पाल्पा । त्रिभुवन बहुमुखी क्याम्पस, पाल्पाको नेपाली विभागको आयोजनामा साहित्यकार आर.ब.निश्चलको सातौँ कृति ‘ब्रह्माण्डको अन्त्य’ कविता सङ्ग्रहको लोकार्पण कार्यक्रम सम्पन्न भएको छ।
अनिवार्य नेपाली विभागका अध्यक्ष महेन्द्र पन्थीको अध्यक्षतामा आयोजित कार्यक्रममा त्रिभुवन बहुमुखी क्याम्पस, पाल्पाका क्याम्पस प्रमुख डा. टङ्कप्रसाद पन्थ प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए ।
प्रमुख अतिथि डा. पन्थले सातवटा कृति प्रकाशन गरिसकेका छन् । निश्चलका सिर्जनामा पूर्वकृतिको तुलनामा निरन्तर परिष्कार र परिमार्जन हुँदै गएको उल्लेख गरे। उनले निश्चललाई नेपाली कविताको समकालीन धाराको प्रतिनिधित्व गर्ने कविका रूपमा चर्चा गर्दै उनका कवितामा मानवतावाद, जीवनबोध, अस्तित्ववादी चेतना तथा सीमान्तकृत समुदायका मर्म अभिव्यक्त भएको बताए। तीन हरफदेखि तीन सय पाँच हरफसम्म संरचित कवितामा कवित्वसँगै भावको पूर्णता समेट्न सक्नु निश्चलको सिर्जनात्मक सफलता रहेको उनको भनाइ थियो।
कृतिमाथि समीक्षा प्रस्तुत गर्दै समीक्षक प्रतिभा पौडेलले कविताका तत्त्वका आधारमा ‘ब्रह्माण्डको अन्त्य’ माथि विचार व्यक्त गरे। उनले कृतिको आवरण, कविताको संरचना, भाव पक्ष तथा कला पक्षको विश्लेषण गरे ।
साहित्यकार प्रेम खरालले कृतिमाथि प्रकाश पार्दै निश्चलका कवितामा अभिव्यक्त भाव तथा समग्र अनुभूति पक्षका बारेमा चर्चा गरे। उनले प्रतिनिधि कविताहरू वाचन गर्दै तिनको अन्तर्निहित मर्म प्रस्तुत गरे । निश्चलका कवितामा अस्तित्ववादी चेतना केन्द्रबिन्दुमा रहेको उनले बताए ।
जनप्रतिनिधि तथा सञ्चारकर्मी राजेशकुमार अर्यालले आर.बी. निश्चल सामान्य सिर्जनात्मक अभ्यासबाट उठेर राष्ट्रिय स्तरमा चर्चित हुँदै सशक्त कृतिहरू प्रकाशन गर्न सफल भएको उल्लेख गरे। जीवनभोगाइका अनुभूतिलाई विद्रोहात्मक चेतनामा ढाली प्रस्तुत गर्नु निश्चलको सिर्जनात्मक प्रवृत्ति रहेको उनले बताए ।
कृतिकार आर.बी. निश्चलले आफ्नो सिर्जनाको पृष्ठभूमिबारे चर्चा गर्दै आफ्नै परिवेशले आफूलाई सिर्जनातर्फ डोर्याएको बताए। आफ्ना सिर्जनात्मक अनुभूति प्रस्तुत गर्ने क्रममा उन भावुकसमेत देखिएको थियो । उनले कृति प्रकाशन तथा लोकार्पण कार्यक्रम सफल बनाउन सहयोग गर्ने सम्पूर्ण व्यक्ति तथा संस्थाप्रति आभार व्यक्त गरे ।
साहित्यकार रामप्रसाद अर्याल तथा मन गहिरेले कृतिकार निश्चलको सिर्जनात्मक योगदानको प्रशंसा गर्दै उनको उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरे ।
कार्यक्रममा उपस्थित अतिथि तथा सहभागीहरूलाई शब्दका माध्यमबाट स्वागत गर्दै साहित्यकार तथा समालोचक डा शंकरप्रसाद गैरेले आर.बी. निश्चलको व्यक्तित्व र कृतित्वबारे संक्षिप्त प्रकाश पारे । कार्यक्रमको सञ्चालन नेपाली विभागका सदस्य चतुर्भुज नेपालले गरेका हुन् ।