काठमाडौँ । हनुमानढोका दरबार क्षेत्रभित्र रहेको तलेजु भवानीको मन्दिर आज बिहान ५ बजेदेखि सर्वसाधारणका लागि खुला गरिएको छ ।
महानवमीका अवसरमा वर्षमा एक दिन मात्र खुल्ने यस मन्दिरमा भक्तजनले बेलुकी ६ बजेसम्म पूजा, आराधना तथा दर्शन गर्न पाउनेछन् ।
हनुमानढोका दरबार हेरचाह अड्डाका अनुसार प्रत्येक वर्ष आश्विन शुक्ल नवमी अर्थात् महानवमीका दिन तलेजु भवानीको मन्दिर सर्वसाधारणका लागि खुला गर्ने परम्परा छ । यस दिन मन्दिरमा दर्शन गर्न हजारौँ भक्तजन पुग्ने गर्छन् ।
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले दिएको साइतअनुसार गत शनिबार बिहान तुलजा भवानीलाई हनुमानढोका दरबार क्षेत्रको मूलचोकमा यात्रा गराइएको थियो । त्यसपछि निर्धारित साइतमा स्थिरासन गराई पूजा आराधना सुरु गरिएको थियो ।
महाअष्टमीका अवसरमा सोमबार राति मूलचोकमा कालरात्रि पूजा गरिएको छ ।
विजयादशमीसम्म तुलजा भवानीलाई मूलचोकमै राखेर पूजा आराधना गरिनेछ । बुधबार विजयादशमीका दिन निर्धारित साइतअनुसार बिहान १०:५१ बजे यात्रा गराइने र ११:५२ बजे मूल मन्दिरमा स्थिरासन गराइने कार्यक्रम रहेको छ ।