विराटनगर। दशैंमा रातो टीका र अक्षता लगाउने परम्परा विशेष महत्त्वको मानिन्छ। टीका निधारमा राम्रोसँग टाँसियोस्, रङ आकर्षक देखियोस् र लगाउँदा नबगोस् भन्ने चाहना धेरैको हुन्छ। त्यसका लागि टीका तयार गर्दा केही कुरामा ध्यान दिन आवश्यक छ।
टीका तयार गर्दा के–के मिसाउने?
टीका तयार गर्न रातो अबिर वा टीका पाउडर, अक्षता र आवश्यकताअनुसार थोरै पानी वा दही प्रयोग गर्न सकिन्छ।
टीका बनाउने तरिका
सबैभन्दा पहिले सफा भाँडामा रातो टीका पाउडर राख्नुहोस्। त्यसमा थोरै पानी वा दही मिसाएर बाक्लो लेदो बनाउनुहोस्। त्यसपछि अक्षता मिसाएर बिस्तारै चलाउनुहोस्। टीका धेरै पातलो भए निधारमा बग्न सक्छ, त्यसैले पानीको मात्रा मिलाउनु महत्त्वपूर्ण हुन्छ। टीका टास्नलाई चिनीको प्रयोग भने नगर्नुहोस् । यसले टीका अख्रक्क बनाउच र धेरै मात्रा भए च्याप च्याप पनि हुने सम्भावना हुन्छ ।
निधारमा टीका टिकाइराख्न उपयोगी टिप्स:
टीका लगाउनुअघि निधार सफा र सुक्खा राख्नुहोस्।
टीकामा धेरै पानी नमिसाउनुहोस्।
निधारमा टीका लगाएपछि केही समय नपुछ्नुहोस्।
धेरै तेल वा घिउ नमिसाउनुहोस्, किनकि यसले टीका दलिन सक्छ।