खस जाति नेपालको एक प्राचिन जाति हो । सिन्धुनदीले बनाएको सिन्धु उपत्यकाको वरपर स्थापित सभ्यता कांस्य युग (ईशापूर्व ३,३०० देखि १३,००० मानिन्छ । यो सभ्यताको उन्नत अवधि हरप्पाको युग हो । हालको उत्तरपूर्वी पाकिस्तानको पञ्जावमा हरप्पाको सभ्यता देखिएको हो ।
त्यहाँ आर्यजातिको बसोबास देखिनु पहिले नै खसहरु नेपाललगायत हिमवत क्षेत्रमा अस्तित्वमा रहेका थिए । रामायण महाभारत कालदेखि प्रसिद्ध तथा सातौं र आठौं शताब्दीदेखि पश्चिम नेपालको विस्तृत पहाडी प्रदेशमा शासन गर्दै आएको वीरता र सभ्यताका निम्ति परिचित जाति खस हो ।
आज मंसिरे पूर्णिमा यसलाई धान्य पूर्णिमा पनि भन्ने चलन छ भने आजकै दिन सुदुर पश्चिमतिर पुषे पन्ध्र मनाउने चलन रहेको छ । हामी खस महाजाति भित्रका विभिन्न प्रजाति र थरहरुले कतै गोठको धुप त कतै मष्टा पूजा (दिवाली) गर्ने प्राचिन परम्परा रही आएको छ । दिवाली र गोठको धुप मष्टा धर्मको मुख्य पूजा हो । यस मंसिरे पूर्णिमालाई खसहरुले उधौली पर्वको रुपमा परापूर्व कालदेखि मनाउँदै आएका छन् ।
आजकै दिन प्रथम खस सम्राट नागराज जबेश्वोर जाडो छल्न जुम्ला दरबारबाट दुल्लु दरबार झर्ने प्रचलन समेत रहेको थियो । मष्टा धर्मलाई कसैकसैले बोन धर्म पनि भनेका छन् । मष्टा धर्म पश्चिम नेपालको खस साम्राज्य स्थापना हुनुभन्दा धेरै अघिदेखि अस्तित्वमा रहेको देखिन्छ । मष्टालाई निराकार देवताकारुपमा पुज्ने गरिन्छ । खस जातिका मुख्य देवता मष्टा देवता हुन् । जसलाई कुलदेवता पनि भनिन्छ । मष्टका मुख्य १२ नाम र सयौं उपनाम रहेका छन् ।
ती १२ नाम हुन्, १. ढडार मष्टो, २.खापर (खप्तड) मष्टो ३. तेडी मष्टो ४. कवा मष्टो ५. कलासिला मष्टो ६. रुमाल मष्टो ७. बुडू मष्टो ८. थार्प मष्टो ९. गुरो मष्टो १०. दाह्रे मष्टो ११. दुधे मष्टो १२. बाबिरो मष्टो ।
मष्टा पूजाको बखत ती नौ देवीको पनि पूजा गर्ने चलन छ । तिनको नाम यस प्रकार छ (विन्ध्यवासिनी, कालिका मालिका, जलपा, मण्डाल्नी, ठिन्गेल्नी, चुगेल्नी, पुगेल्नी, खेसमालिनी, दुगेल्नी, कन्कसुन्दारी, त्रिपुरासुन्दरी आदि हुन् । मष्टा देवताको दुईरुप मानिन्छ । रक्तबलि चढ्ने र रक्तबलि नचढ्ने । बलिको अर्थ खाद्य वा खाना हो । मनुष्य जातिले दिएको खाएर सन्तुष्ट हुने देवातालाई बलि दिनु पर्ने मान्यता अनुसार मष्टलाई पनि बलि दिने गरिन्छ ।
रक्तबलि चढ्ने मष्टलाई सेतो वा कालो बोकाको बलि चढ्छ भने रक्तबलि नचढ्ने मष्टालाई दुधको खिर पकाएर चढाउने गरिन्छ । मष्टा पूजामा दुई धामी हुन्छन् । मामा र भानिज । मामाले बोकाको भोक खान्छन् भने भानिजले भेडाको भोक खाने गर्छन । मष्ट पूजा र गोठ धुप खसहरुको महत्वपूर्ण साँस्कृतिक धरोहर मानिन्छन् । यी दुवै पर्र्वमा खसहरुलाई ब्राम्हण पुरोहितको आवश्यकता पर्दैन ।
यो उधौली पर्व खस र किराँत जातिको आफ्नो मौलिक पर्व हो । प्रकृति पूजक किरातँहरु पहिलो पाकेको अन्नबाली आफनो पुर्खा, ईष्ट देवता प्रकृतिलाई चढाएर मात्रै खाने गर्दछन् । त्यसैले अहिले पूर्वका किराँत बस्तीका किराँतीहरु आ–आफनो मौलिक परम्परा अनुसार उधौली पर्व मनाइरहेका छन् । मंसिरे पूर्णिमाका दिन पूर्वमा बसोबास गर्ने चार किराँतहरु राई, लिम्बू, याक्खा र सुनुवारले न्वागी पूजा गर्दै उधौली पर्व मनाउने गर्दछन् ।
मंसिरे पूर्णिमालाई सरकारले किराँत चाड भन्दै सार्वजनिक विदा दिएपछि यो उधौली पर्वले थप महत्व पाउँदै आएको छ । पूर्वमा विषेश गरी किराँत र लिम्बूहरुले मंसिरे पूर्णिमालाई चासोक तङ्नाम भनेर धुमधामका साथ मनाउँदै आएका छन् । आजको दिन नेपाल र भारतका विभिन्न ठाउँमा छरिएर रहेका खसहरुले कहीँ मष्ट पूजा गरेर त कहीँ गोठको धुप गरेर उधौली पर्व सम्पन्न गर्दैछन् ।
खस नश्ल भित्रको ठकुरी, झर्रा क्षेत्री, खत्री क्षेत्री, केही पश्चिमा कुमाई बाहुन र खस शिल्पी (दलित)हरुले यो उधौली पर्व मनाउने चलन छ । जस्तैः आज भोजपुरका पुवार खड्का, गुल्मीका खबतरी बस्नेत, भक्तपुर जौखेलका थापा, भक्तपुर ताथलीका बुढाथोकी, नैकाप काठमाडौँका सुतार र मुडुला कार्की, सल्यानथान र झुल्पोखरीका दाहाल र रुपाखेती, ललितपुर लुबूका बोहरा र महतारा, कोटेश्वर काठमाडौँका बोहरा, अर्घाखाँची सन्धिखर्कका पौडेल र भक्तपुर गुन्डुका खुलाल बस्नेतहरुले देवाली र गोठ धुप गर्दै हुनुहुन्छ ।
त्यसैगरि भोजपुर देउराली दाङ्गसिङ्ग जोरका लामिछाने थापाहरुले गोठको धुप गरेर आफ्नो मौलिक मष्टा धर्मलाई निरन्तरता दिँदै हुनुहुन्छ भने दार्जीलिङका खसहरुले मष्टा पूजा गरेर उधौली मनाउँदै हुनुहुन्छ । सय भन्दा बढी प्रजाति र हजार भन्दा बढी थर भएका खसहरुले क्षेत्रपालको रुपमा आफ्ना कुल देवताको पूजा गरेर शक्ति प्राप्त गर्ने विश्वास गरिन्छ ।
हाल: बेलायत