• आश्विन १४ २०८३, बुधबार

नागपासको खेलमा चीन–अमेरिका !

आश्विन १३ २०८३, मंगलवार

शरदको आगमनसँगै सेप्टेम्बर २३–२५ मा चिनियाँ राष्ट्रपति सी जिन पिङले ह्‌वाइट हाउस भ्रमण गरे । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘मेक अमेरिका ग्रेट गेन’ को राष्ट्रवादी नाराभित्र विमानस्थलमै रातो कार्पेट बिछ्याइदिए समकक्षी सी जिनपिङलाई ।

बिछ्याइएको रातो कार्पेटको चर्चा संसारभर जसरी भइरहेको छ, यसको अन्तर्यमा दुई अतिमहाशक्ति बिचको कुटनीतिक दाउँपेच पनि उत्तिकै चतुर्‍याइँका साथ लुकाइएको छ ।

अरूका लागि रोमाञ्चकारी कथा र किस्सा यो रातो कार्पेटभित्र लुकेको प्रतित हुन्छ । तर अमेरिका र चीन दुई अतिमहाशक्तिका लागि भने यो एक खुल्ला रहस्यको स्वीकारोक्ति हो ।

त्यो हो, दुबै देशलाई सम्मुख बनाएर अतिमहाद्वन्द्वको रक्तप्याला पिउने सुरमा तन्मयका साथ सुरसाझैं अघि बढिरहेको अवश्यंभावी परिस्थितिको उलटफेर हुनु । अमेरिका–इरान युद्ध टुङ्गो लाग्न नसकेपछि अमेरिकाले बुनेका कुटनीतिक तानावाना हुन् यी सबै ।

करीब ४ महिना अघि ट्रम्पको दलबल सहितको बेइजिङ भ्रमण बलशाली इरानको नाडी छाम्नका लागि जुरेको थियो । उक्त भ्रमण ट्रम्पको करबलका कारण भएको थियो । यो भ्रमणमा चीन एक बाध्यकारी स्वागतकर्ता मात्र बनेको थियो ।

त्यसपछिका ४ महिना पनि अमेरिकाका लागि उज्यालो नक्षत्र झुल्किएका महिना हुन सकेनन् । इरानले अद्वितीय बलिदानसहित प्रभावकारी प्रतिरोध अघि बढायो । फलतः फेरि पनि अमेरिकाले चीनलाई एकपटक नसम्झिइनहुने परिस्थिति सिर्जना हुन पुग्यो । ट्रम्पले निकै आग्रहका साथ सि जिनपिङलाई विनाढिलाइ ह्‌वाइट हाउसमा निम्तो दिए ।

४ महिना अघिको बेइजिङ भ्रमणको रात्री भोज सम्बोधनमा सीले ‘थुसिडाइड थ्यौरी’को प्रसङ्ग कोट्याएका थिए । ट्रम्पले तत्काल यसका बारेमा खुलेर प्रतिक्रिया नदिए पनि यसले उनलाई ननिकै डसेको थियो ।

चीनको आशय थियो, ‘के हामी (अमेरिका र चीन) एकर्कालाई युद्ध नगरिकनै िवश्व अतिमहाशक्तिको प्रथम ओहदा वा मान्यता हस्तान्तरण गर्न तयार छौं ?’ वा स्पष्ट भाषामा के अमेरिका चीनलाई प्रथम अतिमहाशक्तिका रूपमा स्वीकार गर्न तयार छ ?

थुसिडाइड प्राचीन ग्रिकका राजनीतिक चिन्तक तथा इतिहासकार थिए । उनको सिद्धान्त भनेको उदीयमान शक्ति राष्ट्रले चलिरहेको शक्ति राष्ट्रलाई चुनौती दिँदा जहिले पनि युद्ध अनिवार्य हुने गरेको छ । प्राचीन ग्रीसमा उदीयमान एथेन्स र स्पार्टाका बिचमा यही विन्दुमा आएर भीषण पिलोपोनेसियन युद्ध भएको इतिहास छ ।

अहिले चीन उदीयमान अतिमहाशक्ति बनिरहेको छ । चीन आफैमा महाशक्ति बन्दै जानु अमेरिकाका लागि स्वतः चुनौती हो । यो यस्तो चुनौती हो, जसलाई हालसम्म कायम रहिआएको अतिमहाशक्ति अमेरिका र उदीयमान अतिमहाशक्ति चीनले समझदारीपूर्ण वा शान्तिपूर्ण व्यवस्थापन गर्न सकेनन् भने विश्वयुद्ध सन्निकट आइसकेको छ । र, अवश्यंभावी पनि बनिरहेको छ ।

