काठमाडौं । मगर समुदायमा दशैंको ऐतिहासिक, सांस्कृतिक, सामाजिक तथा राजनीतिक पक्षबारे प्राज्ञिक बहस भएको छ। ‘आदिवासी मगर दृष्टिकोणमा दशैं के हो ? के होइन’? कलंकीस्थित मगर संघको भवनमा आयोजित कार्यक्रममा मगर तथा याक्थुङ लिम्बु समुदायका प्राज्ञिक व्यक्तित्वहरूले दशैंको उत्पत्ति, सांस्कृतिक सम्बन्ध, बहिष्कारको निर्णय र त्यसको कार्यान्वयनका विषयमा विभिन्न दृष्टिकोण प्रस्तुत गरेका छन्।

कार्यक्रममा नेपाल मगर संघले वि.सं.२०४८ मा दशैं परित्याग गर्ने निर्णय गरे पनि उक्त निर्णय मगर समुदायमा पूर्ण रूपमा कार्यान्वयन हुन नसकेको विषय प्रमुख रूपमा उठाइएको थियो। तत्कालीन निर्णयले समुदायको सामाजिक तथा सांस्कृतिक जीवनमा कस्तो प्रभाव पार्यो भन्ने विषयमा पर्याप्त अध्ययन हुन नसकेको भन्दै सहभागीहरूले निर्णयको प्रभावकारिता मूल्याङ्कन गर्न अनुसन्धान आवश्यक रहेको औंल्याएका थिए।
बहसमा मगर संघका निर्णयहरू समुदायमा प्रभावकारी रूपमा कार्यान्वयन हुन नसक्नुका कारणबारे पनि चर्चा भएको थियो। निर्णय गर्नुअघि आवश्यकता पहिचान, आधारभूत अध्ययन र समुदायको वास्तविक अवस्था विश्लेषण नगरिनु तथा संस्थामा राजनीतिक दलहरूको प्रभाव बढ्नुजस्ता विषयलाई सम्भावित कारणका रूपमा प्रस्तुत गरिएको थियो।
दशैंसँग जोडिएका मगर समुदायका मौलिक परम्परा
कार्यक्रममा गण्डकी प्रश्रवण क्षेत्रअन्तर्गत पाल्पा, अर्घाखाँची, गुल्मी, बागलुङ, म्याग्दी, पर्वत, कास्की, स्याङ्जा, तनहुँ, नवलपरासी, लमजुङ, गोरखा, चितवन र धादिङलगायतका जिल्लाका मगर समुदायमा दशैंसँग विभिन्न सामाजिक तथा सांस्कृतिक अभ्यास जोडिएको विषय उठाइएको थियो।

