काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीले विचार मिल्ने शक्तिसँग एकताका लागि वार्ता समिति बनाएको छ ।
मंगलबार बसेको केन्द्रीय कार्यसंयोजन समितिको बैठकले विचार र संगठन मिल्ने बाम राजनीतिक दलहरूसँग एकताका लागि देव गुरुङको संयोजकत्वमा वार्ता समिति बनाएको हो । नेकपाले तीन सदस्यीय वार्ता समिति गठन गरेको छ ।
समितिमा प्रकाश ज्वाला र गंगानारायण श्रेष्ठ सदस्य छन् । समितिले वैचारिक, सांगठनिक र एजेन्डामा सामञ्जस्यता भएका विभिन्न घटकसँग एकताको पहल गर्ने छ ।
यस्तै, केन्द्रीय कार्यसंयोजन समितिले जनवर्गीय संगठनहरूको समायोजन, सदस्यता वितरण तथा नवीकरण र संगठन सुदृढीकरणका लागि दुई महिने विशेष जनअभियान सञ्चालन गर्ने निर्णयसमेत गरेको छ।
सो अभियानको विस्तृत कार्ययोजना आगामी सचिवालय बैठकले तय गर्ने जनाइएको छ। त्यसैगरी महाधिवेशन तथा अधिवेशनका सम्बन्धमा पनि सचिवालय बैठकले छलफल गरी आवश्यक निर्णय लिने भएको छ ।