• आश्विन ७ २०८३, बुधबार

नेपाल बोन बुद्धिष्ट महासंघद्वारा रसुवा बाढीपीडितका लागि पूजा तथा दीप प्रज्वलन गर्न दोस्रो चरणको सहयोग हस्तान्तरण

आश्विन ७ २०८३, बुधबार

काठमाडौं। नेपाल बोन बुद्धिष्ट महासंघद्वारा रसुवाको स्याफ्रु, टिमुरे, केरुङलगायत क्षेत्रमा आएको बाढीमा ज्यान गुमाएकाहरूको चित्तमुक्तिको कामना गर्दै २८औँ दिन तथा चौथो हप्ताको तिथिमा पूजा तथा दीप प्रज्वलन गर्न पीडित परिवारलाई दोस्रो चरणको सहयोग हस्तान्तरण गरिएको छ।

नेपाल बोन बुद्धिष्ट महासंघका पूर्वअध्यक्ष तथा नेपाल सरकार, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयअन्तर्गत बौद्ध दर्शन प्रवर्द्धन तथा गुम्बा विकास समितिका निवर्तमान अध्यक्ष खेन्पो मुरी निग्मा कुन्क्याप रोकाया रिन्पोछेबाट प्राप्त सहयोग  सम्बन्धित पीडित परिवारका लागि हस्तान्तरण गरिएको हो।

बाढीका कारण आफन्त गुमाएका परिवारजनप्रति समवेदना प्रकट गर्दै दिवंगत आत्माको चित्तमुक्ति तथा शान्तिको कामनासहित धार्मिक परम्पराअनुसार पूजा र दीप प्रज्वलन गर्न उक्त सहयोग उपलब्ध गराइएको महासंघका महासचिव इन्द्र बहादुर रोकाया (शेराप)ले बताएका छन् ।

यसअघि पनि पीडितहरूका लागि रसुवागडि समाज काठमाण्डौ लाई पचास हजार र टिमुरे गाउँको बाढि पिडितलाई रु पचास हजार जम्मा रु.एक लाख सहयोग गरेका हुन् । यो दोस्रो चरणको सहयोग भएको बताइएको छ।

“यो सानो सहयोगले पीडित परिवारको ठूलो घाउमा केही भए पनि मलम लगाउने हाम्रो प्रयास हो,” भन्ने भावनासहित सहयोग हस्तान्तरण गरिएको हो।

प्राकृतिक विपत्तिमा आफन्त गुमाएका परिवारका लागि आर्थिक तथा भौतिक सहयोगसँगै दुःखको समयमा प्राप्त हुने साथ, सहानुभूति र आध्यात्मिक हौसलाले समेत विशेष महत्व राख्ने गर्दछ।