हिमाचल प्रदेश । नेपालमा हालै आएको विनाशकारी प्राकृतिक विपत्तिमा परी ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्न भारतको हिमाचल प्रदेशस्थित धर्मशाला (भाग्सु) मा एक विशेष शोक सभाको आयोजना गरी विपत्तिमा परी ज्यान गुमाउनेहरुप्रति श्रद्धाञ्जली अर्पण गरिएको छ ।

हिमाचल गोर्खा विकास परिषद्, धर्मशाला द्वारा आयोजित उक्त कार्यक्रममा स्थानीय नेपाली समुदाय तथा भारतीय नागरिकहरूको बाक्लो उपस्थिति रहेको थियो।कार्यक्रममा प्रमुख अतिथि वरिष्ठ कांग्रेस नेता देविन्दर सिंह जग्गीले दिवंगत आत्माहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरे । दुःखको यस कठिन घडीमा आफूहरू पीडित परिवार र सम्पूर्ण नेपाली जनताको साथमा रहेको उल्लेख गर्दै उनले घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना समेत गरे ।

त्यसैगरी, स्थानीय सामाजिक कार्यकर्ता साधना नेपाली (भाग्सु) ले मानव जीवन, संकट र मानवता कुनै पनि जात, सीमा वा भूगोलभन्दा माथि हुने बताईन । उनले नेपालमा आइपरेको यस ठूलो प्राकृतिक विपद्को घडीमा हिमाचलका सम्पूर्ण जनता एकजुट भएर नेपाली दाजुभाइ दिदीबहिनीहरूको दुःखमा साथ दिन तयार रहेको र दिवंगत प्राणी तथा मानिसहरूको आत्माको चिरशान्तिको कामना गरिरहेको उल्लेख गरिन्।

शोक सभाको अन्त्यमा मौन धारण गर्दै दिवंगत आत्माहरूलाई भगवानले चिरशान्ति प्रदान गरून् र शोकाकुल परिवारजनलाई यो अपार पीडा सहन गर्ने शक्ति दिऊन् भनी प्रार्थना गरिएको थियो। साथै, सोही कार्यक्रममार्फत विपद्मा परेकाहरूका लागि राहत संकलन गरिने अपिल समेत गरिएको छ।

