काठमाडौं । सर्वोच्च अदालतले पक्राउ परेका पत्रकार धर्मराज मल्ललाई २४ घण्टाभित्र अदालतमा उपस्थित गराउन गृह मन्त्रालय र प्रहरीलाई आदेश दिएको छ ।
सर्वोच्चका न्यायाधीश कुमार रेग्मीको एकल इजलासले मल्ललाई बन्दीसहित २४ घण्टाभित्र उपस्थित गराई लिखित जवाफ पेस गर्न गृह मन्त्रालय, जिल्ला प्रहरी परिसर काठमाडौं र जिल्ला प्रशासन कार्यालय काठमाडौंलाई आदेश दिएको हो । पत्रकार मल्ल आशिष मल्ल ठकुरीका नामले चिनिन्छन् ।
विद्युतीय अपराधको आरोपमा मल्ल पक्राउ परेका थिए । आफ्ना श्रीमानलाई विनापुर्जी गत असोज ७ गते राति पक्राउ गरिएको दाबीसहित मल्लकी श्रीमती भावना बुढाले सर्वोच्चमा बन्दीप्रत्यक्षीकरण रिट दिएकी थिइन् । हातहतियारसहित आएका प्रहरीले कागेश्वरी मनोहरा नगरपालिका–७, फिक्कल चोकस्थित मल्लकी बहिनीको घरबाट पक्राउ गरेको भनाइ रिट निवेदक बुढाको छ ।
बन्दीको रिहाइका लागि बहस गरेका अधिवक्ता राजीव बास्तोलाले पत्रकार मल्ललाई २४ घण्टाभित्र उपस्थित गराउन सर्वोच्चबाट सोमबार (असोज १२) आदेश भएको जानकारी दिए । पक्राउ परेका मल्ल नेपालगञ्जका पत्रकार हुन् । बास्तोलाले असोज १४ गते १० बजे महान्यायाधिवक्ताको कार्यालयमार्फत लिखित जवाफसहित मल्ललाई उपस्थित गराउन सर्वोच्चबाट आदेश भएको जानकारी दिए ।