• कार्तिक ४ २०८३, मंगलवार

विश्व राजनीतिमा उदाउँदै ग्लोबल साउथ

कार्तिक ३ २०८३, सोमबार

पहिले पहिले ग्लोबल साउथको नाम नै सुनिदैनथ्यो । अचम्मैको कुरा, ग्लोबल साउथको अवधारणा नै पछि बन्यो । नाम पनि पछि दिइयो । यो नाम भूराजनीतिक हो । भूराजनीति भनेको विश्वमा कसले अधिपत्य कायम गर्ने र एकाधिकार जमाउने भन्ने वैश्विक राजनीतिको खिचातानीको राजनीति हो ।

विश्वका शक्तिशाली राष्ट्रहरूले आआफ्‌नो स्वार्थ अनुसार विश्वको विभाजन गर्छन् । तिनका विभिन्न नाम राखिदिन्छन् । नेपालमा हिन्दु संस्कार अनुसार नवजात शिशुको नाम बाहुन बाजेले राखिदिए जसरी अमेरिकी ध्रुवले विश्वका देशहरूको नामाकरण गरिदिन्छ ।

ग्लोबल साउथ पनि अमेरिकी ध्रुवले राखिदिएको नाम हो । ग्लोबल साउथमा अफ्रिका, ल्याटिन अमेरिका, क्यारिबियन, र नेपालसहित एसियाका विकासोन्मुख, अल्पविकसित र उदीयमान अर्थतन्त्रहरू भएका देशहरू पर्दछन् ।

यस समूहमा साझा भूराजनीतिक, आर्थिक र ऐतिहासिक पृष्ठभूमि भएका र विशेष गरी पश्चिमा देशहरूको उपनिवेश भोगेका देश पर्दछन् । तर पृथ्वीको भूमध्य रेखालाई आधार मान्ने हो भने ग्लोबल साउथ भनिने देश सबै उत्तरी ध्रुवमा पर्दछन् ।

अमेरिका, युरोप, जापान र अस्ट्रेलियाले आफ्‌नो समूहलाई ग्लोबल नर्थ भन्छन् । उनीहरूले आफूलाई सुसभ्य, सुसंस्कृत र अति विकसित मान्छन् । तर विश्वमा दादागिरी देखाउँदै आएका यी देशको हालीमुहाली अहिले भने निकै खुम्चन थालिसकेको छ । ग्लोबल साउथमा रहेको चीनले अहिले विश्वमा अग्रता लिइरहेको छ ।

विश्व भूराजनीतिमा ग्लोबल साउथको महत्व यस कारणले पनि तीव्र रूपमा बढिरहेको छ । यहाँ विश्वको झन्डै ८०% भन्दा बढी जनसंख्या रहेको छ । ग्लोबल साउथ विश्वको सबैभन्दा ठूलो बजार र श्रमशक्तिको स्रोत बन्नपुगेको छ ।

चीनसहित भारत, ब्राजिल, र इन्डोनेसिया, दक्षिण अफ्रिका आदि देशहरू द्रुत गतिमा आर्थिक विकास गरिरहेका छन् । विश्व आर्थिक वृद्धिको केन्द्र ग्लोबल साउथ बन्दैछ ।

यसमाथि यहाँ रहेका ऊर्जा र खनिजको भण्डार र हरित ऊर्जा थाह छ । आधुनिक प्रविधिका लागि अत्यावश्यक मानिने लिथियम, कोबाल्ट र दुर्लभ खनिज तत्वहरू यहाँ छन् । अफ्रिका र ल्याटिन अमेरिकामा त यस्ता खानी अथाह छन् । यति मात्र होइन, ग्लोबल साउथ विश्व व्यापारको प्रमुख जलमार्ग र पारबहन केन्द्र बनिरहेका छन् ।

अहिले त ग्लोबल साउथको आफ्‌नै गठबन्धन पनि निर्माण भइसकेको छ । ब्राजिल, रुस, भारत, चीन, दक्षिण अफ्रिकाले ब्रिक्स गठबन्धन निर्माण गरी अघि बढिरहेका छन् । ग्लोबल नर्थको अगुवा अमेरिका र ग्लोबल साउथको अगुवा चीन अहिले शीतयुद्धको अवस्थामा छन् ।