• कार्तिक ६ २०८३, बिहीबार

एमालेकी वरिष्ठ नेता विद्या भण्डारी आज चीन जाँदै

कार्तिक ६ २०८३, बिहीबार

काठमाडौं l पूर्वराष्ट्रपति एवं नेकपा एमालेकी वरिष्ठ नेता विद्यादेवी भण्डारी आज चीन जाने भएकी छन्।

भण्डारीको स्वकीय सचिव राजकुमार राईका अनुसार उनी चीनमा आयोजित कार्यक्रममा विशिष्ट अतिथिका रूपमा सहभागी हुन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आज १२:३० बजे चाइना साउदर्न एयरलाइन्सबाट गोन्जाओ प्रस्थान गर्न लागेकी हुन्।

भण्डारीले अक्टोबर २३ देखि २५ सम्म चीनको हेबेई प्रान्तस्थित सियोङआनमा आयोजना हुने ग्लोबल गभर्नेन्स फोरमलाई सम्बोधन गर्ने कार्यक्रम छ।

भण्डारीको साथमा डा. कैलाश कुमार भण्डारी र सोम राई जाँदैछन्। एमालेको वरिष्ठ नेता बनेपछि उनको यो पहिलो विदेश भ्रमण हो।

चाइनिज पिपल्स इन्स्टिच्युट अफ फरेन अफेयर्स (सीपीआईएफए) ले आयोजना गर्ने फोरममा विश्वका विभिन्न देशका राजनीतिक नेता, कूटनीतिज्ञ, व्यवसायी तथा सञ्चारमाध्यमका प्रतिनिधिहरू सहभागी हुनेछन्।

फोरममा बदलिँदो विश्व व्यवस्थाका बीच अन्तर्राष्ट्रिय सहकार्य, विश्वव्यापी शासन प्रणालीमा सुधार, साइबर क्षेत्र तथा अन्तरिक्षको शासनसँग सम्बन्धित चुनौती र एआईको सुरक्षित प्रयोगलगायत विषयमा छलफल हुने कार्यक्रम छ।