• आश्विन २४ २०८३, शनिबार

प्रथम विश्वयुद्धका वीर कुलवीर थापा र कर्णबहादुर रानाको सम्मानमा हुलाक टिकट जारी

आश्विन २३ २०८३, शुक्रबार

काठमाडौं । प्रथम विश्वयुद्धमा अदम्य साहस र वीरता प्रदर्शन गर्दै प्रतिष्ठित भिक्टोरिया क्रस (भीसी) पदक प्राप्त गरेका नेपाली वीर सैनिक कुलवीर थापा मगर र कर्णबहादुर राना मगरको सम्मानमा नेपाल सरकारले हुलाक टिकट प्रकाशन तथा प्रचलनमा ल्याएको छ।

१५२औँ विश्व हुलाक दिवसको अवसरमा आज नेपाल सरकार, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयअन्तर्गतको हुलाक सेवा विभागले दुवै वीर सैनिकको तस्बिर अंकित हुलाक टिकट सार्वजनिक गरेको हो। कार्यक्रममा सूचना तथा सञ्चारमन्त्री विक्रम तिमिल्सिनाले टिकटमा प्रथम दिवसीय टाँचा प्रदान गरेका थिए ।

कार्यक्रममा कुलवीर थापा मगरका पनाति सुनिल थापामगर र कर्णबहादुर राना मगरका पनाति सिजन रानामगरलाई दोसल्ला ओढाएर सम्मानसमेत गरिएको थियो।

प्रथम विश्वयुद्धमा वीरता प्रदर्शन गरी भिक्टोरिया क्रस प्राप्त गर्ने पहिलो नेपालीका रूपमा कुलवीर थापा मगर परिचित हुनुहुन्छ। त्यस्तै, कम उमेरमै उक्त प्रतिष्ठित सैनिक सम्मान प्राप्त गर्ने नेपाली वीरका रूपमा कर्णबहादुर राना मगरलाई स्मरण गरिँदै आएको छ। उहाँहरूको तस्बिर अंकित हुलाक टिकट प्रकाशनले नेपाली वीरहरूको ऐतिहासिक योगदानलाई राष्ट्रिय स्तरमा सम्मानित गर्ने महत्त्वपूर्ण अवसर प्रदान गरेको छ।

मगर वीरहरूको सम्मानमा हुलाक टिकट प्रकाशन गर्न आदिवासी जनजाति आयोगका सदस्य डा. मिन श्रीस मगरले लामो समयदेखि पहल गर्दै आएका थिए । । राज्यका सम्बन्धित निकायलाई पटक–पटक ध्यानाकर्षण गराउँदै आएको पहलले सार्थकता पाएपछि उनले सरकारप्रति आभार व्यक्त गरेका छन् ।

गोलखबर मिडियासँग कुरा गर्दै डा. श्रीस मगरले मगर वीरहरूको ऐतिहासिक योगदानलाई राज्यबाट उचित सम्मान दिलाउन निरन्तर प्रयास गरेको बताए । उहाँहरूको तस्बिर अंकित हुलाक टिकट प्रकाशनमा आउनु ऐतिहासिक उपलब्धि भएको उनको भनाइ छ।

यसैगरी, मगर वीरहरूको योगदानलाई राष्ट्रिय पहिचानका रूपमा स्थापित गर्न निरन्तर प्रयास र सहजीकरण गरेको भन्दै राष्ट्रिय आदिवासी जनजाति महिला महासंघकी महासचिव धनकुमारी राना मगरले डा. श्रीस मगरप्रति धन्यवाद व्यक्त गरिन्। उनले नेपाल सरकारप्रति आभार व्यक्त गर्दै ऐतिहासिक व्यक्तित्वहरूको वीरता, साहस र योगदानलाई सम्मान गर्ने यस कार्यले भावी पुस्तालाई आफ्नो इतिहास र पुर्खाको गौरवबारे प्रेरणा दिने विश्वास व्यक्त गरिन्।