त्यसो भए अमेरिका–चीन युद्ध कहाँ आइपुगेको छ त ? व्यापार वाणिज्यको मामलामा अमेरिका–चीन निशस्त्र युद्ध ‘व्यापार करयुद्ध’ (ट्यारिफ वार) मा पुगेको छ । दुबैमा समझदारी नभए यो युद्ध अबका दिनमा विश्व व्यापारका क्षेत्र बाँडफाँड, नाकाबन्दी र वारम्वार ‘वार्तारूपी अस्त्र’ प्रहारमा पुग्ने देखिन्छ । त्यतिले पनि चित्त बुझेन र थोरै पनि सीमा उल्लङ्न हुन पुग्यो भने सशस्त्र तेस्रो विश्वयुद्धको अनिवार्यता निम्तने जानेछ ।

भूराजनीतिका हिसाबले अमेरिका–चीन युद्ध इरानमा आएर विजयी प्रतिरोधका साथ अर्धविराम लागेको छ । इरान–अमेरिका युद्ध उदीयमान महाशक्ति चीनका लागि ‘थ्रेट’ हो । एशियामा र त्यसमा पनि तेल प्रशोधनको हिस्सेदार इरानमाथि अमेरिकी महाशक्तिको आक्रमण चीनका लागि सैह्य कुरा होइन । इरानको विजयी प्रतिरोधलाई उदीयमान अतिमहाशक्तिको आँखाबाट यसरी हेरिएको छ ।

भूराजनीतिका हिसाबले चीनका लागि अतिसम्वेदनशील क्षेत्र भनेको ताइवान हो । ताइवानको विषयलाई लिएर अमेरिकाले चीनसँग द्वैधचरित्र र द्वैध व्यवहार गरिरहेको छ । एकातिर अमेरिकाले ‘एक चीन’को नीति स्वीकार गरिरहेको छ । अर्कोतर ताइवानलाई अत्याधुनिक हतियार बेच्दै र चीनविरूद्ध उस्काउँदै गरिरहेको छ ।

यसको व्यालेन्स चीनले दक्षिण कोरिया, क्युवा, अफ्रिका आदि देशमहादेशहरूबाट गरिरहेको देखिन्छ । त्यसो त आर्थिक रूपमा अमेरिका स्वयम् चीनको खर्बौं डलरको ऋणि छ ।

चीनले सार्वजनिक रूपमै ‘नयाँ विश्व व्यवस्था दिन तयार छौं’ पनि भनिसकेको छ । अहिले नेटो आबद्ध युरोपीय देशहरू चीनसँग सहकार्यका लागि हात अघि बढाइरहेका पनि छन् । यस्तो अवस्थामा अमेरिका शायद अन्तिम पटक कुटनीतिक प्रयासको उत्कर्षमा छ । उसले चीनलाई प्रतिकात्मक रूपमा विमानस्थलमै रातो कार्पेट बिछ्याएर राष्ट्रपति सी जिनपिङलाई स्वागत पनि गरिसकेको छ ।

तर कुटनीतिक पहल र प्रयास मात्र विश्व चुनौतिका समाधान होइनन् । यी त ‘आँधी आउनुपूर्वका सन्नाटा’ मात्र हुन् । कुरा यत्तिमा अल्झिएको छ, प्रथम र द्वितीय विश्वयुद्ध आणविक अस्त्र सम्पन्न देशहरूका बिचमा चलेको थिएन । भलै अमेरिकाले जापानको हिरोसिमा र नागासाकी सहरमा आणविक प्रभुत्व र सर्वोच्चताको दुन्दुभी भने बजाएकै थियो ।

अहिले दर्जनौ देश आणविक शक्ति सम्पन्न छन् । यदि दुर्भाग्यवस् तेस्रो विश्व युद्ध नै भयो भने नागासाकी र हिरोसिमाको हबिगत विश्वका सबै सहरले बेहोर्ने छन् । शायद हावा, पानी, जीव र वनस्पति रहेको हरियो ग्रह त्यसपछिका दिनमा कसैले परिकल्पना पनि गर्न नसक्ला कि ?