• आश्विन १४ २०८३, बुधबार

ब्रिटिस गोर्खा र उनीहरूका वंशजको नेपाली नागरिकता निरन्तरताका लागि पहल गर्ने प्रतिबद्धता

आश्विन १३ २०८३, मंगलवार

काठमाडौं । ब्रिटिस गोर्खा र उनीहरूका वंशजको वंशजका आधारमा प्राप्त नेपाली नागरिकताको निरन्तरतासम्बन्धी विषयमा विशेष कार्यशाला गोष्ठी सम्पन्न भएको छ ।

ललितपुरको कुपण्डोलस्थित होटल हिमालयमा आयोजित गोष्ठीमा विभिन्न राजनीतिक दलका नेता, प्रतिनिधिसभा तथा राष्ट्रियसभा सदस्य, बुद्धिजीवी, प्राध्यापक, कानुनी विज्ञ, सञ्चारकर्मी, नागरिक समाजका अगुवा तथा गोर्खा समुदायका प्रतिनिधिहरूबीच ब्रिटिस गोर्खा र उनीहरूका वंशजको नेपाली नागरिकता निरन्तरतासम्बन्धी विषयमा व्यापक छलफल भएको थियो । साथै ब्रिटिश गोर्खा र उनीहरुको संन्तानले न्याय पाउनु पर्छ भन्नेमा सहभागी प्रतिनिधिहरुको जोड थियो।

गोष्ठीमा संविधानसभा सदस्य तथा पूर्वमन्त्री एम.एस.थापा, पूर्वन्यायाधीश डा. श्रीकृष्ण भट्टराई, डा.विधुप्रकाश कायस्थ, डा. मित्र परियार तथा भाषाविद् पूर्ण रानाले विषयसँग सम्बन्धित कार्यपत्र प्रस्तुत गरेका थिए । प्रस्तुत कार्यपत्रमाथि विभिन्न राजनीतिक दलका प्रतिनिधिसभा तथा राष्ट्रियसभा सदस्य, राजनीतिक दलका अध्यक्ष तथा प्रतिनिधि र नागरिक समाजका अगुवाहरूले टिप्पणी तथा धारणा राखेका थिए ।

कार्यक्रममा सहभागी वक्ताहरूले बेलायतमा बसोबास गर्ने नेपाली तथा ब्रिटिस गोर्खा र उनीहरूका वंशजको नेपाली नागरिकता निरन्तरतासँग जोडिएका संवैधानिक तथा कानुनी पक्षबारे आ–आफ्ना धारणा प्रस्तुत गरेका थिए । सहभागी राजनीतिक तथा नागरिक समाजका प्रतिनिधिहरूले यस विषयमा आवश्यक पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

कार्यपत्रमाथि वरिष्ठ अधिवक्ता गौंबहादुर आले, अधिवक्ता खेमबहादुर थापा, डा. श्यामु थापामगर, प्रतिमाया पुनलगायतले टिप्पणी गर्दै वंशजको नेपाली नागरिकता निरन्तरतासम्बन्धी विषयमा थप छलफल र पहल आवश्यक रहेको बताएका थिए । साथै कार्यक्रममा सहभागी अन्य प्रतिनिधिहरूले पनि यस विषयलाई निरन्तर बहसमा लैजानुपर्नेमा जोड दिएका थिए ।

कार्यक्रममा सीएनसीबीजीका उपाध्यक्ष दलबहादुर बुढाथोकीले ब्रिटिस गोर्खा तथा उनीहरूका वंशजको नेपाली नागरिकता निरन्तरताका लागि आफूहरूले लामो समयदेखि नेपाल सरकारलाई खबरदारी गर्दै आए पनि अपेक्षित सुनुवाइ हुन नसकेको बताए ।

उनले नागरिकता निरन्तरताको विषयमा सरकारबाट न्याय हुनेमा आफूहरू आशावादी रहेको बताउँदै ब्रिटिस गोर्खा र उनीहरूका सन्ततीलाई वंशजको आधारमा नेपाली नागरिकताको निरन्तरता सुनिश्चित गर्न सबै गोर्खा सैनिक तथा सरोकारवाला एकजुट हुनुपर्ने धारणा राखे । सरकारले गोर्खाहरूको योगदानको उचित सम्मान गर्नुपर्नेमा जोड दिँदै उनीहरूलाई विदेश पठाउने मात्र नभई उनीहरूको अधिकार र पहिचानको संरक्षणमा पनि ध्यान दिनुपर्ने बताए ।

त्यस्तै, भूतपूर्व सैनिक कल्याणकारी समिति नेपालका संयोजक हुम थापाले ब्रिटिस गोर्खा तथा उनीहरूका वंशजको नेपाली नागरिकता निरन्तरताको विषयमा आफूहरूले लामो समयदेखि सरकारसँग आवाज उठाउँदै आएको बताए ।

उनले वंशजको नेपाली नागरिकताको विषय ब्रिटिस गोर्खाहरूको मात्र नभई नेपाल सरकारसँग समेत सम्बन्धित विषय भएको उल्लेख गर्दै सरकारले आफूहरूको आवाजलाई गम्भीरतापूर्वक सुन्नुपर्ने बताए । आफूहरूले पटक–पटक सरकारको ध्यानाकर्षण गराउँदै आएको उल्लेख गर्दै थापाले नागरिकता निरन्तरताको विषयमा सरकारले यथाशीघ्र आवश्यक निर्णय गर्नुपर्ने धारणा राखे ।

‘बेलायती गोर्खा र तिनका सन्ततिहरूका लागि वंशजका आधारमा नेपाली नागरिकताको निरन्तरता’ विषयक उक्त कार्यशाला ब्रिटिश गोर्खाहरूका लागि नेपाली नागरिकताको निरन्तरता बेलायतको आयोजनामा तथा भूतपूर्व सैनिक कल्याणकारी समिति नेपालको सहसंयोजनमा भएको हो । कार्यक्रमको सहजीकरण सीएनसीबीजीका प्रतिनिधि तथा अधिवक्ता चेतबहादुर आलेले गरेका थिए । Pc by Roman Budha Magar