काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद पुरुषोत्तम सुप्रभात यादवले वर्तमान सरकारलाई विगतका सहमति र सम्झौताप्रति गम्भीर बन्न चेतावनी दिएका छन्।
प्रतिनिधिसभाको आजको बैठकमा आकस्मिक समयमा बोल्दै सांसद यादवले जेनजी पुस्तासँग सरकारले गरेको सहमति कार्यान्वयन नभएको भन्दै आपत्ति जनाएका हुन्।
सांसद यादवले सरकारले मृतक र घाइतेका परिवारसँग गरेका सम्झौता तत्काल कार्यान्वयन गर्न र जेलमा रहेका जेनजी योद्धाहरूलाई अविलम्ब रिहा गर्न माग गरे। उनले भने, ‘म ईश्वरसँग प्रार्थना गर्छु, सरकारलाई विगतको सम्मान गर्ने शक्ति मिलोस्। मृतक र घाइतेका परिवारसँग गरिएका सम्झौता यथाशीघ्र कार्यान्वयन गरियोस्।’
सांसद यादवले सरकारलाई चेतावनी दिँदै भने, ‘बालुवाटारबाट बार्दली पुगेका एउटा विगतलाई म चेतावनी दिन चाहन्छु– हाम्रो साथीहरूको रगतबाट प्राप्त नयाँ जनमतको मानमर्दन हुने गरी थप अहङ्कारको कालो बादल यो सदनमा गर्जन बन्द गरियोस्।’
सत्ताको आयुबारे कटाक्ष गर्दै सांसद यादवले थपे, ‘भदौ २३ गतेको घटनाले हामीलाई एउटा कुरा सिकाएको छ– सत्ता स्थायी हुँदैन। जनताको आवाज र इतिहास सधैँ जीवित रहन्छ।’ उनले जनताको भावनालाई उपेक्षा गरेर गरिने दम्भको परिणाम सत्ताका लागि महँगो पर्ने सङ्केत गर्दै तत्काल माग पूरा गर्न सरकारलाई दबाब दिए।