• आश्विन ६ २०८३, मंगलवार

ट्राफिक प्रहरीले चालक र यात्रुसँग गर्ने कार्यशैलीको गम्भीर समीक्षा हुनुपर्ने रास्वपाकै सांसदकाे माग

आश्विन ६ २०८३, मंगलवार

काठमाडौं । रास्वपा सांसद क्रान्तिशिखा धितालले ट्राफिक प्रहरीले चालक र यात्रुसँग गर्ने व्यवहार एवं कार्यशैलीको गम्भीर समीक्षा हुनुपर्ने बताएकी छिन्।

मंगलबार प्रतिनिधिसभा बैठकको आमस्मिक समयमा सांसद धितालले सडकमा राष्ट्रसेवक, सुरक्षाकर्मी तथा ट्राफिक प्रहरीले चालक र यात्रुसँग गर्ने व्यवहार एवं कार्यशैलीको गम्भीर समीक्षा हुनुपर्ने र आवश्यक सुधार गरिनुपर्ने बताएकी हुन्।

उनले त्रिपुरेश्वरमा भएको घटनाबारे बाहिर आएका विवादास्पद विगत वा सूचनाहरूमा थप अनुसन्धान गरी प्रहरीले सत्यतथ्य बाहिर ल्याउने विश्वास व्यक्त गरिन्।

उनले चालकहरूको आत्मसम्मान, इज्जत, न्यूनतम पारिश्रमिक, खानपान, आराम, काम गर्ने लामो समय तथा शारीरिक एवं मानसिक स्वास्थ्यको परीक्षण नहुनु संवेदनशील विषय भएको बताइन्।

चालकलाई मात्र दोष थोपारेर समस्या समाधान नहुने भन्दै उनले राज्य, सम्बन्धित निकायहरू, यातायात व्यवसायी तथा स्वयं चालक समेत गम्भीर हुनुपर्ने धारणा राखे ।

त्यस्तै अन्य सांसदहरूले त्रिपुरेश्वरमा भएको घटनाप्रति दु:ख व्यक्त गर्दै सार्वजनिक सवारीका क्षेत्रमा देखिएका समस्या समाधानका लागि गम्भीर हुनुपर्ने बताएका छन्। साथै उनीहरूले उक्त घटनामा गृहमन्त्रीको जवाफ माग गरेका छन्।