उत्तर कोरियाले हाइपरसोनिक मिसाइल निर्माण गरेर आफ्ना प्रतिस्पर्धीलाई तीनछक पारेको छ । आणविक शक्तिसम्पन्न देश बनेपछि अमेरिकाको दपस र हेपाइबाट मुक्ति पाएको यो देश अहिले एकपछि अर्को गर्दै नयाँ अस्त्र निर्माणमा सफलता प्राप्त गरिरहेको छ ।
आणविक शक्ति सम्पन्न राष्ट्र भएपछि अमेरिकाले उत्तर कोेरियालाई निन्दा गर्न छाडिसकेको छ । त्यति मात्र होइन, अब हामीलाई पनि खतरा छ भन्ने लागेपछि दक्षिण कोरियाले उत्तर कोरियासँग शान्तिमैत्री सम्झौताको प्रस्ताव अघि सारिरहेको छ ।
अमेरिका इरान युद्धबाट पछि हट्दै र ध्वाँस देखाउँदै गर्दा अबका दिनमा अमेरिकाले आफ्नो संरक्षण गर्न नसक्ने निचोेडमा पुगेको दक्षिण कोरियाले उत्तर कोरियासँग उक्त सम्झौता प्रस्ताव गर्दा अमेरिकालाई पनि साक्षी नराखेको विश्लेषकहरूको बलियो मत छ ।
तर यति नै बेला उत्तर कोरियाले क्षेप्यास्त्र प्रतिरक्षा प्रणालीलाई निस्काम बनाउन सक्ने नयाँ हाइपरसोनिक हतियार परीक्षण गरेको छ । उत्तर कोरियाली सरकारी सञ्चार माध्यम केसीएनएले यसको पुष्टि गरेको छ । उत्तर कोरियाली नेता किम जोङ उन र उनकी छोरी किम जु एईलाई हाइपरसोनिक मिसाइल परीक्षण गर्दा सफलतको निरीक्षण गरेको तस्वीर पनि सार्वजनिक गरेको छ ।
उत्तर कोरियाका अनुसार छोटो दूरीको ब्यालेस्टिक क्षेप्यास्त्रमा ‘हाइपरसोनिक ग्लाइड भेहिकल’ जडान गरेर यसको परीक्षण गरिएको हो । दक्षिण कोरियाली सेनाले कोरियाली पूर्वी इलाकामा ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेको स्वीकार गरेको छ । प्रक्षेपित क्षेप्यास्त्रमध्ये एउटा ४५० किलोमिटर टाढा पुग्दा अर्को झन् ६०० किलोमिटर टाढासम्म पुगेको दक्षिण कोरियाले जनाएको छ ।
निकै आधुनिक अस्त्र मानिने हाइपरसोनिक मिसाइल ध्वनिको गतिभन्दा पाँच गुणा बढी गतिमा लक्षित दूरी पछ्याउन सक्छ । यो ताबडतोड गतिलाई परम्परागत ब्यालेस्टिक क्षेप्यास्त्रले ठम्याउन र निसाना बनाउन प्रायः असंभव मानिन्छ । त्यसमाथि अझैं प्रक्षेपित हाइपरसोनिक कहिले तल त कहिले माथि गर्दै कोणिक मापमा उडान भरेको दक्षिण कोरियाली सेनाले स्वीकार गरेको छ ।
यस्तोखाले हाइपरसोनिक प्रविधिले छिमेकी देश दक्षिण कोरिया र जापान नयाँ तरङ्ग सिर्जना गरिरहेको छ । किनकि यो हाइपरसोनिक प्रविधि हाल जापानमा रहेको क्षेप्यास्त्र प्रतिरक्षा प्रणालीका लागि ठूलो चुनौती बनिसकेको छ ।
किमले पछिल्लो समयमा निर्माण भइरहेका आफ्ना नयाँ हतियार विरोधीका लागि ‘टाउको दुखाइ’को विषय हुने अभिव्यक्ति दिँदै आएका थिए ।