नको मात्र उत्तर दिए– ‘एक हप्ताका लागि मात्र हो ।’

त्यसपछि मिना थपिनु भयो– ‘तपाईं त कर्तव्यप्रति खुबै वफादार हुनु हुन्छ जस्तो छ । बिहानबिहानै यताउता डुल्दै हिंडिरहनु भएको छ ।’ खुबै रबाफिलो स्वरमा उनले जवाफ दिए– ‘जागीर खाएपछि आफ्नो कर्तव्य पनि पूरा गर्नुपर्छ, तबमात्र देशको रक्षा गर्न सकिएला ।’
उनले आफ्नो तथाकथित देशभक्ति छाँटे । मंगोलियन अनुहारका ती असइ पहिलेका असइभन्दा हामीप्रति कडाइ गर्ने दुस्प्रयास गर्दै थिए । तैपनि बहिनीहरुले कुरामा भुलाएर हामीतिर आउन दिनु भएन ।

सञ्जु तरकारीबारीमा पानी हाल्न थाल्नु भयो । धेरैबेर पछि असइ फर्किए । यतिबेलासम्म सबैको अनुहार कालोनिलो भएको थियो । गोडा थरथर काँप्दै थिए । एकक्षणसम्म कसैको वाक्य फुटेको थिएन । आधा मिनेट मात्र अघि आएको भए ? हाम्रा सारा योजनाहरु भताभुंग हुने थिए । बाहिर जाने सपनाहरु तासका महल झैं हावामा उड्ने थिए । जे होस्, हामी तुरन्तैको चलाकीका कारण उनले शंका पाउन सकेनन् ।
झण्डैझण्डै हामी रंगेहात पक्राउ परेकामा थियौं । कैयौं यस्ता घटनाहरुले हामीलाई अझ सचेत र चलाक बनाइदिएको थियो ।

(गोरखा जेलब्रेकपछि जेल ब्रेककी कमाण्डर उमा भुजेलद्वारा लिखित ‘बन्द पर्खालदेखि खुला आकाशसम्म’ कृतिबाट)