काठमाडौं । इरानका विदेशमन्त्री सैयद अब्बास अराघचीले पश्चिम एसियामा जारी तनाव र युद्ध अन्त्यका लागि एक सातदिने योजना पेस गर्ने बताएका छन् ।
अमेरिकी सञ्चारमाध्यम ‘न्युयोर्क टाइम्स’को रिपोर्टअनुसार, यस योजनाअन्तर्गत होर्मुज जलमार्ग पुनः खोल्ने र त्यसपछि इरानको आणविक कार्यक्रमका विषयमा व्यापक वार्ता सुरु गर्ने प्रस्ताव गरिएको छ ।
संयुक्त राष्ट्रसंघको महासभाका क्रममा पत्रकारहरूसँग कुरा गर्दै विदेशमन्त्री अराघचीले यो प्रस्ताव विगतमा अमेरिका र इरानबीच भएका समझदारीको निरन्तरताका रूपमा रहेको उल्लेख गरे ।
उनले भने, “हामीले मध्यस्थकर्तामार्फत अमेरिकासमक्ष एउटा योजना राखेका छौँ । यदि केही सर्तहरू पूरा हुन्छन् भने सातौँ दिनको अन्त्यमा होर्मुज जलमार्ग खोलिनेछ र वार्ता पुनः सुरु हुनेछ ।”
अमेरिकी सेनामाथिको आक्रमण र इरानको सर्त
यसअघि जर्मनीका विदेशमन्त्री जोहान वाडेफुलसँगको बैठकमा अराघचीले कूटनीतिक प्रक्रिया अघि बढाउन इरानले आफ्ना उचित मागहरू अमेरिकी पक्षसमक्ष राखिसकेको बताएका थिए ।
क्षेत्रमा स्थायी सुरक्षा कायम गर्न इरानविरुद्ध अमेरिकाले चाल्दै आएका आक्रामक कारबाहीहरू अन्त्य हुनु आवश्यक रहेको उनको भनाइ थियो ।
इरानी विदेशमन्त्रीले आफ्नो आणविक कार्यक्रमलाई लिएर कूटनीतिक प्रयास जारी राख्ने प्रतिबद्धता व्यक्त गर्दै वार्तामा इरानले देखाएको सद्भावलाई नजरअन्दाज गर्न नहुने तर्क गरे ।
यसक्रममा अराघचीले जर्मनीसहितका युरोपेली देशहरूको समेत आलोचना गरे । युरोपेली देशहरूले अन्तर्राष्ट्रिय कानुनको अमेरिकी उल्लंघन तथा दबाबमूलक कारबाहीलाई मौन समर्थन गरिरहेको उनको आरोप थियो ।
सम्झौता कार्यान्वयन नहुनुमा अमेरिका जिम्मेवार : इरानी राष्ट्रपति
यसैबीच, अमेरिकी टेलिभिजन च्यानल फक्स न्युजलाई दिएको अन्तर्वार्तामा इरानी राष्ट्रपति मसुद पेजेस्कियानले अमेरिका र इरानबीच विगतमा भएका सम्झौताहरू कार्यान्वयन हुन नसक्नुमा अमेरिकी प्रशासनलाई जिम्मेवार ठहर्याएका छन् ।
राष्ट्रपति पेजेस्कियानले इरान वार्ताका लागि सधैँ तयार रहेको दाबी गरे । “हामी सम्झौताका आधारमा अघि बढ्न तयार थियौँ र अहिले पनि छौँ । हामीले होर्मुज जलडमरूमध्य बन्द गरेका थिएनौँ । तर, कुनै कानुनी औचित्यबिना नै इरानमाथि आर्थिक तथा सैन्य आक्रमण गरियो ।”
उनले इरानका सैन्य कमाण्डर र वैज्ञानिकहरूको हत्या गरिएको प्रसंग उठाउँदै अमेरिका वार्ता गर्नुको सट्टा युद्धको बाटोमा लागेको आरोप समेत लगाए ।
‘विदेशी शक्तिका अगाडि झुक्ने छैनौँ’
संयुक्त राष्ट्रसंघको महासभामा व्यक्त आफ्नो अडान दोहोर्याउँदै राष्ट्रपति पेजेस्कियानले इरानले केवल आफ्नो रक्षा गरिरहेको र युद्धको कारक अमेरिका नै रहेको दाबी गरे।
इरानमाथि लगाइएका आर्थिक प्रतिबन्धहरूका बाबजुद आफ्नो देश कुनै पनि विदेशी शक्तिका अगाडि नझुक्ने उनको भनाइ थियो ।
उनले अन्तर्राष्ट्रिय कानुनी ढाँचाअन्तर्गत शान्तिपूर्ण सम्झौताका लागि आवश्यक निर्णय लिने जिम्मेवारी अब अमेरिकी प्रशासनकै हातमा रहेको स्पष्ट पारेका छन् ।