• आश्विन २३ २०८३, शुक्रबार

बाढीपीडितका लागि सिएनसिबिजिद्वारा करिब २८ लाख ९८ हजार सहयोग

आश्विन २२ २०८३, बिहीबार

काठमाडौं । ब्रिटिश गोर्खा नेपाली नागरिकता निरन्तरता (सिएनसिबिजि) यूकेले नेपालका बाढीपीडितका लागि २८ लाख ९८ हजार ६ सय ७९ रुपैयाँ सहयोग गरेको छ।

भोटेकोशी बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार, पुनर्स्थापना तथा पुनर्निर्माणका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी बुधबार उक्त रकमको चेक ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठलाई हस्तान्तरण गरिएको हो।

कुल सहयोग रकममध्ये रुम्जाटार सोसाइटी यूकेले १३ लाख ३६ हजार ३ सय ९८ रुपैयाँ सहयोग गरेको थियो। त्यस्तै, पाल्पाको रिब्डीकोट बौद्ध परियत्ति विहारले ४० हजार रुपैयाँ सहयोग गरेको थियो।

सहयोग हस्तान्तरण कार्यक्रममा बोल्दै ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री श्रेष्ठले विपद्का समयमा ब्रिटिश गोर्खाहरूले नेपाली नागरिकलाई गर्दै आएको सहयोगको प्रशंसा गरे। उनले देशमा विपद् तथा चुनौती आइपर्दा ब्रिटिश गोर्खाहरूले निरन्तर सहयोग गर्दै आएको बताए।

मन्त्री श्रेष्ठले नेपाल राष्ट्र निर्माणको महत्वपूर्ण चरणमा रहेको उल्लेख गर्दै राष्ट्र निर्माणका क्रममा ब्रिटिश गोर्खाहरूले अन्तर्राष्ट्रियस्तरमा हासिल गरेको अभ्यास, सुरक्षा प्रक्रिया तथा अनुभवबाट नेपालले लाभ लिन सक्ने बताए।

ब्रिटिश गोर्खाहरूका मुद्दालाई मन्त्रिपरिषद्को बैठकमा समेत उठाएर उनीहरूलाई कसरी न्याय दिन र समस्या सम्बोधन गर्न सकिन्छ भन्ने विषयमा छलफल गर्ने प्रतिबद्धता उनले व्यक्त गरे।

नेपालमा आएको विपद्ले ठूला परियोजनादेखि मानवीय तथा भौतिक क्षति, कृषि र पर्यटन क्षेत्रमा समेत ठूलो असर पुर्‍याएको उल्लेख गर्दै मन्त्री श्रेष्ठले यस्तो कठिन अवस्थामा ब्रिटिश गोर्खा लगायत विदेशमा रहेका नेपालीहरूले गरेको सहयोगप्रति आभार व्यक्त गरे।

उनले लामो समयदेखि अड्किएका विषय तथा सुशासनका सवालमा सरकार गम्भीर भएर अघि बढिरहेको बताए। ब्रिटिश गोर्खाहरूको शिष्टता, भद्रता र अनुशासनबाट काम गर्ने संस्कार देख्न पाउँदा आफू खुसी भएको पनि उनले बताए।

कार्यक्रममा सिएनसिबिजि यूकेका वरिष्ठ उपाध्यक्ष दलबहादुर बुढाथोकीले ब्रिटिश गोर्खा तथा उनीहरूका सन्ततीलाई वंशजका आधारमा नेपाली नागरिकता प्रदान गर्न सरकारसँग अपिल गरे।

‘हामी न्यायको पर्खाइमा छौँ। आशा छ, पक्कै पनि हाम्रो मुद्दामा नेपाल सरकारले न्याय दिनेछ,’ उनले भने, ‘म जस्ता लाखौँ ब्रिटिश गोर्खा र उहाँहरूका परिवार वंशजको नेपाली नागरिकता प्राप्तिका लागि सरकारको बाटो कुरेर बसेका छन्। हामीलाई न्याय गरिदिनुपर्‍यो।’

गोर्खा परिवारका सन्ततीलाई वंशजको नेपाली नागरिकता प्रदान गर्ने विषयमा आफूहरूले लामो समयदेखि सरकारको ध्यानाकर्षण गराउँदै आएको उनले बताए।

बुढाथोकीले ब्रिटिश गोर्खा मात्र नभई विदेशमा काम गर्ने सबै नेपालीले राष्ट्रिय परिचयपत्र तथा केआईसीसम्बन्धी समस्या भोगिरहेको उल्लेख गर्दै यस विषयमा पनि सरकारको ध्यानाकर्षण हुनुपर्नेमा जोड दिए।

त्यसैगरी, भूपू कल्याणकारी समिति नेपालका सहसचिव पूर्णबहादुर रानाले भोटेकोशी बाढीपीडितका लागि गरिएको आर्थिक सहयोगको विवरण प्रस्तुत गरे। उनले ब्रिटिश गोर्खा र उनीहरूका सन्ततीलाई वंशजको नेपाली नागरिकता प्रदान गर्ने विषयमा सरकारले संविधानमा देखिएका त्रुटि सच्याएर गोर्खाहरूलाई न्याय दिनुपर्ने बताए।

सिएनसिबिजि यूकेका वरिष्ठ उपाध्यक्ष दलबहादुर बुढाथोकी र पाल्पा रिब्डीकोट बौद्ध परियत्ति विहारका संरक्षक लोकी माया थापामगरले ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री श्रेष्ठलाई सहयोग रकमको चेक हस्तान्तरण गरेका थिए।

कार्यक्रममा पाल्पा रिब्डीकोट बौद्ध परियत्ति विहारका अध्यक्ष तथा भूपू कल्याणकारी समिति नेपालका अध्यक्ष हुमबहादुर थापा, संरक्षक लोकी माया थापामगर, भिक्षु मेधंकर स्थविर, रुम्जाटार सोसाइटी यूकेका सल्लाहकार रामप्रसाद गुरुङ र रुद्रबहादुर गुरुङ, भूपू कल्याणकारी समिति नेपालका सदस्य पवित्रा राना र प्रेम पुन, समितिका सल्लाहकार अम्मर पुन, सचिव एवं अधिवक्ता चेतबहादुर आले, समाजसेवी रत्न महर्जन तथा पत्रकार दीपा आलेलगायतको उपस्थिति थियो।

सिएनसिबिजिका अध्यक्ष तर्क रानाले पनि ब्रिटिश गोर्खा र उनका सन्ततीका लागि नेपाली वंशजको नागरिकताको निरन्तरता सुनिश्चित गर्न आफूले बारम्बार युकेमा हुँदा या त नेपाल आउँदा पनि पटक पटक सरोकारवालाहरु सँग छलफल, बहस तथा कार्यशाला गोष्ठि गरी राज्य सरकारलाई खबरदारी तथा ध्यानाकर्षण गर्दै आएको गोलखबर मिडियालाई जानकारी दिएका छन् ।उनले–भने नेपाल सरकारले हामी गोर्खाहरुलाई न्याय दिनु हुनेछ । हामी आशावादी छौं ।