काठमाडौँ l भारतमा दिवाली (दीपावली) तथा लक्ष्मीपूजाका दिन आइतबार राति खुसियाली मनाउने क्रममा पटाका र अन्य कारण आगलागी हुँदा एकै परिवारका ६ सदस्यसहित २२ जनाको मृत्यु भएको छ छ। साथै घटनामा धेरै जना घाइते भएका छन् भने केही बेपत्ता भएका छन्।
भारतीय अनलाइन दैनिक भास्करका अनुसार सबैभन्दा बढी मध्य प्रदेशमा दुई छुट्टाछुट्टै घरमा आगलागी हुँदा १२ जनाको मृत्यु भएको छ।
यस्तै महाराष्ट्रको धाराशिव जिल्लामा आगलागीबाट किराना पसलमाथिको घरमा बस्ने एकै परिवारका ६ जनाको मृत्यु भएको छ।
यस्तै मुम्बईको लोखन्डवाला जिल्लामा भएको आगलागीमा एक जनाको मृत्यु भएको छ।
यसैगरी राजस्थानको पालीमा पटाका पसलमा आगलागी हुँदा दुई जनाको मृत्यु भएको छ भने तीन जना बेपत्ता छन्।
आगलागीमा परी तीन पसल र धेरैवटा दुईपाङ्ग्रे सवारीसाधन जलेर नष्ट भएका छन्। दिल्लीको नरेलामा रकेट पटाका पड्किएर पेटमा लाग्दा १० वर्षीय बालकको मृत्यु भएको छ।