काठमाडौं । राष्ट्रिय जनमुक्ति पार्टीले १२औँ राष्ट्रिय भेला आगामी असोज २५, २६ र २७ गते रूपन्देहीमा आयोजना गर्ने भएको छ।
पार्टीले भेला सम्बन्धी जानकारी सार्वजनिक गर्दै असोज २५ गते भैरहवास्थित महेन्द्र सभागृहमा उद्घाटन सभा आयोजना हुने जनाएको छ। उद्घाटन कार्यक्रम बिहान ११ः३० बजेदेखि सुरु हुनेछ।
भेलाको बन्दसत्र भने असोज २६ र २७ गते तिलोत्तमा नगरपालिका–मंगलापुरस्थित कविराज भवन (पार्टी कार्यालय सभाहल) मा सञ्चालन हुने पार्टीले जनाएको छ।
भेलाबाट पारित निर्णयहरू सार्वजनिक गर्न तथा पार्टी नेतृत्वसँग प्रत्यक्ष संवाद गर्न असोज २८ गते बुटवलमा पत्रकार सम्मेलन आयोजना गरिनेछ। पत्रकार सम्मेलनको समय र स्थानबारे सचिवालयले निमन्त्रणामार्फत जानकारी गराउने जनाइएको छ।
राष्ट्रिय भेलामा केन्द्रीय समिति, केन्द्रीय सल्लाहकार, केन्द्रीय विभागका प्रमुख तथा उपप्रमुख, केन्द्रीय महासभाका प्रतिनिधि, प्रदेश समितिका पदाधिकारी, जिल्ला समितिका अध्यक्ष तथा सचिव, निर्वाचन क्षेत्रका अध्यक्ष वा संयोजक, पालिका समितिका अध्यक्ष वा संयोजक, पार्टीबाट निर्वाचित जनप्रतिनिधि, भ्रातृसंगठनका केन्द्रीय नेतृत्व तथा प्रवासी संगठन जनमुक्ति मञ्चका प्रतिनिधिहरू सहभागी हुनेछन्। भेलामा केन्द्रले तोकेबमोजिम पर्यवेक्षकहरूको समेत सहभागिता रहनेछ।
केन्द्रीय समिति (संघीय परिषद्) को आयोजनामा हुने भेलाको मूल तयारी समिति सचिवालय रहनेछ। तयारी समितिको संयोजकमा पार्टीका महासचिव टोप अस्लामी रहेका छन्। व्यवस्थापनतर्फ लुम्बिनी प्रदेश समिति मूल व्यवस्थापक तथा रूपन्देही जिल्ला समिति सह–व्यवस्थापक रहने पार्टीले जनाएको छ।
पार्टी विधानअनुसार राष्ट्रिय महाधिवेशनपछि दोस्रो शक्तिशाली निकायका रूपमा राष्ट्रिय भेलालाई लिइने भएकाले १२औँ राष्ट्रिय भेलाले राष्ट्रिय राजनीति तथा पार्टी जीवनसँग सम्बन्धित महत्वपूर्ण निर्णय गर्दै आगामी कार्यदिशा निर्धारण गर्ने पार्टीको विश्वास छ।
पार्टीले राष्ट्रिय भेला सफल बनाउन नेता, कार्यकर्ता तथा सदस्यहरूलाई आ–आफ्नो जिम्मेवारीअनुसार सक्रिय सहभागिता जनाउन आग्रह गरेको छ। साथै पार्टीका शुभेच्छुक तथा समर्थकहरूलाई समेत आफ्नो क्षेत्र र अनुकूलताअनुसार सहयोग गर्न आह्वान गरेको छ।
असोज २५ गते आइतबार भैरहवास्थित महेन्द्र सभागृहमा बिहान ११ः३० बजेदेखि हुने उद्घाटन कार्यक्रममा सहभागी हुन पार्टीले सम्बन्धित सबै तथा शुभेच्छुक महानुभावहरूलाई निमन्त्रणा गरेको पार्टी प्रवक्ता तथा उपमहासचिव चेतबहादुर आलेद्वारा जारी प्रेस विज्ञप्तिमा उक्त जानकारी दिइएको हो।