मार्ग शुक्ल पूर्णिमाको दिनमा अन्नलाई पूजा आराधना गरेर पर्व मान्ने हुँदा यसलाई ‘धान्य पूर्णिमा’ भनिएको हो । मानिसलाई जीवन दिने अन्नबालीलाई देवताको रुपमा सम्मान गर्नु पर्छ भन्ने मान्यता सिकाएको यो पर्वलाई नेपाली समाजले ‘धान्य पूर्णिमा’को नामले वर्षै पिच्छे मनाउने गरेको पाइन्छ । यसलाई नेपाल भाषामा ‘यःमरी पुन्ही’ वा ‘थिंल्ला पुन्ही’ पनि भनिन्छ । नेवार जाति भूमिपुत्र पनि भएको कारणले त्यसबाट उत्पन्न हुने अन्नबाली धानलाई विशेष महत्व दिई पूजा गर्ने गरेको भनेर पनि बुझ्न सकिन्छ ।
असारमा रोपेको धान (टाईचिन) मंसिर महिनामा मात्र पाक्ने भएकोले धान्य पूर्णिमाको समयमा मात्र आफ्नो ढुकुटीमा राख्ने गरिन्छ । त्यसैले चामलको पिठोबाट अन्नपूर्णदेवीको प्रतिमा बनाई यःमरी सहित धानको भकारीमा राखी पूजागरी धान्य पूर्णिमा पर्व मनाउने गर्न थालियो । धानको भकारी भनेको अन्नपूर्णदेवी हो । यिनै देवीको पूजा गर्नाले वर्षभरि अन्नको दुःख हुँदैन भन्ने मान्यता रहेको छ ।
नेवारी संस्कृतिमा अन्नबालीलाई देवता मानेर पूजा गर्ने चलन रहेको छ । एक किम्बदन्ती अनुसार परापूर्वकालमा मार्ग शुक्ल पूर्णिमाको दिनमा धनको देवता कुवेर पाञ्चाल देशमा मगन्तेको रुप लिएर माग्न गएको थिए । शुचन्द्र वैश्यको घरमा पुग्दा उनकी श्रीमतीले नयाँ लुगा लगाउन दिएको कारण कुवेरले यसै दिनमा आफ्नो सक्कली रुपको दर्शन दिएका थिए । त्यसैबेला एउटा बिमिरो हातमा दिई ‘चामलको पिठो भित्र चाकु, तिल राखेर यःमरी बनाई ढुकुटीमा राखी छोड्नु, चार दिन पछि निकाली हेर्नु’ भनी कुवेर अन्तध्र्यान भए ।
उनले भने झैं चार दिन पछि निकालेर हेर्दा त्यो बिमिरो सुन भएको थियो । त्यसैले यसै दिनमा यःमरी पकाई पर्व मान्ने भएको हुनाले यसलाई यःमरी पुन्ही भन्ने चलन रही आएको कथन छ । यःमरी, ल्होंचामरी तथा गणेश, कुवेर, लक्ष्मी, अन्नपूर्ण आदि देवदेवीको मूर्ति बनाई चामल, धान समेत ढुकुटीमा राखी पूजा गरी यो चाड मान्ने विधि रहेको छ । यस दिन दान गर्नाले धन सम्पत्ति बढ्ने संस्कृतिविदहरूको मान्यता रहेको छ । नेवार जाति बाहेक अन्य जातजाति यःमरी खाएर यो चाड मान्ने चलन छैन ।
अर्को किम्बदन्ती अनुसार यःमरीको कथा मत्स्येन्द्रनाथसँग पनि जोडिएको छ । काठमाण्डौं उपत्यकामा धेरै समयसम्म पानी नपरेको अवस्थामा काठमाण्डौंका बन्धुदत्त आचार्य, पाटनका ललित ज्यापु र भक्तपुरका नरेन्द्रदेव राजा मिलेर मत्स्येन्द्रनाथलाई नेपाल भित्र्याएको दिन घनघोर वर्षा भएको र त्यहीबेला फलेको अन्नबाट यःमरी बनाई मत्स्येन्द्रनाथलाई चढाएको भन्ने गरिन्छ । रथलाई लगनखेलबाट जावलाखेल तान्ने क्रममा इटिटोलमा रथ रोकी मत्स्येन्द्रनाथको माथि रहेको गजूरबाट यःमरी खसाली अभिषेक गर्ने चलन रहिआएको छ ।
‘यःमरी’ नेवारी शब्द हो । यसको शाब्दिक अर्थ ‘मनपर्ने रोटी’ भन्ने हुन्छ । चामलको पीठोलाई आवश्यकता अनुसार पानी हाली मुछेर एकातिर चुच्चो पारी अर्कोतिरबाट औंलाले प्वाल पारी चाकु, तिल, मास हाली यःमरी बनाउने गरिन्छ । त्यसरी बनाएको यःमरी पिंधमा प्वाल परेको माटोको भाँडोमा राखी पानीको बाफबाट सेकेर पकाउने गरिन्छ । यसै दिनमा बनाएको यःमरी अन्य परिकारको साथमा आफ्ना सबै परिवारजन मिली बसी खाने गरिन्छ ।
पछि आफ्नो नातेदार, इष्टमित्रलाई पाहुनाको रुपमा बोलाई खुवाउने यो चाडको मुख्य विशेषता हो । बदलिँदो समयसँगै यो चाडमा अहिले खुवा, मासु आदि राखेर आफूलाई मनपर्ने तरिकाले यःमरी बनाई खाने गरेको पाइन्छ । अहिले नेवारी परिकार पाइने खाजा पसल, रेष्टुरेण्ट आदि ठाउँमा पनि सधैजसो यःमरी पाइने गरेको छ । धान्य पूर्णिमा जाडो महिनामा पर्ने र चाकु मिश्रित यःमरी खाँदा जाडो सहन सक्ने उर्जा प्राप्त हुन्छ । यो शरिरको लागि पोषिलो खानेकुरा मान्दै आएको छ । अरू जातजातिको लागि यो परिकार बनाउने तरिका र स्वाद अनौठो लाग्न सक्छ ।