घरपितृ पूजा, कुलपितृ पूजा, देउपित्तर पूजा, प्रकृति तथा भूमिपूजा, कोतपूजा, थान परम्परा, सराय, सोरठी, मारुनी र घाँटुजस्ता नाचगान तथा भेजा, गुम्ठा र गाउँला प्रणालीसँग दशैंको सामाजिक सम्बन्धबारे चर्चा गरिएको थियो। लाहुरे संस्कृतिसँग जोडिएको पारिवारिक भेटघाट र आफन्तजनबीचको सम्बन्ध पनि यसका महत्त्वपूर्ण पक्षका रूपमा प्रस्तुत गरिएको थियो।
वक्ताहरूले दशैं बहिष्कार गर्ने निर्णय गर्दा यी परम्परासँग सम्बन्धित वैकल्पिक व्यवस्था र सांस्कृतिक निरन्तरताबारे पर्याप्त ध्यान नदिइएको तर्क प्रस्तुत गरेका थिए। दशैंको टीका बहिष्कार गरे पनि पाहुनापाछा बोलाउने, आफन्तकहाँ जाने र सामूहिक भेटघाट गर्ने चलन कायम रहनुले निर्णयको प्रभाव सीमित रहेको उनीहरूको विश्लेषण थियो।
पूर्वमन्त्री गोरेबहादुर खपाङ्गीले मन्त्री पदमा रहँदा दशैंको टीका ग्रहण गरेको घटनापछि मगर समुदायमा थप अन्यौल सिर्जना भएको र क्रमशः दशैं मनाउने अभ्यास पुनः बढेको विषयसमेत बहसमा उठाइएको थियो।
राजनीतिक प्रभाव र संस्थागत निर्णयमाथि समीक्षा
बहसमा वि.सं २०४६ सालदेखि नेपाल मगर संघको केन्द्रीय नेतृत्व चयनमा राजनीतिक दलहरूबीच प्रतिस्पर्धा हुने र दलगत प्रभाव बढ्दै गएको विषयमा आलोचनात्मक समीक्षा गरिएको थियो। वक्ताहरूले आदिवासी समुदायका संस्थाहरूले समुदायको मौलिक पहिचान र हितलाई केन्द्रमा राख्नुपर्नेमा जोड दिएका थिए।
राजनीतिक दलको प्रभाव, नेतृत्वप्रतिको विश्वास, व्यक्तिगत स्वार्थ तथा समुदायको जनसङ्ख्यालाई राजनीतिक लाभका लागि उपयोग गर्ने प्रवृत्तिबारे पनि प्रश्न उठाइएको थियो। यद्यपि यी विषयमा ठोस निष्कर्ष निकाल्न थप अनुसन्धान र तथ्यगत अध्ययन आवश्यक रहेको बहसको आशय थियो।
लिम्बु समुदायको अनुभव पनि प्रस्तुत
कार्यक्रममा याक्थुङ लिम्बु समुदायका विद्वानहरूले पनि दशैंको ऐतिहासिक तथा सांस्कृतिक सम्बन्ध र बहिष्कारका प्रयासका बाबजुद समुदायमा चाडपर्व मनाउने अभ्यास कायम रहनुका कारणबारे आफ्ना विचार राखेका थिए।
लिम्बु समुदायमा तिहारको सांस्कृतिक स्वीकार्यता, नाचगान, सामाजिक भेटघाट र संस्थागत गतिविधिसँग जोडिएका पक्षबारे पनि चर्चा गरिएको थियो। यसले आदिवासी समुदायका चाडपर्वसम्बन्धी निर्णय, व्यवहार र सामाजिक यथार्थबीचको सम्बन्धलाई तुलनात्मक रूपमा अध्ययन गर्नुपर्ने आवश्यकता औंल्याएको थियो।
अनुसन्धान र पुनरावलोकनमा जोड
कार्यक्रममा नेपाल मगर संघका संस्थापक सदस्य तथा पूर्वमन्त्री एम.एस. थापामगर, डा.भोजविक्रम बुढामगर, डा. कमल थापामगर, डा. लालबहादुर पुनमगर र प्रा.डा. चित्रबहादुर बुढाथोकीमगरले प्राज्ञिक विश्लेषण प्रस्तुत गरेका थिए। याक्थुङ लिम्बु समुदायबाट डा.क्षितिज सुब्बा र डा. धिरेन्द्र नाल्बोले पनि आफ्ना विचार राखेका थिए।
कार्यक्रमको सत्राध्यक्षता मगर प्राज्ञिक परिषद्का कुलपति सहप्राध्यापक डा. श्यामु थापा मगरले गरेकी थिइन् भने विषय प्रवेश तथा कार्यक्रम सञ्चालन परिषद्का सदस्य–सचिव डा.विष्णुकुमार सिङ्जालीले गरेका थिए।

छलफलमा मगर समुदायमा दशैंको प्रभाव, ऐतिहासिक तथा राजनीतिक पृष्ठभूमि, सांस्कृतिक पहिचान, धार्मिक अभ्यास र सामाजिक सम्बन्धबारे थप अनुसन्धान गर्नुपर्नेमा जोड दिइएको थियो। साथै, माघे सङ्क्रान्ति मनाउने निर्णय कार्यान्वयन हुनु तर दशैं परित्यागको निर्णय पूर्ण रूपमा कार्यान्वयन नहुनुका कारणबारे तुलनात्मक अध्ययन गर्नुपर्ने विषय पनि उठाइएको थियो।
वक्ताहरूले भाषिक तथा सांस्कृतिक उपनिवेशीकरणका प्रभावको समीक्षा गर्दै आदिवासी समुदायले आफ्नो मौलिकता र पहिचानको खोजी गर्नुपर्ने बताएका थिए। आदिवासी संघसंस्थाले आफ्ना निर्णय तथा नीतिहरूको प्रभावकारिता अध्ययन गरी आवश्यकताअनुसार पुनरावलोकन गर्नुपर्नेमा पनि जोड दिइएको थियो।
कार्यक्रममा नेपाल मगर संघका अध्यक्ष रक्षबहादुर रैकामगरले मगर प्राज्ञिक परिषद्मार्फत यस्ता बहसलाई निरन्तरता दिने, अनुसन्धानलाई प्राथमिकता दिने तथा पुराना निर्णय र नीतिहरूलाई समयसापेक्ष पुनरावलोकन गर्ने बताएका थिए।
यस बहसले मगर समुदायमा दशैंसम्बन्धी मतभेदलाई केवल धार्मिक आस्थाको विषयमा सीमित नराखी इतिहास, संस्कृति, राजनीति, अर्थतन्त्र र सामुदायिक पहिचानसँग जोडेर अध्ययन गर्नुपर्ने आवश्यकता उजागर गरेको छ। सहभागीहरूले यस्ता विषयमा तथ्यमा आधारित अनुसन्धान र खुला प्राज्ञिक बहसले समुदायभित्रको संवादलाई थप बलियो बनाउन सक्ने धारणा व्यक्त गरेका थिए। उक्त दशैं छलफल कार्यक्रम असोज २५ गते भएको थियो ।