• आश्विन २८ २०८३, बुधबार

संकल्पको अध्यक्षमा बस्नेत चयन, १३ सदस्यीय कार्यसमिति गठन

आश्विन २७ २०८३, मंगलवार

काठमाडौं । शान्ति, न्याय तथा लोकतन्त्रका लागि समावेशी महिला सञ्जाल (संकल्प) को अध्यक्षमा शोभा हमाल बस्नेत सर्वसम्मत निर्वाचित भएकी छिन् । संकल्पको सातौं महाधिवेशन तथा १६औं साधारणसभाबाट बस्नेतको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरिएको हो।

सोमबार ललितपुरमा सम्पन्न महाधिवेशनले वरिष्ठ उपाध्यक्षमा सुनी लामा, उपाध्यक्षमा मैमुना सिद्धिकी, महासचिवमा उषा रावत, कोषाध्यक्षमा कला स्वर्णकार र सचिवमा चन्द्रिका भट्टराईलाई सर्वसम्मत चयन गरेको छ।

त्यसैगरी, कार्यसमिति सदस्यमा निवर्तमान अध्यक्ष संगीता लामा, बेणु राणा, रोसनी कर्माचार्य, रामकला खड्का, देवकुमारी पराजुली र भक्तकुमारी भुजेल चयन भएका छन् । कार्यसमितिमा एक जना सदस्य भने पछि मनोनयन गरिने जनाइएको छ।

नवनिर्वाचित अध्यक्ष बस्नेतले आफ्नो नेतृत्वमा संकल्पलाई थप सशक्त बनाउँदै संस्थाको कार्यक्षेत्र विस्तार गर्ने प्रतिबद्धता व्यक्त गरिन् । उनले आगामी स्थानीय तथा प्रदेश तहको निर्वाचनमा लैंगिक दृष्टिकोणबाट व्यापक पर्यवेक्षण गर्ने र विपद्का समयमा महिलासँग सम्बन्धित सवालमा केन्द्रित भएर काम गर्ने एजेन्डा प्रस्तुत गर्ने बताईन् ।

कार्यक्रममा संकल्पकी निवर्तमान अध्यक्ष संगीता लामालाई राष्ट्रिय मानव अधिकार आयोगकी सदस्य तथा संकल्पकी पूर्वअध्यक्ष डा. लिली थापा र संस्थापक अध्यक्ष दुर्गा सोबले सम्मान गरेका थिए ।

सम्मानपछि मन्तव्य राख्दै लामाले संकल्पमा २० वर्ष काम गरेको अनुभवका आधारमा आर्थिक पारदर्शिताका दृष्टिले संस्था उत्कृष्ट रहेको बताइन्। उनले संकल्पले स्थापनाकालदेखि नै सीमान्तकृत महिलाको समावेशिताको सवाल उठाउँदै आएको उल्लेख गर्दै आगामी दिनमा जलवायु न्याय र विपद्सम्बन्धी विषयलाई पनि प्राथमिकतामा राख्न सुझाव दिइन् ।

संकल्पको महाधिवेशन अन्तर्गतको निर्वाचन प्रक्रिया वरिष्ठ अधिवक्ता मीरा ढुंगानाको टोलीले सम्पन्न गरेको थियो।