हेमन्त ऋतुको पहिलो पूर्णिमा अर्थात् यःमरी पुन्ही (धान्य पूर्णिमा)को एउटा अनौठो साँस्कृतिक पक्ष पनि रहिआएको छ । बिहानको पूजाआजा सकेपछि बेलुका नेवारी समुदायका बालबालिकाहरू टोलटोलमा जम्मा भई हरेक मानिसको घर घरमा गई ‘यःमरी च्वाम्हू उके दुन्हे हाकु, ब्यूम्ह ल्यासे, मब्यूम्ह बुरिचा’ (यःमरी चुच्चो, त्यसको भित्र कालो, दिने तरुनी, नदिने बूढी) भन्दै गीत गाएर यःमरी माग्ने गरिन्छ । त्यसरी नै ‘त्यः छिं त्यः बकछिं त्यः, लाता पाता कुलेचां जुसें त्यः’ भन्दै घर भित्रिएको नयाँ धान पनि माग्ने गरिन्छ ।
नेवारी समाजमा बेलुकी बालबालिकाहरू टोलटोलमा भेला भई यःमरी मागिखाने परम्पराले गर्दा यो पर्वको रौनक छुट्टै रहिआएको छ । अहिले यसरी गीत गाएर यःमरी माग्ने चलन भने विस्तारै हराउँदै गएको छ ।
यःमरीलाई मानिसको जीवनसँग पनि जोड्ने गरेको पाइन्छ । अग्नि, जल, वायु, आकाश र पृथ्वीलाई पञ्चतत्वको रुपमा लिइन्छ । यःमरीमा पनि पञ्चतत्वको विद्यमानता रहेको हुन्छ । पृथ्वीको रुपमा यःमरीको चामलको पिठो, अग्निको रुपमा चाकु, जलको रुपमा पिठोमा हाल्ने पानी, आकाशको रुपमा भित्रको खाली ठाउँ र वायुको रुपमा तिललाई लिइएको पाइन्छ । त्यसैले मानिसको जीवनमा दिन र रात भए झैं यःमरीको बाहिरी सेतो भागले उज्यालो दिनको संकेत गर्छ भने भित्रको कालो भागले अँध्यारो रातको संकेत गर्छ ।
मानिसको विभिन्न उत्सव तथा पर्वमा यःमरीको प्रयोग हुने गरेको छ । नेवारी समुदायको प्रत्येक घर परिवारमा आफ्ना सन्तानको जन्मदिनको उत्सव मनाउँदा यःमरी पकाउने गरिन्छ । परिवारमा बालबालिका २ वर्षको हुँदा मनाउने जन्मदिनमा २ वटा यःमरी र ४ वर्षको हुँदा मनाउने जन्मदिनमा ४ वटा यःमरीको माला बनाई लगाई दिने चलन छ । बालबालिकाको सु–स्वास्थ्य र दिर्घायुको कामना गर्दै यःमरीको माला लगाई दिने चलन चलेको हो । त्यस्तै ज्येष्ठ नागरिकको जंकु (रथारोहण)को समयमा घरमा यःमरी पकाउने चलन पनि नेवारी समुदायमा रहेको छ ।
जंकु गर्दा पूजामा यःमरीको प्रयोग गरिन्छ । सुत्केरी महिलालाई दहि, चिउरा खुवाउन जाँदा पनि माइती पक्षले यःमरी पकाई लिएर जाने चलन अझै पनि नेवारी समुदायमा कायमै छ । यसरी विभिन्न अवसरमा यःमरी पकाउने चलन नेवारी समुदायमा रहिआएकोले धान्य पूर्णिमालाई साँस्कृतिक पर्वको रुपमा पनि लिइन्छ । विभिन्न समुदायले मार्ग शुक्ल पूर्णिमाको दिनमा यःमरी पुन्हि अर्थात् धान्य पूर्णिमा तथा उधौली पर्व एकसाथ मनाउने गरिन्छ । यसै पूर्णिमाको दिन बिहान चापागाउँ र छम्पी सिमाना रहेको प्रभावती (नख्खु) खोलामा गणेशको खट राखी पूजाआजा गरी मेला लाग्ने गर्छ ।
त्यस ठाउँ वरपरका बासिन्दाहरू खोलामा स्नान गरी गणेशको खटलाई नदीबाट बोकेर बिहानै चापागाउँमा जात्रा गर्ने र यःमरी सहितको विभिन्न परिकार गणेशलाई चढाउने गरिन्छ । अहिले यो जात्रा हराइसकेको छ । यसै दिन नुवाकोटको दुप्चेश्वर महादेव मन्दिरमा पनि भव्य मेला लाग्ने गर्छ । केही समयदेखि नेवारी समुदायमा आदिवासी ज्यापु जातिले यःमरी पुन्हीको दिनलाई ज्यापु दिवसको रुपमा पनि मनाउदै आइरहेका छन् ।
समाजमा सबैजना मिलीजुली बस्नु पर्छ भन्ने सामाजिक मान्यता यो पर्वले सिकाएको छ । यस दिन विभिन्न नेवार समुदायले आफ्नो परम्परा अनुसार यो पर्व मनाउने हुँदा यो मौलिक पर्व पनि हो । यस पर्वको मौलिकतालाई बचाई राख्न सकेको खण्डमा जातिय पहिचान सदा बनिरहन्छ ।
(लेखकः अधिवक्ता हुन् ।)