काठमाडौं, भाद्र २२ । नेपाल मगर संघसँगको सहकार्यमा काठमाडौं विश्वविद्यालय, स्कुल अफ एजुकेशन अन्तरगत भाषा शिक्षा शिक्षण विभागको आयोजनामा सरोकारवाला मगर समुदायसँगको परामर्श बैठक हालै सम्पन्न भएको छ ।
बैठकमा सहभागीहरु तथा वक्ताहरुले मगर लगायतका भाषाहरुमा पनि पढाइ सुरु हुनु स्वागतयोग्य कुरा भएको भएपनि यसमा संघीय सरकारले खासै चासो नदिएको गुनासो व्यक्त गरेका छन् ।
काठमाडौं विश्वविद्यालयले आदिवासी ज्ञान तथा बहुभाषिक क्षेत्रमा गुणस्तर युक्त दक्ष र योग्य शिक्षक, भाषिक विज्ञ र प्रशिक्षक, अनुवादक पाठ्यक्रम तथा पाठ्यपुस्तक निर्माण गर्नसक्ने शैक्षिक विज्ञ जनशक्ति उत्पादन गर्ने उद्धेश्यले शिक्षाशास्त्र शिक्षणका कार्यक्रमहरु संचालन गरिरहेको जनाएको छ ।
काठमाडौं विश्वविद्यालयको शिक्षाशास्त्र संकायले हाल एक वर्षे उत्तर स्नातक तहमा तामाङ भाषा, नेपाल भाषा, लिम्बु (थाक्थुङ) र मैथिली भाषाका कक्षाहरु सचालन गरिरहेको छ ।
यसका साथै शिक्षाशास्त्र विभागले आगामी दिनमा छिट्टै गुरुङ भाषा र मगर भाषाका कक्षाहरु पनि संचालन गर्ने भन्दै सम्बन्धित भाषिक समुदायका आधिकारिक संस्थाहरु र विज्ञहरुसित परामर्श गर्नुपर्ने भएकोले सो बैठकको आयोजना गरेको जनाएको छ ।
विभागका सहप्राध्यापक डा. टिकाराम पौडेलले एक सूचना जारी गरि सो बैठकमा सहभागी हुन सम्बन्धित सबैलाई निमन्त्रणा गरेका थिए । बैठकमा सहभागीहरुलाई प्रा.डा पौडेलले स्वागत गरेका थिए ।
बैठकमा काठमाडौं विश्वविद्यालयका डिन प्रा.डा बालचन्द्र लुइँटेल, डा. प्रतिभा पुन, डा. विष्णु सिंजाली, प्रा.डा हेमराज काफ्ले, मगर संस्कृतिविद बमकुमारी बुढामगर, नेपाल मगर संघका अध्यक्ष रक्षाबहादुर रैकामगर, रोल्पाको सुनछहरी गाउँपालिका प्रमुख धनबहादुर पुन, सांसद रेणुका काउछा, सांसद इन्दिरा राना, अधिवक्ता रामबहादुर थापा, संविधानसभा सदस्य शुरेस आले, प्रा.डा जयराज अवस्थी लागतयले सुझावमूलक मन्तव्य राखेका थिए । कार्यक्रमकाे संचालन जीवन राेकामगर र अजितमान तामाङले गरेका थिए । 


