• मंसिर १७ २०८१, सोमबार

प्राकृतिक चिडिया घर जिम्बाब्वेः कस्ता–कस्ता जनावर पाइन्छन् ?

पुष १६ २०७७, बिहीबार

अफ्रिका महादेशमा पर्ने देश जिम्बाब्वेलाई प्राकृतिक चिडिया घर भनिन्छ । संसारमा पाइने र कतिपय त संसारबाटै लोपहुँदै गइरहेका वनस्पति तथा जीवजन्तु यो देशको मनोरम घाँसे मैदानमा पाइन्छन् ।
हाल संरक्षणको कोटीमा रहेको उक्त प्राकृतिक घाँसे मैदानको ठूलो भाग जिम्बाब्वेमा पर्दछ । थोरै भाग मात्र अन्य छिमेकी देशमा पर्दछ । त्यसो त प्रकृतिप्रदत्त स्रोतसाधन र जीव तथा वनस्पतिका हिसाबले जिम्बाब्वे विश्वको पहिलो श्रेणीको देशमा आउँछ ।

विश्व मानचित्रमा सिंगो अफ्रिकालाई प्राकृतिक चिडिया घर भनिन्छ । धेरै देशहरुका बीचमा राजनीतिक सीमारेखा रहे पनि यी जनावर र वनस्पतिका लागि ती सीमारेखा मान्य छैनन् । जनावरहरु धेरै देशमा मनपरि विचरण गर्दछन् ।

भौगोलिक हिसाबले जिम्बाब्वे एक भूपरिवेष्ठित देश हो । यस देशको लगभग बीच भागमा पर्ने जिम्बावेयी नदीका कारणले यो आफैमा भूपरिवेष्ठित हुँदाहुँदै पनि प्राकृतिक विविधताको स्वर्ग बन्न पुगेको छ । भिक्टोरिया झरना यसको श्रेष्ठ लौकिक वरदान हो ।

पानीको पर्याप्तताका कारण यहाँ विविध प्रकार र प्रजातिका जन्तुजनावर तथा रुखविरुवा पाइन्छन् । प्राकृतिक दृश्यावलोकनका हिसावले जिम्बाब्वे संसारकै पहिलो दर्जाको पर्यटकीय देश हो । यहाँ संसारकै अतुलनीय तथा चित्ताकर्षक दृश्यहरु रहेका छन् ।

अलौकिक सिर्जनामा विश्वास गर्नेहरुले यसलाई भगवानले सिर्जना गरेको ठान्छन् । यहाँका जनता प्रकृतिका यी अनुपम उपहारको पूजाआराधना गर्दछन् । हर कोहीका लागि यो लौकिक स्वर्ग हो ।
यहाँका स्थानीय मानिसहरु प्रकृति तथा वातावरण मैत्री रहेकाले यसको प्राकृतिक जगेर्ना संभव भएको हो । स्थानीय सबै प्राकृतिक सौन्दर्य र सन्तुलनका लागि प्रतिबद्ध छन् । युरोप र अमेरिकी पर्यटकहरुका लागि जिम्बाब्वे जीवनमा एक पटक पुग्नै पर्ने पर्यटकीय थलो हो । यो उनीहरुका लागि पृथ्वीमा रहेको स्वर्ग हो ।

देशको नामाकरण गरिएको जिम्बाब्वे शब्दावलीले यो बहुमूल्य पत्थरको घर भन्ने अर्थ दिन्छ । यहाँ बहुमूल्य खानीहरु पनि उत्तिकै पाइन्छन् । एक जमानामा बेलायती उपनिवेशअन्तर्गत रहेको यो आज एक स्वतन्त्र राष्ट्रका रुपमा विश्व मानचित्रमा अंकित छ । जिम्बाब्वेमा जनावर प्रजातिमा ब्वाँसो, चितुवा, सिंह, हात्ती, गैंडा, अर्ना तथा जरायो तथा मृगका दर्जनौं प्रजाति पाइन्छन् । जिराफ लगायतका अति सुन्दर तथा लोपोन्मुख जनावरहरु पनि यहाँ पाइन्छन् ।

यहाँको असीम आनन्द भनेको भिक्टोरिया झरनाको दृश्य हो । यो यति धेरै मनमोहक छ । पर्यटक तथा खोजकर्ता र अन्वेषक महिनौं दिनसम्म यसका विविध पक्षहरु हेर्दै र अवलोकन गर्दै गर्दा समय बितेको थाहै पाउँदैनन् ।  प्राकृतिक सौन्दर्यको धेरै भाग त ह्वांगे राष्ट्रिय निकुञ्जभित्र समेटिएको छ । यो निकुञ्ज निकै खुल्ला र आवागमनका लागि सहज पनि छ । खुला र समथर घाँसे मैदान पर्यटकका लागि निकै सुरक्षित रहेका छन् ।

पर्यटक स्वयम् आफ्ना साधन वा यातायातका बाहन लिएर निकै नजिक गई जनावर तथा वनस्पतिको अध्ययन तथा अवलोक गर्न पाउँछन् । त्यसैले पनि यो विश्वको पहिलो रोजाइको गन्तव्य बन्न गएको छ ।
जिम्बाब्वे घना जंगलले भरिएको छ । पानीको स्रोत प्रशस्तै छ । यिनै जंगल र पानीको स्रोतका कारण जन्तुजनावरको विविधता संभव हुन गएको छ । यहाँको विविधता अन्यत्र कहीँ पनि तुलनायोग्य छैनन् । यहाँ १०७ प्रजातिका जनावर र ४०० प्रजातिका चराहरु पाइन्छन् । यी सबै जनावर र चराहरु प्रायः बुलावायो र भिक्टोरिया झरनाको बीचमा रहेको अति सुन्दर जंगलमा पाइन्छन् ।

जिम्बाब्वे अफ्रिकाको सबैभन्दा बढी साक्षरता दर भएको देश हो । तर यहाँको मानिसको आयु निकै कम रहेको छ । यहाँको जनसंख्याको आधाभन्दा बढी मानिस २१ वर्षमुनि रहेका छन् । भनिन्छ– महिला तथा पुरुषको सरदर आयु ४० देखि ४५ वर्षसम्मको मात्र रहने गरेको छ ।

जिम्बाब्वे प्रकतिले मात्र सुन्दर बनाएको छैन । बरु यहाँका जनताले पनि यसलाई थप सुन्दर बनाएका छन् । सुन्दरतामा थप भएको स्थानीय जनताको योगदान भनेको संसारको सबैभन्दा ठूलो पानीको ताल हो । यति ठूलो ताल बनाएर यहाँका जनताले प्रकृति, वनस्पती तथा जन्तुजनावरप्रति असीम माया र श्रद्धा प्रकट गरेका छन् ।