कार्यक्रममा नेपालका लागि बेलायती राजदूत रोब फेन तथा हुलाक टिकट प्रकाशनका लागि प्रस्ताव पेस गर्नुभएका डा. मिन श्रीस मगरले विशिष्ट अतिथिका रूपमा मन्तव्य राखेका थिए । कार्यक्रममा दलित आयोगका अध्यक्ष, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव, फिलाटेलिक सोसाइटीका अध्यक्ष, हुलाक सेवा विभागकी अधिकृत चन्द्रा थापालगायतको उपस्थिति रहेको थियो।

कार्यक्रममा अधिकृत चन्द्रा थापाले हुलाक टिकटमा तस्बिर अंकित दुवै वीर सैनिकको योगदान र उनीहरूसम्बन्धी संक्षिप्त जानकारी प्रस्तुत गरेकी थिइन् । कार्यक्रममा नेपाल मगर संघका उपाध्यक्ष कविराज थापामगर, नेपाल मगर महिला संघकी अध्यक्ष चित्रा श्रीस मगरलगायत विभिन्न क्षेत्रका व्यक्तित्वहरूको सहभागिता रहेको थियो।

प्रथम विश्वयुद्धमा अदम्य साहस र वीरता प्रदर्शन गरी भिक्टोरिया क्रसजस्तो प्रतिष्ठित सैनिक सम्मान प्राप्त गरेका नेपाली वीरहरूको तस्बिर अंकित हुलाक टिकट प्रकाशनले उनीहरूको योगदानको स्मरण, ऐतिहासिक पहिचानको संरक्षण र राष्ट्रिय गौरवको प्रवर्द्धनमा महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।

यस कदमले कुलवीर थापा मगर र कर्णबहादुर राना मगरको वीरता तथा योगदानलाई नयाँ पुस्तासम्म पुर्‍याउनुका साथै नेपाली इतिहासमा उहाँहरूको स्थानलाई थप उजागर गर्ने विश्वास गरिएको छ।

प्रथम विश्वयुद्धमा अदम्य साहस र वीरता प्रदर्शन गर्दै प्रतिष्ठित भिक्टोरिया क्रस (भीसी) पदक प्राप्त गरेका नेपाली वीर सैनिक कुलवीर थापा मगर र कर्णबहादुर राना मगरको बारेमा यसरी बुझ्न सकिन्छ ।

वि.सं. २०८३

प्रथम विश्वयुद्धमा भिक्टोरिया क्रस (VC) प्राप्त गर्ने दुई नेपाली (गोर्खाली) सैनिक

नेपालका दुई वीर सपूत कुलवीर थापा मगर र कर्णबहादुर राना मगरले प्रथम विश्वयुद्धमा अदम्य साहस र वीरता प्रदर्शन गरेबापत बेलायतको सर्वोच्च वीरता पदक ‘भिक्टोरिया क्रस’ (Victoria Cross – VC) प्राप्त गर्नुभएको थियो। उहाँहरूको शतवार्षिकी स्मरणोत्सवका अवसरमा बेलायतका जनताको तर्फबाट ती साहसी वीरहरूप्रति कृतज्ञता व्यक्त गर्दै उहाँहरूको नाम अङ्कित कांस्य स्मारक फलक नेपाललाई प्रदान गरिएको थियो। उक्त स्मारक हाल नेपालको पोखरास्थित गोर्खा स्मृति सङ्ग्रहालयमा सुरक्षित राखिएको छ। यस अभिलेखमा उहाँहरूको वीरताका गाथाहरू समेटिएका छन्।

प्रथम नेपाली भिक्टोरिया क्रस विजेता कुलवीर थापा मगर

कुलवीर थापा मगरको जन्म सन् १८८८ डिसेम्बर १५ (वि.सं. १९४५ मङ्सिर ३०) गते बागलुङ जिल्लाको निगालपानीमा भएको थियो। उहाँ तत्कालीन बागलुङ जिल्लाको हालको बडिगाड गाउँपालिका वडा नं. १० का बासिन्दा हुनुहुन्थ्यो।

