संगठनलाई थप गतिशील बनाउने विषयमा गम्भीर छलफल
बुटवल । राष्ट्रिय जनमुक्ति पार्टीको १२औँ राष्ट्रिय भेला मंगलबार रूपन्देहीमा सम्पन्न भएको छ। भेलामा पार्टीको नीति, भावी कार्ययोजना तथा संगठन विस्तारलाई प्रभावकारी बनाउने विषयमा गम्भीर छलफल भएको थियो ।

रूपन्देहीको तिलोत्तमा स्थित कबिराज भवनमा आयोजित भेलाको बन्दसत्रमा पार्टीका केन्द्रीय अध्यक्ष केशव सूर्यवंशीले पार्टीको नीति तथा भावी कार्ययोजनासम्बन्धी प्रतिवेदन प्रस्तुत गरेका थिए। त्यस्तै, पार्टीका महासचिव टोप अस्लामीले सांगठनिक प्रतिवेदन प्रस्तुत गरेका थिए। पार्टीका उपमहासचिव चेतबहादुर आलेले उक्त जानकारी दिएका हुन्।

अध्यक्ष र महासचिवद्वारा प्रस्तुत प्रतिवेदनमाथि सहभागीहरूले आ–आफ्ना धारणा राखेपछि विभिन्न प्रदेश तथा जिल्लाका अध्यक्षहरूले आफ्नो क्षेत्रको सांगठनिक अवस्थाबारे रिपोर्टिङ गरेका थिए।

भेलाले पार्टी संगठनलाई थप चुस्त, दुरुस्त र गतिशील बनाउने, संगठन विस्तारलाई तीव्रता दिने तथा पार्टीको हितविपरीत कार्य गर्नेहरूमाथि आवश्यक कारबाही गर्ने लगायतका निर्णय गरेको महासचिव अस्लामीले बताए ।

तीनदिने राष्ट्रिय भेलाबाट भएका निर्णयहरू पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिने पनि महासचिव अस्लामीले बताए।
राष्ट्रिय भेलाको उद्घाटनसत्र रूपन्देहीको भैरहवास्थित महेन्द्र सभागृहमा पार्टीका केन्द्रीय अध्यक्ष सूर्यवंशीले गरेका थिए।






