• आश्विन १८ २०८३, आईतवार

गगनहरुले कांग्रेसलाई रास्वपाको शैलीमा ढाल्न थाले : प्रकाशशरण महत

आश्विन १७ २०८३, शनिबार

काठमाडौँ । कांग्रेसका असन्तुष्ट समूहका नेता तथा पूर्वसहमहामन्त्री प्रकाशशरण महतले पार्टी नेतृत्वको कार्यशैली र वैचारिक दिशामाथि गम्भीर प्रश्न उठाएका छन् ।

शनिबार काठमाडौँमा आयोजित अन्तरक्रियामा महतले कांग्रेसलाई ‘कांग्रेस २.०’ बनाउने नाममा पार्टीको स्थापित पद्धति र मौलिक विचारलाई लत्याउँदै रास्वपाको शैलीमा लैजान खोजिएको आरोप लगाए।

नेता महतले पार्टी सभापति गगनकुमार थापा र उपसभापति विश्वप्रकाश शर्माप्रति लक्षित गर्दै कांग्रेसले आफ्नो वैचारिक पहिचान गुमाउँदै गएको बताए। उनले ‘डेमोक्रेटिक सोसियोलिजम’ (प्रजातान्त्रिक समाजवाद) छाडेर ‘सामाजिक समाजवाद’ को वकालत गर्नु रास्वपाको नीतिलाई पछ्याउनु भएको टिप्पणी गरे।
‘अन्य पार्टीको, विशेष गरी रास्वपाको जस्तो मोडेल अपनाउने हो भने कांग्रेसको मौलिकता नै हराउँछ,’ उनले भने, ‘पार्टी सञ्चालनको मोडेल पनि छोडिँदै छ र वैचारिक आधार पनि कमजोर बनाइँदै छ।’

कांग्रेसको परम्परागत सामूहिक छलफल र वैचारिक बहसको संस्कृति अहिले हराएको महतको जिकिर छ। पार्टीमा पहिले विभिन्न दृष्टिकोण आउने र त्यसलाई संश्लेषित गरेर निष्कर्षमा पुग्ने परम्परा रहेकोमा अहिले ‘एउटाले बोल्ने र अरूले ताली बजाउने’ अधिनायकवादी शैलीको विकास भएको उनले बताए।

‘व्यक्तिगत महत्त्वाकांक्षाका लागि पार्टीका मूल्य–मान्यता, विचार र संस्थागत पद्धतिलाई कमजोर पारिँदै छ,’ महतले आक्रोश पोखे।

नेता महतले राष्ट्रियता, प्रजातन्त्र र समाजवाद कांग्रेसको जग भएको बताउँदै यसमा सम्झौता गर्न नहुनेमा जोड दिए । बीपी कोइरालाको विचार स्मरण गर्दै उनले राष्ट्रियता कमजोर भए प्रजातन्त्रसमेत कमजोर हुने चेतावनी दिए। लोकप्रियतावाद (पपुलिज्म) को पछि लागेर तत्काल राजनीतिक लाभ खोज्ने प्रवृत्तिले कांग्रेसलाई वैचारिक विचलनतर्फ धकेल्ने उनको दाबी छ।