उहाँ ब्रिटिस भारतीय सेनाको दोस्रो बटालियन, तेस्रो गोर्खा राइफल्समा राइफलम्यान पदमा कार्यरत हुनुहुन्थ्यो। भिक्टोरिया क्रस प्राप्त गर्दा उहाँ २६ वर्षको हुनुहुन्थ्यो। यसरी उहाँ भिक्टोरिया क्रस प्राप्त गर्ने पहिलो नेपाली बन्नुभएको थियो।

सन् १९१५ अप्रिल २५ (वि.सं. १९७२ वैशाख १२) मा फ्रान्सको फौकिसार क्षेत्रमा लुजको युद्धको प्रारम्भमा गरिएको ध्यान मोड्ने आक्रमणका क्रममा उहाँ अग्रपङ्क्तिमा रहेका आक्रमणकारी सैनिकहरूमध्ये एक हुनुहुन्थ्यो। जर्मन सेनाका बङ्करहरूमाथि आक्रमण गर्ने क्रममा दक्षिण फौकिसार क्षेत्रमा उहाँले देखाउनुभएको अदम्य साहस र वीरताको कदर गर्दै राजा जर्ज पाँचौँबाट बकिङ्घम दरबारमा उहाँलाई भिक्टोरिया क्रस प्रदान गरिएको थियो।

उहाँको वीरतासम्बन्धी ऐतिहासिक विवरण बेलायतस्थित रोयल लेस्टरशायर रेजिमेन्टको रेजिमेन्टल सङ्ग्रहालयमा सुरक्षित राखिएको छ। सैनिक सेवाबाट अवकाश लिनुअघि उहाँ बढुवा भई सार्जेन्ट पदमा पुग्नुभएको थियो। उहाँको निधन सन् १९७३ जुलाई २५ (वि.सं. २०३० साउन १०) गते भएको थियो।

कर्णबहादुर राना मगर

कर्णबहादुर राना मगरको जन्म सन् १८९८ डिसेम्बर २१ (वि.सं. १९५५ पुस ७) गते गुल्मी जिल्लाको लितुङ फोक्सिङमा भएको थियो। उहाँ हालको गुल्मी जिल्लास्थित कालीगण्डकी गाउँपालिकाका बासिन्दा हुनुहुन्थ्यो।

उहाँ ब्रिटिस भारतीय सेनाको दोस्रो बटालियन, क्विन अलेक्जेन्ड्राज् तेस्रो गोर्खा राइफल्समा कार्यरत सैनिक हुनुहुन्थ्यो। सन् १९१८ अप्रिल १० (वि.सं. १९७५ चैत २८) मा इजिप्टको एल केल्फ्रा क्षेत्रमा भएको युद्धमा उहाँले असाधारण साहस र वीरता प्रदर्शन गर्नुभएको थियो। सोही वीरताका लागि उहाँलाई ब्रिटिस साम्राज्यको सर्वोच्च वीरता पदक भिक्टोरिया क्रस प्रदान गरिएको थियो। उक्त पदक प्राप्त गर्दा उहाँ केवल १९ वर्षको हुनुहुन्थ्यो।

वीर सैनिकहरूको सम्मानमा हुलाक टिकट जारी

प्रथम विश्वयुद्धमा अदम्य साहस, वीरता र युद्धकौशल प्रदर्शन गरी विश्वकै प्रतिष्ठित सैन्य वीरता सम्मानमध्ये एक भिक्टोरिया क्रस (VC) प्राप्त गर्ने नेपाली वीर सपूतहरू कुलवीर थापा मगर र कर्णबहादुर राना मगरको सम्मानमा नेपाल सरकारको हुलाक सेवा विभाग (नेपाल पोस्ट) ले अङ्कित मूल्य रु. १० भएको हुलाक टिकट जारी गरेको छ।

यी दुई वीर गोर्खाली सैनिकहरूको योगदान नेपाली वीरता, साहस र गौरवका अमूल्य उदाहरण हुन्। उहाँहरूको बलिदान र वीरगाथाले भावी पुस्तालाई राष्ट्रप्रेम, कर्तव्यनिष्ठा र साहसको प्रेरणा प्रदान गरिरहनेछ।

सन् २०२६ ईस्वी (वि.सं. २०८३)