• कार्तिक ६ २०८३, बिहीबार

दाउन्नेमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु १२ जना घाइते

आश्विन १७ २०८३, शनिबार

नवलपरासी । नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को विनयी त्रिवेणी गाउँपालिका–२ दाउन्नेस्थित एसमोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । दुर्घटनामा १२ जना घाइते भएका छन् ।

नेपालगञ्जबाट काठमाडौँतर्फ आउँदै गरेको प्रदेश–३–०१–००६ ख १५५३ नम्बरको बस आज बिहान सडकबाट नालामा पल्टिएको थियो ।

जिल्ला प्रहरी कार्यालय नवलपुरका डीएसपी अनिल पण्डितका अनुसार दुर्घटनामा मृत्यु भएका ६ जनामध्ये ५ जनाको पहिचान खुलेको छ भने एक जनाको पहिचान खुल्न बाँकी छ ।

पहिचान खुल्नेमा जाजरकोट भेरीगंगा नगरपालिका–३ का ५० वर्षीय निर्जुङ खत्री, बाँकेको कोहलपुर नगरपालिका–३ का ३२ वर्षीय दिपेन्द्र केसी, बाजुराको स्वामीकार्तिक गाउँपालिकाका ६५ वर्षीय नरेन्द्रराज गिरी, बाँकेको कोहलपुर नगरपालिका–१० का ५५ वर्षीय एकेन्द्रराज रेग्मी र नेपालगन्ज उपमहानगरपालिका–७ का २२ वर्षीय कृष कनौजिया रहेका छन् ।

पहिचान खुल्न बाँकी मृतक अन्दाजी ४०/४२ वर्षीय पुरुष रहेको प्रहरीले जनाएको छ ।

चालकले नियन्त्रण गुमाउँदा बस सडकबाट नालामा खसेको प्रहरीले जनाएको छ ।